मिल्ने बेलामा थपिए बग्रेल्ती नेता, एकतावारे तीन धार

काठमाडौं । नेकपा माओवादीसँग पार्टी एकता गर्ने करिबकरिब सहमति भएका बेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकलौटी रूपमा ८१ जना केन्द्रीय सदस्य थपी ४ सय २० सदस्यीय कमिटी बनाएका छन् ।

एकीकृत समाजवादी बैठक

बुधबारबाट काठमाडौंमा सुरु भएको बैठकमा विचार मिल्नेसँग वार्ता टोलीले तयार पारेको एकता आधारअनुसार एकता गर्ने प्रस्ताव राखेका अध्यक्ष नेपालले आफूले मनोनीत गरेका केन्द्रीय सदस्यलाई धमाधम शपथ ग्रहण गराएर अनुमोदन गराएपछि आलोचना खेप्नुपर्ने भएको छ ।

एकलौटी मनोनयन र आफूअनुकूलको वार्ता टोलीबाट आएको एकपक्षीय रायका आधारमा तयार पारिएको एकता प्रस्ताव प्रस्तुत गरेपछि पार्टीभित्र तीन धार जन्मिएको छ । नेकपा एकीकृत समाजवादीलाई अध्यक्ष माधवकुमार नेपालले जबर्जस्ती नेकपा माओवादीसँग एकता गर्ने बाटोमा हिँडाएको बैठकमा सहभागीहरूबीच गाइँगुइँ सुरु भएको छ । बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले विचार मिल्नेहरूसँग प्राविधिक व्यवस्थापन मिलाएर पार्टी एकता गर्ने सोलोडोलो निर्णय गर्नेगरी राजनीतिक प्रस्ताव प्रस्तुत गरेपछि अध्यक्षको लाइनबाहेक सम्मानित नेता झलनाथ खनाल र पार्टी महासचिव घनश्याम भुसालका अलगअलग तीन धार देखिएको छ ।

अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र वार्ता टोलीका संयोजक बेदुराम भुसालले प्रस्ताव गरेको पार्टी एकताका आधारमा नेताहरूको असहमति भएको पाइएको छ । प्रतिवेदनहरू प्रस्तुत गरी बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएपछि सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री खनाललगायतका नेताहरूले अध्यक्ष र निकट नेताहरूको कार्यशैलीमा आपत्ति जनाएका छन् ।

पार्टी एकताको पहलका विषयमा लामो व्याख्या गर्दै एकताको अवधारणापत्र नै बैठकमा प्रस्तुत गरेपछि सम्मानित नेता खनाललगायतका केही पदाधिकारी, स्थायी कमिटी तथा पोलिटब्युरो सदस्यहरू र केन्द्रीय सदस्यहरूले एकताको विषयमा अवधारणापत्रमा आएजस्तो सहज अवस्था नभएको भन्दै असहमति जनाएका छन् । बैठकमा औपचारिक रूपमा बिहीबार मात्रै नेताहरूले बोल्ने कार्यसूची भए पनि असहमति पार्टीभित्र अनौपचारिक रूपमा छरपष्ट भएपछि अध्यक्ष नेपालले सम्बोधनकै क्रममा ‘एकता विरोधी’ भन्दै असहमत हुनेलाई पार्टी छाड्न चेतावनी दिएका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच वार्ता टोलीले विभिन्न चरणमा गरेका प्रयासहरूलाई समेत समेट्दै विचार मिल्ने जोसुकैसँग पनि एकता गर्ने प्रस्ताव बैठकमा अध्यक्ष नेपालले राखेका छन् । नेपालको यो प्रस्ताव पारित भएको खण्डमा जुनसुकै बेला उनले हस्ताक्षर गर्नासाथ पार्टी एकता वैध हुनेछ । अध्यक्ष नेपालको प्रस्ताव जस्ताको तस्तै पारित हुने सम्भावना नभएको केन्द्रीय सदस्यहरूले बताएका छन् ।

पार्टीका महासचिव घनश्याम भुसालले राष्ट्रिय राजनीति नै निकै संकटको नजिक भएको बताउँदै ब्ल्याक होलको नजिक पार्टी पुगेको भन्दै घुमाउरो हिसाबले एकता वा यथास्थितिको विरोध गरेका छन् । अध्यक्षको लाइन, सम्मानित नेता खनालको लाइन र महासचिव भुसालको लाइन गरी करिब तीन लाइन स्पष्ट देखिएको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।

सम्मानित नेता खनालले एमालेबाट विद्रोह गर्दाको एजेन्डा नै पुष्टि हुन नसकेको दाबी गर्दै अब नयाँ दलदलमा फस्नेगरी पार्टी एकताको बाटोमा जानुको अर्थ नहुने बताएका छन् । जेनजी आन्दोलनका कारण घाइते श्रीमती रविलक्ष्मी चित्रकारको उपचारका क्रममा दिल्लीमा रहेका खनाल केन्द्रीय समिति बैठकका लागि सोमबार काठमाडौं आइपुगेका हुन् । खनालले काठमाडौं उत्रिएलगत्तै पार्टीभित्रका नेता कार्यकर्तासँग संवाद गरी पार्टी एकताका विषयमा हतारो र त्यसपछिको रहस्यका विषयमा छलफल गरेका छन् ।

बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले विद्रोहको औचित्य थिएन भन्नु केपी शर्मा ओलीका अगाडि आत्मसमर्पण गरी लम्पसार पर्नुबाहेक केही नभएको बताउँदै एमालेमा जान हतार भएकालाई पार्टी छाडेर जान चेतावनी दिएका छन् । नेपालले एकीकृत समाजवादी पार्टी खोलेर कुनै गल्ती नगरेको बताउँदै समाजवादी मोर्चाबीच एकताको आधार बनाउन आफूहरू विचार मिल्नेहरूबीच तत्काल एकता गर्दै त्यसको ध्रुवीकरणको अगुवाइ गर्नुपर्नेमा जोड दिए ।

पार्टीको १०औं महाधिवेशनबाट पारित गरिएका दस्तावेजलाई आधार बनाउँदै नेपाली क्रान्तिको जनवादी चरण पूरा भएको र मुलुक समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको मान्दै वाम शक्तिबीच एकता ध्रुवीकरण र रुपान्तरणको नीति लिइएको अध्यक्ष नेपालले जोड दिएका छन् ।

बैठकमा अध्यक्ष नेपालले भने– ‘लोकतन्त्र र कम्युनिष्ट आन्दोलन मात्रै खतरामा परेको छैन, हाम्रो राष्ट्रिय स्वाधीनतामाथि पनि खतरा बढेको छ, राष्ट्रिय सार्वभौमिकतामाथिको खतरा, सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धिहरू गुम्नसक्ने खतरा र कम्युनिस्ट आन्दोलनमाथिको खतरा हाम्रो सामु गम्भीर चुनौतीका रूपमा खडा भएका छन्, लोकतन्त्रको पहरेदारका रूपमा रहेका राजनीतिक दलहरूमाथिको प्रहार पनि अर्को चुनौतीका रूपमा रहेको छ ।’

मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्तिहरू गम्भीर हुनु जरुरी रहेको औंल्याउँदै चुनौतीपूर्ण परिस्थितिमा कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय स्वाधीनता र जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्नका लागि सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्न अपिल गर्नुपर्नेमा जोड दिएका छन् ।

एकता पक्षधरलाई थपेर केन्द्रीय समितिमा ४ सय २०
नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति ४ सय २० सदस्यीय भएको छ । पार्टी एकता पक्षधरहरूलाई अध्यक्ष नेपालले एकलौटी रूपमा थपेका छन् । वामदेव गौतमसँगै एकता प्रक्रियामा आएका र पार्टीमा सक्रिय भन्दै ८१ जनालाई थपेर कमिटी विस्तार गरिएको प्रस्ताव केन्द्रीय समितिमा अध्यक्ष नेपालले अनुमोदन गराएका थिए । अध्यक्ष नेपालले आफूअनुकूल हुनेगरी केन्द्रीय समितिमा संख्या बढाएको भन्दै पूर्वसचिव रामकुमारी झाँक्रीलगायतले असन्तुष्टि जनाएका छन् ।

जेनजी आन्दोलनको प्रभावले देश हायलकायल भएका बेला अध्यक्ष नेपालले मनोनयन गरेका थप केन्द्रीय सदस्यमा जेनजी समूहका कोही पनि परेका छैनन् । पार्टी एकताका लागि संख्या विस्तारदेखि विस्तारित कमिटीमा सुदृढ संख्यासहित अघि बढ्ने नेपालको तयारीले केन्द्रीय समितिमा सहभागी भएका संस्थापनइतर समूहले भने नयाँ रणनीति बनाउने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 345 times, 1 visits today)

epaper

ताजा समाचार

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै