काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले जेनजी युवालाई जिस्क्याउने काम नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । जेनजी युवाका हत्यारा तत्कालिन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक लगायतकालाई पक्राउन गरी कारबाही गर्न असफल प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा दिन माग समेत उनले गरेका छन् ।
कमन जेनजी नेपालले काठमाडौको घटेकुलो, अनामनगरमा आज पत्रकार सम्मेलन गर्दै विभिन्न समूहमा विभाजित जेनजी समूहहरुलाई गोलबद्ध र एकीकृत हुन साहले आग्रह गरेका छन् ।
‘अब टुटेर होइन, जुटेर अगाडी बढनुपर्ने हुन्छ । हामीलाई बदनाम गर्न खोजिएको छ । हाम्रा साथीहरुलाई पक्राउ गर्ने र आक्रमण गर्ने काम भइरहेको छ । तर जेनजी आन्दोलनकै बलमा प्रधानमन्त्री भएकी सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल दर्शक जस्तै हुनु दुखद छ । जेनजीका हत्यारालाई पक्राउ गरी कारबाही गर्न नसक्ने सरकार हामीलाई चाहिएको छैन् । राजीनामा दिनुपर्छ, यस्ता लुते सरकारको के काम ?,’ कमन जेनजी नेपालका अध्यक्ष साहले भने ।
जेनजीको माग सम्बोधन गर्न नसक्ने प्रधानमन्त्री कार्कीले तुरुन्त राजीनामा दिनुपर्ने उनले बताए । जेनजीका हत्या र खरबौंको विध्वसंको जिम्मेवार ओली सरकारका मुख्य व्यक्तिहरुलाई कानुनी कठघरामा उभ्याउनुपर्ने साहले माग गरेका छन् ।
उनले दुई महिना बढी भइसक्दा पनि जेनजीलाई दमन गर्ने केपी ओलीलाई पक्राउ नगर्दा उनीहरु पुनः बिद्रोहको आगो झोस्न उद्धत रहेको आरोप लगाए । केपी ओलीसहितका एमाले नतृत्वहरुले उत्तेजित बनाई अवस्थालाई विथोल्न खोजेको आरोप लगाउँदै साहले भने, ‘हत्यारा केपी ओलीको निर्देशनमा निर्दोश जेनजीहरुमाथिको दमनविरुद्ध संयुक्तरुपमा सम्पूर्ण जेनजी समूहहरु एकजुटभई प्रतिकारमा उत्रने हामी कमन जेन्जी प्रतिबद्ध छौं ।’
नेशन फस्टका संयोजक एसीपी साहले हत्या र विध्वांसको मुख्य जिम्मेवार पूर्व–प्रधानमन्त्री ओली, रमेश लेखकहरुलाई कानुनी कठघरामा नउभ्याउँदा उनीहरु थप आक्रामक भएको बताए । अहिले जेनजीलाई नै जिस्क्याउने काम उनीहरुले गरिरहेका उनले बताए ।
जेनजी नेपालका संयोजक कृष्णमोहन सहनीले बारामा जस्तै देशभरबाट एमाले नेता कार्यकर्तालाई लखेट्ने चेतावनी दिए । जेनजी युवाहरुलाई जिस्क्याउने काम नरोकिए जसरी बाराबाट एमालेलाई लखेटने काम भएको त्यसरी नै देशैभरीबाट लखेटने काम गरिने उनले बताए ।
नेशन फस्टका सचिवालय सदस्य सुनिल सिंहले हत्यारा र भ्रष्टहरुलाई कानुनी कठघरामा ल्याउनुको सट्टा अभियान्ता डा.निकोलस भूसाललाई पक्रनुले आफूहरुलाई अक्रोशित बनाएको बताए ।
कमन जेनजी नेपालका महासचिव प्रदिप साहले आफूहरुका माग तत्काल पूरा गर्न सरकारसँग माग गरे । यो सरकार लुते जस्तै भएको बताउदै उनले जेनजीको माग पुरा नर्ग नसक्ने लुते सरकारले राजीनामा दिनुपर्ने बताए ।
कमन जेनजी नेपालका उपाध्यक्ष उज्वल शर्माले बारामा भएको घटना केपी ओली र एमालेको दम्भको कारण भएको र यसरी नै अघि बढे एमालेको पत्तासाप गरिदिने चेतावनी दिए । जेनजी इसान दुलालले जेनजी टुटफूटमा रमाउने भन्दा एकजुटभएर अगाडि बढनुपर्नेमा जोड दिए ।
कमन जेनजी नेपालले निकास र विकासमा असफल सुशीला कार्की सरकारको विघटन हुनुपर्ने, जेन्जीको नेतृत्वमा सर्वपक्षीय सरकार र अन्तरिम संविधान घोषणा गरिनुपर्ने, जेनजी हत्यारा र देश लुटने भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने, जेनजी आन्दोलनकारीमाथिको दमन र धरपकड बन्द गरियोस, जेनजी आन्दोलनका शहीद, घाइते परिवारलाई रोजगारीको व्यवस्था गर्नुपर्ने, जेनजी आन्दोलनका घाइतेको उपचारमा भइरहेको हेलच्क्रयाई बन्द गर लगायतका माग गरेको छ ।
पत्रकार सम्मेलनमा कृष्णमोहन सहनी, जितेन्द्रप्रताम सिंह, सुनिल सिंह, दिलिप साह, सुभाष ठाकुर, मिथिलेश ठाकुर, ईशान दुलाल, लेनिन विष्ट लगायतकाले सम्बोधन गर्दै जेनजी हत्यारा, भ्रष्टाचारीलाई यथाशिघ्र कारबाही गर्नुपर्ने माग गरेका छन् ।
सम्बन्धित समाचार
पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन
उच्च निगरानीमा सहकारीमा जोडिएका ‘हाई प्रोफाइल’
जेन जेड आन्दोलनमा विध्वंस मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ
सामाजिक सञ्जाल नियमनमा गृहमन्त्रीले थाले छलफल
मधेश प्रदेशको मुख्यमन्त्रीको राजीनामा माग्दै टायर बालेर प्रदर्शन
प्रतिनिधिसभा निर्वाचन तालिका सार्वजनिक
प्रधानमन्त्री निरन्तर निर्वाचनलक्षित संवादमा
मधेशका मुख्यमन्त्रीको समर्थनमा एमालेको धर्ना






