च्याब्रुङमाथि कथा लेख्दा ‘जारी २’ बन्यो भन्छन् उपेन्द्र

काठमाडौं । उपेन्द्र सुब्बाको खास परिचय कवि हो । तर पछिल्लो समय उनी चलचित्र लेखक तथा निर्देशकका रूपमा त्यत्तिकै लोकप्रिय छन् । चलचित्र ‘कबड्डी’बाट लेखन यात्रा सुरु गरेका उनी चलचित्र ‘जारी’बाट निर्देशनमा उत्रिए । यिनै कविको तेस्रो निर्देशनमा तयार भएको चलचित्र ‘जारी–२’ यही २१ कात्तिकबाट नेपालसहित अन्तर्राष्ट्रिय बजारमा पनि रिलिज हुँदैछ ।

उपेन्द्रको भनाइमा अहिले पनि उनलाई कविको रूपमा सम्बोधन गर्दा सहज लाग्छ । त्यो उनको अग्रणी परिचय हो । कविता लेख्दा लेख्दै कवि भएका उनी ‘चलचित्र लेख्दा लेख्दै थाहै नपाई स्क्रिप्ट राइटर पो भइटोपलेछु’ भन्दै हँसाउँछन् ।

यस्तै आफूले लेखेको कुरालाई आफ्नो दृष्टिकोणबाट पर्दामा उतार्दा कस्तो देखिने रहेछ भनेर उनले चलचित्र ‘जारी’को निर्देशन गरेका रहेछन् । फलस्वरूप ‘जारी’ २०८० सालको सर्वाधिक व्यापार गर्न सफल चलचित्र बन्यो । त्यो पल उनलाई निकै रमाइलो लागेको थियो ।

‘जारी’को सफलतापछि उनले सिक्वेलको रूपमा ‘जारी २’ बनाउँदिन समेत भनेका थिए । तर अहिले कसरी ‘जारी २’ बन्यो त भन्ने जिज्ञासामा उनले राजधानीसँग भने,‘च्याब्रुङ बजाउँदै हिँड्ने एउटा पात्रको कथा लेखेको थिएँ । साथीहरूलाई त्यो कथा सुनाउँदा सबैले यो त जारीको दयाहाङको पात्र जस्तो भएकाले यसलाई जारी २ पो बनाउनु पर्छ भनेर सुझाव दिए’

यसरी च्याब्रुङ बजाउने पात्रको कथा लेख्दा लेख्दै यसले ‘जारी २’ को रूप लिएको उनले खुलासा गरे । सोही कारण पनि यो चलचित्रको नाममा ‘सङ अफ च्याब्रुङ’ अर्थात् च्याब्रुङको गीत राखिएको पनि उनले स्पष्ट पारे ।

उपेन्द्रको भनाइमा लिम्बुहरूको लागि च्याब्रुङ उनीहरूको जीवन शैली हो । हरेक लिम्बुले च्याब्रुङ बजाउन जान्नु पर्छ भन्ने मान्यतालाई आफूले ‘जारी २’मा यो कुरा संवादकै रूपमा समेत पेस गरेको पनि उपेन्द्रले बताए । बाल्यकालदेखि नै उपेन्द्रले आफ्ना साथीहरूसँग अग्रजले च्याब्रुङ बजाएको नक्कल गर्दै घरमा ओछ्याउने मुडा र अन्य सामग्री बजाउँथे । त्यो पल सम्झँदै उनले भने,‘त्यति बेला काका, बडा बा, दाइ तथा आफन्तहरू च्याब्रुङ बजाउँदै नाच्नु हुन्थ्यो भने हामी बालकहरू साथी साथी मिलेर च्याब्रुङ जस्तै देखिने मुडा तथा अन्य सामग्री बजाएर च्याब्रुङमा नाचको अभ्यास गथ्र्योँ ।’

यसरी बाल्यकालदेखि नै च्याब्रुङसँग जोडिएका उपेन्द्र यसलाई लिम्बु समुदायको एउटा सभ्यताको रूपमा व्याख्या गर्छन् । मुन्धुममा उल्लेख गरिए अनुसार ठुलो आकारको च्याब्रुङ बनाएर त्यसलाई बजाउँदा देउताहरू समेत काँप्ने र नाच्ने मान्यता रहेको पनि उपेन्द्रले बताए । यस्ता धेरै मान्यता भएका कारण पनि आफूले च्याब्रुङ वादकको कथामा चलचित्र ‘जारी २’ निर्माण गरेको उनले स्पष्ट पारे ।

के त्यसो भए चलचित्र ‘जारी २’ च्याब्रुङको मात्र कथा हो त भन्ने राजधानीको जिज्ञासामा निर्देशक उपेन्द्रले भने,‘यो च्याब्रुङ बजाउनेको कथा भए पनि यसमा ती पात्रको समाजसँग सम्बन्ध, च्याब्रुङ बजाउने काममै तल्लीन हुँदा परिवारमा देखिएको समस्या, पारिवारिक आरोह, अवरोह जस्तो धेरै कुरा समेटिएको छ । जारी पछि जारी २ मा केही नयाँ कुराहरू पनि राखिएकाले यसलाई च्याब्रुङको मात्र चलचित्र भन्न मिल्दैन ।’

‘जारी’ जस्तै यो चलचित्रलाई पनि उनले पाँचथरको आफ्नै गाउँमा छायांकन गरेका रहेछन् । अघिल्लो चलचित्र ‘जारी’मा छायांकन गर्दा दयाहाङ च्याब्रुङ वादकको रूपमा देखिएका थिएनन् । यो चलचित्रमा भने दयाहाङले च्याब्रुङ बजाउने प्रशिक्षण लिएर बल्ल च्याब्रुङ वादकको रूपमा प्रस्तुत भएको पनि उपेन्द्रले खुलासा गरे । उनको भनाइमा ‘जारी’मा पालम गाउन र नाच्न सिकेका दयाहाङले ‘जारी २’मा आई पुग्दा च्याब्रुङ बजाउन समेत सिकेका छन् । यो चलचित्र हेरेपछि लिम्बु समुदायका युवाहरूमा च्याब्रुङ बजाउने रहर जाग्ने विश्वास यी निर्देशकको छ ।

कबड्डीको लेखनबाट चलचित्र यात्रा सुरु गरेका उपेन्द्रको दयाहाङसँगै ‘कबड्डी’बाटै संगत बढेको थियो । त्यस कारण उनले आफ्नो निर्देशनमा बनेको पहिलो चलचित्र ‘जारी’ र दोस्रो चलचित्र ‘मनसरा’मा पनि दयाहाङसँगै मिरुना मगरलाई मुख्य भूमिकामा लिए । ‘जारी’को सिक्वेलको रूपमा निर्माण गरिएका कारण पनि ‘जारी २’मा दयाहाङ र मिरुनाको जोडी भएको पनि यी निर्देशकले बताए । यस पटक यी दुई दम्पतीको रूपमा रहेको र उनीहरूको दाम्पत्य जीवनका उतार चढावले कथालाई अगाडि बढाएको पनि उपेन्द्रले खुलासा गरे । विगतको सहकार्यका कारण यी दुईसँग काम गर्दा आफूलाई सजिलो लाग्ने गरेको पनि उनले स्विकारे ।

यति बेला बक्स अफिसमा चम्किरहेको नेपाली चलचित्र ‘जेरी अन टप’सँगै अहिलेको वातावरण र राजनीतिक अस्थिरताले आफ्नो चलचित्र ‘जारी २’को व्यापार कस्तो होला भनेर उपेन्द्र चिन्तित छन् । यो चलचित्र नेपालसँगै अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोप, कोरियोसहित विभिन्न देशमा पनि यसै हप्ताबाट रिलिज हुने जानकारी गराउँदै उनले भने,‘केही देशमा नेपालसँगै शुक्रवार नै हाम्रो चलचित्र प्रदर्शन हुँदै छ । केही देशमा शनिवार र केही देशमा आइतबारबाट जारी २ रिलिज हुने भएको छ’, अहिलेसम्मको अवस्था हेर्दा सबैभन्दा बढी जारीको अग्रिम टिकट र सोजहरू दक्षिण कोरियामा बिक्री भएको पनि उनले बताए ।

विदेशमा एक साता अघिबाटै टिकट बिक्री निकै राम्रो भएको यो चलचित्रले नेपालमा पनि विगतकै जस्तै राम्रो व्यापार गर्ने विश्वास आफूले लिएको पनि उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ