काठमाडौं । यसपालिको दसैँलाई लक्षित गरेर यो फूलपाती १३ असोजबाट चलचित्र घरमा तीन वटा नेपाली चलचित्र ‘माइतीघर’, हरि बहादुरको जुत्ता’ र ‘बलिदान’ रिलिज हुँदै छन् । यी तीन वटै नेपाली चलचित्रको लागि रिलिज भन्दा पाँच दिन अघि नै अग्रिम टिकट नेपालका चलचित्र घरहरूले खुला गरेका छन् ।
यसपटक चलचित्र घरहरूले फूलपातीबाट दर्शकको लागि बिहान ५ः१५ बजे नै सो खुला गरेका छन् । दसैँमा लाग्ने यी तीन मध्य दुई चलचित्रलाई क्युएफएक्स सिनेमा चेनले बिहान ५ः१५ बजेबाटै सो राखेका छ । अब दसैँमा यी चलचित्र हेर्नका लागि दर्शकले बिहान ५ बजे नै उठेर चलचित्र घरतर्फ लाग्नु पर्ने भएको छ ।
‘माइतीघर’ र ‘हरि बहादुरको जुत्ता’ जस्ता चलचित्रलाई लाई बिहान ५ः१५ बजेबाट र कुनै चलचित्र घरमा बिहान ५ः३० बजेबाट सो दिइएको छ । यसरी आफूहरूलाई एका बिहानै चलचित्र प्रदर्शनको लागि चलचित्र घरले सो दिएको तर त्यो समयमा दर्शक चलचित्र हेर्न कत्तिको आउँछन् भनेर अहिले नै अनुमान गर्न सक्ने अवस्था नरहेको पनि हरिबहादुरको जुत्ताका निर्माता सरोज ओलीले राजधानीलाई बताएका छन् । यी दुई चलचित्रको तुलनामा बलिदानलाई भने दिउँसोको सो बढी दिइएको छ ।
‘यस पटक दसैँमा बिहान सबेरै ५ः१५ देखि मध्य राति १२ बजेसम्म नेपाली चलचित्र प्रदर्शनी गरिने भएको छ । हामीहरुलाई राती ११ः५५ बजेसम्मको सो पनि दिइएको अग्रिम टिकटको विवरणमा देखियो,’सरोजले राजधानीसँग भने ।
चलचित्र घरले फूलपातीबाट नवमीसम्म तीन दिन नेपाली चलचित्रलाई महत्त्व दिएका छन् । टिकाको दिनबाट मात्र भारतीय चलचित्र ‘कन्तारा २’ चलचित्र घरमा प्रदर्शन गर्नेछन् । त्यसैले अहिले अग्रिम बुकिङको रूपमा यी तीन वटा नेपाली चलचित्रको सो १५ असोजसम्म मात्र चलचित्र घरहरूले खुलाएका छन् । त्यसैले यस पटक तीन दिनसम्म नेपालका चलचित्रहरू दसैँमा नेपाली चलचित्र मय हुने भएको छ ।

यसैबिच दसैँमा रिलिज हुने तीन चलचित्र मध्य दुई चलचित्र ‘माइतीघर’ र ‘हरि बहादुरको जुत्ता’ सेन्सर पास भएका छन् । यी दुवै चलचित्रले सबै दर्शकका लागि हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेका छन् । प्राविधिक कार्य सबै भारतमा गरिएको चलचित्र बलिदानको भने अझै प्राविधिक कार्य सकिएको छैन र सेन्सर पनि भएको छैन । यस पटक यी तीन नेपाली चलचित्रले देशभर दैनिक करिब ५ सय सो पाउने छन् । सोही कारण विहान झिसमिसे देखि मध्य रातसम्म सो राखिएको छ ।
नेपाली चलचित्र ‘हरि बहादुरको जुत्ता’मा अभिनेता हरिवंश आचार्य शीर्ष भूमिकामा छन् । यसमा आफूले खल चरित्र निर्वाह गरेको आचार्यको कथन छ । आफ्नो कमेडीलाई दर्शकले रुचाउने विश्वास उनले लिएका छन् । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रमा हरिवंशसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, किरण केसी, सिता न्यौपानेसहितका विभिन्न कलाकारहरूको अभिनय छ । हास्य प्रधानसँगै राजनीतिक कथावस्तु रहेकाले यो चलचित्रलाई सरोज ओली र मोहित वंश आचार्यले निर्माण गरेका हुन् ।
यस्तै मिलन तामाङको निर्देशनमा तयार भएको चलचित्र ‘माइतीघर’ पूर्ण रूपमा पारिवारिक कथामा बनेको यसका निर्माता रोहित अधिकारीले बताएका छन् । यो चलचित्रमा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा लगायतका कलाकारहरूको अभिनय छ । यो चलचित्र तामाङ संस्कृतिमा आधारित रहेको यसका निर्देशक मिलनले राजधानीलाई जानकारी गराए ।






