कोठामा थुनेर कुटपिट गरिएका मुकेशको मृत्यु, एक महिलासहित ४ पक्राउ

राजविराज । मोवाइलचोरीको आरोपमा कोठामा थुनेर गरिएको कुटपिटबाट गम्भिर घाइते भएका एक युवाको उपचारको क्रममा मृत्यु भएको छ ।

राजविराज नगरपालिका १६ बोरिया निवासी १९ बर्षीय मुकेश यादवको यसरी मृत्यु भएको हो । कुटपिटबाट घाइते भएका यादवलाई दुई दिन अघि उपचारका लागि स्थानिय गजेन्द्रनाराण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।

अवस्थामा सुधार नभएपछि उनलाई स्थानिय छिन्नमस्ता अस्पतालमा रेफर गरिएको थियो । उपचारकै क्रममा शुक्रबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।

उक्त घटनामा संलग्न रहेको आरोपमा शनिबार मृतक यादवका छिमेकी सरोदेवी साह, २७ बर्षीय सन्तोष कुमार राउत र दुई जना नवालकलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पुरीले बताए ।

उनले आशंकाकै आधारमा कसैले कानुन हातमा लिनु अपराध भएको भन्दै अनुसन्धानका क्रममा दोषी पाइएकाहरुलाई कानुन वमोजिम कारवाही गरिने स्पष्ट पारेका छन् ।

मृतकका हजुरबुवा नारायण यादवले चोरीको आशंकामा नियन्त्रणमा लिई अमानविय व्यवहार गर्ने र ज्यानैजाने गरी कुटपिट गर्नेहरु माथि कडा कारवाही हुनपर्ने माग गरेका छन् ।

प्राप्त घटना विवरण अनुसार तीनदिन अघि सारो देवीको मोवाइल हराएको थियो । सारोले छिमेकी मुकेशले नै मोवाइल चोरी गरेको आशंका गर्दै आफ्नो घरमा हात खुट्टा बाँधेर थुनेका थिए । सोही क्रममा हाल प्रहरी नियन्त्रमा रहेकाहरुले निर्घात कुटपिट गरेको मृतकका आफन्तले जनाएका छन् ।

रातभर कोठामै थुनेर राखिएका मुकेश विहान पख विरामी भएको खवर पाएपछि पुगेका आफन्तजनले उद्दार गरी अस्पताल पुर्याएका थिए । सोही क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

विराटनगरमा महेश बस्नेतलाई रातो मसी छ्याप्ने को ?