काठमाडौं । चलचित्र निर्माता तथा सञ्चार उद्यमी दीपेन्द्र खनियाँ काठमाडौँका बानेश्वर हाईट स्थित आफ्नै घरमा आइतबार मध्यान्न मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार उनले घरभित्रै पासो लगाएर देह त्याग गरेको अवस्थामा भेटिएका हुन् ।
लामो समयदेखि ‘रेडियो अडियो’ एफ एम सञ्चालन गर्दै आएका दीपेन्द्र चलचित्र छक्का पन्जा सृंखलाका सह निर्माता थिए । छक्का पन्जाकी मुख्य निर्माता एवम् निर्देशक दीपाश्री निरौलाको अनुसार दीपेन्द्र छक्का पन्जाको पहिलो देखि पाँचौँ सृंखलासम्म पनि सह निर्माता थिए ।
घटना विवरण अनुसार दीपेन्द्रकी श्रीमती १२ वर्षकी छोरीलाई साथमा लिएर शनिवार ललितपुरको सुनाकोठी स्थित माइत गएकी थिइन् । आफूसँग श्रीमान दीपेन्द्रको शनिवार राती साँढे १० बजेसम्म राम्रो कुराकानी भएको श्रीमतीले प्रहरीलाई बताएकी छिन् ।
यता आफूले बिक्री गरेको घरको स्वामित्व आइतबार बिहान ११ बजे काठमाडौँ वडा नं. १० को वडा कार्यालयमा कागज गरेर दीपेन्द्रले घर किन्ने व्यक्तिलाई बुझाउने कार्यक्रम थियो । ११ बजेसम्म पनि दीपेन्द्र वडा कार्यालयमा नगएपछि घर किन्ने व्यक्ति उनको घरमा पुगे । पटक पटक फोन गर्दा पनि उनको फोन उठेको थिएन । ‘रेडियो अडियो’ एफ एमका एक कर्मचारीको सहयोगमा उनको कोठामा पुग्दा भित्रबाट कोठा बन्द थियो । पछि प्रहरीको सहयोगमा उनको कोठाको ढोका खोल्दा दीपेन्द्र घाँटीमा पासो लगाएर मृत अवस्थामा भेटिएका थिए ।






