पाटन दरबार स्क्वायर क्षेत्र अब सवारीरहित

ललितपुर । युनेस्कोले विश्व सम्पदा क्षेत्रको सूचीमा राखेको पाटन दरबार स्क्वायर क्षेत्रलाई सवारीरहित क्षेत्र (भेइकल फ्री जोन) बनाउनेगरी ललितपुर महानगरपालिकाले परीक्षण सुरु गरेको छ ।

दरबार स्क्वायरलाई अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटकीय क्षेत्रको स्तरमा परिचित गराउँदै स्वदेशी तथा विदेशी पर्यटकको रोजाइको गन्तव्य बनाउन भेइकल फ्री जोन बनाउन लागिएको हो । पाटन दरबार स्क्वायर क्षेत्र आसपास सवारीसाधन प्रवेश गर्न नदिएर पैदल घुमफिरको वातावरण बनाउन अभियान सुरु गरिएको ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले बताए ।

पाटन दरबार स्क्वायर क्षेत्रको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय महत्वसमेतलाई ध्यान दिएर दरबार स्क्वायरलाई सवारीसाधनरहित (भेइकल फ्री) क्षेत्र बनाउन परीक्षण गरिएको नगरप्रमुख महर्जनले बताए ।

दरबार स्क्वायर आसपासका वडाका वडाध्यक्षसहित जनप्रतिनिधि, सामाजिक संघसंस्था तथा अगुवासँगको परामर्शमै यस क्षेत्रलाई भेइकल फ्री जोन बनाउन पहल गरिएको नगरप्रमुख महर्जनले बताए ।

विदेशी पर्यटकले शान्तपूर्वक पर्यटकीय क्षेत्रमा केही समय बिताउन सक्ने वातावरणका लागि पनि सवारीसाधनरहित बनाउन आवश्यक महसुस भएले यो परीक्षण सुरु गरिएको नगरप्रमुख महर्जनको भनाइ छ ।

२ वर्षपहिलेबाट भएको छलफल, विभिन्न कार्यशाला तथा अन्तक्र्रियाका सुझाव र सामुदायिक परामर्शबाट यस तयारीमा महानगरपालिका पुगेको हो ।

८ मंसिर सोमबारबाट बिहान ८ बजेदेखि राति ८ बजेसम्म दरबार स्क्वायर आसपासको क्षेत्रलाई चारपांग्रे साधन एकतर्फी तथा निषेधित गरिएको महानगरपालिकाका सूचना अधिकारी देवप्रसाद गुरागाईले बताए । १३ मंसिरबाट २ चरणमा सवारीसाधनरहित क्षेत्रका रूपमा परीक्षण गर्नेगरी महानगरपालिकाले सरोकारवालासँग समन्वय र सूचना सम्प्रेषणसमेत गरेको सूचना अधिकारी गुरागाईले बताए । गुरागाईका अनुसार पहिलो चरणमा १३, १७ र २० मंसिर दिउँसो १ देखि साँझ ६ बजेसम्म हुनेछ भने २४ र २७ मंसिर बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म पूर्ण रूपमा सवारीसाधन निषेध गर्नेगरी तयारी गरिएको छ ।

दोस्रो चरणमा ५, ९ र १२ पुस दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म पाटन दरबार स्क्वायरको आसपास क्षेत्र सवारीरहित क्षेत्र हुनेछ भने १६ र १९ पुस बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म पूर्ण रूपमा सवारीरहित हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

भाडामा लिएको गोदामबाट मलखाद्यको कालोबजारी