मैले त आँखैअगाडि कांग्रेस विभाजन देखेको छु: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसको विभाजन रोक्ने हो भने पुसभित्र महाधिवेशन अनिवार्य भएको नेता शेखर कोइरालाले बताएका छन् । उनले केही नेताहरूले महाधिवेशन वैशाख वा सोभन्दा पनि ढिलो गर्ने अभिव्यक्ति दिएको प्रति असन्तुष्टि व्यक्त गर्दै पुसभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

बिहान विशालनगरस्थित सम्पर्क कार्यालयमा ४० भन्दा बढी युवाहरूसँगको कुराकानीमा कोइरालाले भने, ‘२०८२ मंसिरभित्रै महाधिवेशन हुनुपर्‍यो भन्ने कुरा मैले पहिलेदेखि नै भन्दै आएको हुँ । अहिले नियमित अधिवेशनको परिभाषा कोही वैशाख भन्छन्, कोही त्यसपछि पनि भन्छन् । मेरो कुरा अहिले पनि त्यही छ – मंसिरको सट्टा पुसभित्रै महाधिवेशन गरौं ।’

यदि पुस मसान्तभित्र १५ औं महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने उनको भनाइ छ । तर, विशेष महाधिवेशनमा जाँदा असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले बुझाएको हस्ताक्षर सनाखत गराएर भन्दा पनि केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर जानु उपयुक्त हुने कोइरालाले बताए ।

‘पुसभित्रै नियमित महाधिवेशन हुन सकेन भने केन्द्रीय समितिबाट विशेष महाधिवेशनमा जाने निर्णय गर्ने । बहुमतका आधारमा होइन, केन्द्रीय समितिले सर्वसम्मत निर्णय गर्ने र विशेष अधिवेशनमा जाने,’ कोइरालाले भने, ‘यसो गरियो भने विवाद कम हुन्छ र पार्टीलाई फुटबाट बचाउँदै एकताबद्ध बनाउन सकिन्छ ।’

असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । ती हस्ताक्षर सनाखत गराउन सुरु गरेमा पार्टी विभाजनमा जान सक्ने दाबी गर्दै कोइरालाले विवादरहित बनाउन केन्द्रीय समितिले नै विशेष महाधिवेशनमा जाने निर्णय लिनुपर्ने बताए ।

नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले कोइरालालाई उद्धृत गर्दै भने, ‘तपाईं युवाहरूले पार्टी विभाजन भएको देख्नुभएको छैन । मैले त आँखैअगाडि पार्टी विभाजन भएको देखेको छु, अहिले हस्ताक्षर सनाखत गराउन थाल्ने हो भने विभाजन हुन सक्छ, म पार्टी विभाजनको पक्षमा छैन ।’

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल लाइफ इन्स्योरेन्स उपशाखा बिस्तार