काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा ५ मंसिरसम्म नाम संकलन गर्ने भएको छ । निर्वाचन कार्यालयहरूमा लागेको भीड र सीमित जनशक्ति तथा अनलाइन प्रणालीबाट नाम दर्तामा सिर्जना भएको प्राविधिक संकटका कारण केही दिन समय थप्नुपर्ने माग भएपछि प्रधानमन्त्री सुशीला कार्कीको आग्रहपश्चात समय थपिएको हो ।
कार्यालयमा चाप बढेको र अनलाइन प्रणालीमा समस्या आएको जनगुनासो आएपछि शुक्रबार प्रधानमन्त्री कार्कीले आयोगलाई केही दिन समय थपिदिन आग्रह गरेकी थिइन् । प्रधानमन्त्री कार्कीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई शुक्रबार टेलिफोन गरेर चाप बढेकाले समय थप्न आग्रह गरेपछि आयोगले समय थप गरेको हो ।
राष्ट्रिय परिचय हुनेले घरैमा बसेर अनलाइन प्रणालीमार्फत मतदाता नामावलीका लागि जैविक तथ्यांक (बायोमेट्रिक) दिने व्यवस्था भएपछि मतदाता नामावली संकलन तीव्र भएको हो । बिहीबारबाट राष्ट्रिय परिचयपत्र प्रणाली र निर्वाचन आयोगको सूचना प्रणालीमा डाटा साझेदारी संयोजन भएको थियो ।
शुक्रबार कार्यालय समयसम्म २ लाख ५७ हजार ५ सय ५ जना नयाँ मतदाताले नाम दर्ता गराएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । मतदाता परिचयपत्रको बायोमेट्रिकका लागि शनिबार पनि कार्यालय खुला रहने व्यवस्था गरिएको समेत प्रवक्ता भट्टराईले बताएका छन् ।






