काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमपश्चात पार्टी पंक्तिलाई एकताबद्ध बनाउने निष्कर्ष निकालेको छ । पार्टीको विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने ’boutमा समेत बैठकमा छलफल भएको छ । तर, यस’boutमा थप छलफल गर्ने भन्दै कुनै निर्णय भएको छैन ।
ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बिहीबार बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा परेको पार्टी केन्द्रीय कार्यालयमै पदाधिकारी बैठक बसेको थियो ।
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेनजी आन्दोलनका क्रममा आफ्नो पार्टीका संस्थापक नेताहरूको घर र आश्रममा समेत आगजनी गरिएको भए पनि आफूहरू फेरि उठ्ने बताएका छन् । उनले अहिलेको आवश्यकता पार्टी पंक्ति नै एकताबद्ध हुनुपर्ने निष्कर्ष निकालिएको बताए ।
‘अहिले सम्पूर्ण पार्टी एकताबद्ध हुनुपर्छ, सघन छलफल गरेर नतिजामा पुग्छौं,’ प्रवक्ता महतले भने । जेनजी आन्दोलनको घट्नाको विषयमा जाँचबुझ आयोगले छानबिन गरिरहेको अवस्थामा अहिले नै कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकसहितलाई पक्राउ गर्न भनिएको विषयमा उनले आपत्ति जनाए ।
‘आयोग केका लागि बनेको छ ? छानबिनको लागि बनेको हो, आयोगले निष्कर्ष निकाल्नुप¥यो नि ! घट्नामा कोको संलग्न छन् भनेर,’ उनले भने ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनामा कांग्रेसको पनि साथ खोजेको प्रश्नमा उनले त्यो विकल्प बन्द गर्न नहुने बताए । प्रवक्ता महतले भने, ‘संसद् पुनःस्थापनाको कुरामा पहिले पनि भनेकै छौं, तर अहिले हामी विश्वसनीय निर्वाचनको पक्षमा छौं, हुन त संवैधानिक र कानुनी कोणबाट यो सरकार संवैधानिक होइन, कांग्रेस जहिल्यै पनि निर्वाचनका लागि तत्पर रहने पार्टी हो, सरकार गम्भीर नरहेको अवस्थामा फेरि देशलाई अनन्तकालको अस्थिरता र अनिर्णयको बन्दी बनाइदिनुहुँदैन, पुनःस्थापनाको विकल्प बन्द गर्नुहुँदैन ।’
बैठकमा महामन्त्री गगनकुमार थापाले पार्टीको नियमित महाधिवेशन मंसिरमै गरिनुपर्ने प्रस्ताव अघि सारेका छन् । यसअघि नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूको पहलमा विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकल गरिएको थियो ।
पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकको अध्यक्षता भने उपसभापति पूर्णबहादुर खड्काले गरेका थिए । सभापति शेरबहादुर देउवा बैठकमा सहभागी भएनन् । उनी जेनजी आन्दोलनका क्रममा २४ भदौमा कुटपिटबाट सख्त घाइते भएका थिए । अहिले देउवा भाडाको घरमा आराम गरिरहेका छन् ।