काठमाडौं । जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी प्रतिनिधिहरूले नै राजीनामा गर्न दबाब दिएका छन् । जेनजीको माग सम्बोधन गर्न असफल भएको भन्दै प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजी आन्दोलनकारीले माग गरेका छन् ।
बिहीबार जेनजी आन्दोलनमा संलग्न २३ एलाइन्स, घाइते र शहीद परिवारका तर्फबाट राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाई जेनजीकै नेतृत्वमा सरकार गठन गर्न माग गरिएको छ ।
नेकपा एमालेले संस्थागत रूपमा प्रधानमन्त्री र सरकारविरुद्ध सडक र कानुनी लडाइँ लड्ने निर्णय नै गरिसकेको छ । राजीनामा दिएर मार्ग प्रशस्त गर्न दवाब दिने २३ समूहले जेनजी आन्दोलनका प्रमुख मागहरू सम्बोधन गर्न प्रधानमन्त्री कार्की असफल रहेको भनेका छन् । कार्की नेतृत्वको सरकार दिशाहीन अवस्थामा रहेको उनीहरूले जनाएका छन् ।
‘विद्रोहको जगमा बनेको सरकारले विद्रोहीका न्यूनतम अपेक्षा पूरा गर्नुको साटो सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान निर्वाचन मात्र गराउनेगरी सरकार दिशाहीन अवस्थामा रहेको पाइयो,’ राष्ट्रपति पौडेललाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
मुलुकमा भएका ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन, जेनजी विद्रोहमा भएको नरसंहारमा संलग्नलाई कारबाही, जेनजी विद्रोहका घाइतेहरूको उपचार, जेनजी विद्रोहका शहीद परिवारलाई उचित क्षतिपूर्ति र भरणपोषणसहितका माग सम्बोधन गर्नुपर्ने कार्की नेतृत्वको सरकार दिशाहीन अवस्थामा रहेको निष्कर्ष आन्दोलनकारीको छ ।
‘यदि यस सरकारले विद्रोही पक्षका माग पूरा गर्न सक्दैन भने यस सरकारलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थताको भूमिका निर्वाह गर्न सम्माननीयज्यूसमक्ष निवेदन गर्दछौं,’ २३ एलाइन्सले राष्ट्रपतिलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
आफूहरूको माग सम्बोधन नभए सरकारका विरुद्धमा अर्को शान्तिपूर्ण आन्दोलन तथा दबाब कार्यक्रम गर्न बाध्य हुने चेतावनीसमेत उनीहरूले राष्ट्रपति पौडेललाई दिएका छन् । ‘यो विद्रोह र शहादत केवल निर्वाचनका लागि भएको थिएन,’ उनीहरूले भनेका छन् ।
कार्की नेतृत्वको सरकारले अर्जुनदृष्टिजस्तै निर्वाचन केन्द्रित भएपछि आन्दोलनकारीहरू आक्रोशित भएका छन् । उनीहरूले आन्दोलन र शहादत निर्वाचनका लागि मात्रै नभएको बताउँदै आफूहरूको माग यथाशीघ्र पूरा नभए पुनः अर्को विद्रोह हुनसक्ने चेतावनीयुक्त ज्ञापनपत्र बुझाएका छन् ।
जेनजी नेसनल फ्रन्ट लाइनर, जेनजी स्पार्क, एनटेक जेनजी, ऋणी एसोसिएसन नेपाल, जेनजी वाई युनाइटेड, जेनजी सभा, जेनजी पार्लियामेन्ट, जीबीबी ग्रुप, जेवाईएन ग्रुप, जेनजी युनाइटेड, जेनजी २.०, रियल जेनजी, जेनजी वाईग्रुप, जेनजी एलाइन्स, नेपाल जेनजी (एनजीआर), इक्विटी नेपाल, समता जेनजी, अल नेसन जेनजी, स्वतन्त्र जेनजी नेपाल, डिजिटल टास्क फोर्स जेनजी ग्रुप, जेनजी एकता मञ्च, जेनजी मुभमेन्ट नेपालले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्रीलाई फिर्ता बोलाउन आवाज उठाएका हुन् ।
जेनजी एलाइन्सले राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउँदै गर्दा उता प्रधानमन्त्री कार्कीले निर्वाचन केन्द्रित छलफलमा सहभागी थिइन् । राष्ट्रिय सुरक्षा परिषद्को सो बैठकले निर्वाचनमा सेना परिचालन गर्ने निर्णय ग¥यो ।
यता, सुधन गुरुङले निरन्तर सरकारविरुद्धमै अभिव्यक्ति दिँदै आएका छन् । गृहमन्त्रीले जेनजी विद्रोहका हत्यारालाई पक्राउ नगरेको भन्दै आक्रोशित भएका गुरुङले पुनः विद्रोह हुने चेतावनी दिएका छन् ।
बिहीबार नै गुरुङले सामाजिक सञ्जालमा गृहमन्त्री ओमप्रकाश अर्याललक्षित गरेर मौनतालाई कमजोरी नठान्न भन्दै जनआन्दोलनको ज्वालामुखी उठ्दै गरेको लेखेका छन् । उनले निरन्तर गृहमन्त्री अर्यालको राजीनामा मागिरहेका छन् ।
यसैबीच, कमन जेनजी नेपालले जेनजी अभियन्ता मिराज ढुंगानामाथि भएको आक्रमण र सिमरा घटनाप्रति आपत्ति जनाउँदै घटनामा संलग्न अपराधीलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।
कमन जेनजीका अध्यक्ष विकेश साहले बिहीबार विज्ञप्ति जारी गर्दै ढुंगानामाथिको हातपात र उनको कार्यालयमा बुधबार साझा भएको ढुंगा प्रहार घटनाको भत्र्सना गर्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
सम्बन्धित समाचार
जेनजी समूहले मतदाता संकलनमा सघाउँदै
आन्तरिक लोकतन्त्र बचाउन के गर्दैछन् दल ?
विशेष महाधिवेशनवारे गगन पक्ष कानुनी परामर्शमा
मधेश प्रदेश प्रमुख पदमुक्त, जनकपुरधाममा तनाव
संविधान सुधारदेखि ‘नो भोट’को अधिकार माग्दै प्रधानमन्त्रीलाई जेनजीको ज्ञापन
कहीँ नभएको जात्रा मधेस प्रदेशमा
मैले त आँखैअगाडि कांग्रेस विभाजन देखेको छु: शेखर कोइराला
देश जोगाउने जिम्मेवारी दलको काँधमा






