काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरीयताका अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीलाई ३३औं प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । कार्कीले २७ कात्तिकबाट प्रहरी नेतृत्व सम्हाल्ने भएका छन् ।
प्रहरी र सशस्त्र प्रहरीमा पहिलोपटक ब्याची
वर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ यही २६ कात्तिकको मध्यरातबाट ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा जाँदै छन् । खापुङ प्रहरी नेतृत्व सम्हालेको २ महिना ७ दिनपछि अनिवार्य अवकाशमा जान लागेका हुन् ।
प्रहरी महानिरीक्षकका लागि मुख्यगरी चार जना एआईजीले दाबेदारी प्रस्तुत गरिरहेका बेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले पहिलो वरीयताका एआईजी कार्कीलाई प्रहरी नेतृत्व सुम्पेको हो । भावी नेतृत्वका लागि कार्कीसँगै एआईजीहरू राजन अधिकारी, डा. मनोजकुमार केसी र सिद्धीविक्रम शाह पनि प्रतिस्पर्धामा थिए ।
कार्की प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै अन्य एआईजीहरू ‘बीचमा कुनै घटना नभए’ अब सोही पदबाट अवकाशमा जानेछन् । राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका शाह भने अधिकारी र डा. केसीभन्दा अघि नै अवकाशमा जानेछन् ।
शाह ५ पुस २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा निरीक्षक पदमा सेवा प्रवेश गरेकाले उनी अब ४ पुस २०८३ सम्म मात्रै पदमा रहनेछन् ।
आईजीको प्रतिस्पर्धामा रहेका अधिकारी र डा. केसी भने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीकै ब्याची हुन् । उनीहरू १८ चैत २०५४ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उनीहरूको ब्याचलाई १११औं टोली भनिन्छ ।
विद्यमान प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवा अवधिका कारण कार्की करिब साढे २ वर्ष (१७ चैत २०८४ सम्म) प्रहरी नेतृत्वमा रहनेछन् । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल एवं सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र वंशीराज दाहाल पनि १११औं ब्याचका प्रहरी निरीक्षक हुन् । कार्की प्रहरी महानिरीक्षक नियुक्त भएसँगै १११औं ब्याचका दुई जना नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वमा एकसाथ पुगेका छन् ।
कार्की प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भई आएका शाहको टोली र १११औं टोलीमा को ‘सिनियर’ भन्ने विवाद पनि अन्त्य भएको छ । शाहको टोली प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्म अघि रहेकामा उनीहरूलाई डीआईजी हुनेबेला कार्की, अधिकारी र डा. केसीले उछिनेका थिए ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले डीआईजीको वरीयतालाई एआईजी बढुवामा पनि निरन्तरता दिएकाले अहिले कार्कीलाई ३३औं प्रहरी महानिरीक्षक बन्न सहज भएको हो । एआईजी शाहले पछिल्ला दिनसम्म पनि सेवा प्रवेशका हिसाबले आफू नै सिनियर भएको दाबी गर्दै आएका थिए ।
गत १९ भदौदेखि प्रहरी संगठनको नेतृत्व सम्हालेका खापुङले खादा लगाउन र सगुन खान पनि राम्रोसँग नपाउँदै २३ भदौमा जेनजी प्रदर्शन भएको थियो । २३ र २४ भदौमा भएको प्रदर्शनमा तीन प्रहरीसहित ७५ जनाको मृत्यु र सिंहदरबारसहित सरकारी र निजी सम्पत्तिमा भएको भौतिक क्षतिले उनीमाथि ‘असफल’ आईजीपीको ट्याग लागिरहेका बेला नयाँ आईजीपी चयनलाई चासोका साथ हेरिएको थियो ।
एआईजीको पहिलो वरीयतामा कार्की भए पनि जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक घटनाक्रमका कारण प्रहरी नेतृत्वलाई लिएर संशय उत्पन्न भएको थियो । कार्की जेनजी आन्दोलन सर्वाधिक अराजक भएको २४ भदौमा काठमाडौं उपत्यका प्रहरी प्रमुखका रूपमा हाजिर भएका थिए । उनी हाजिर भएको केही घण्टामै प्रहरीले जिम्मेवारी छाड्दा काठमाडौं उपत्यका नै धुवाँको मुस्लोमय बनेको थियो । उपत्यकामा अत्यधिक आगजनी र तोडफोड हुँदा उनको मातहतका तीन प्रहरीले पनि ज्यान गुमाएका थिए ।
यति मात्रै नभई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकाल्ने काममा उनको प्रत्यक्ष सहभागिता रहेको दाबी पनि गर्ने गरिएको छ । उच्चस्तरीय छानबिन आयोगका प्रवक्तासमेत रहेका पूर्वएआईजी विज्ञानराज शर्माले एउटा अन्तर्वार्तामा ‘एआईजी कार्कीको निर्देशनले प्रहरीले आफ्नो जिम्मेवारी छाड्दा उपत्यकामा ठूलो मात्रामा मानवीय र भौतिक क्षति हुन गएको’ टिप्पणी गरेकाले प्रहरी नेतृत्वमा पुग्ने कार्कीको सपना सपनामै सीमित हुने आशंकासमेत गरिएको थियो । प्रवक्ता शर्माले एआईजी कार्कीलाई छानबिनको दायरामा ल्याइने स्पष्टसँग बोलेका थिए ।
अर्कोतर्फ, जेनजी आन्दोलनका बेला जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख रहेका एसएसपी विश्व अधिकारीलाई डीआईजी बढुवा सिफारिसमा छुटाइएकाले पनि कार्की प्रहरी नेतृत्वमा पुग्न नसक्ने अनुमान गरिएको थियो । एसएसपी अधिकारी डीआईजीको पहिलो दाबेदार थिए । एसएसपीको पहिलो वरीयतामा रहेका अधिकारीलाई छाडेर उनीपछिका पाँच जनालाई डीआईजी बढुवा गरिएको थियो ।
प्रहरी महानिरीक्षकमा नियुक्त कार्कीले इमानदार प्रहरी अधिकृतको परिचय बनाएका छन् । उनी कुनै ठूलो आर्थिक विवादमा मुछिएका छैनन् । कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ । काठमाडौं परिसर प्रमुख हुँदा भुटानी शरणार्थी प्रकरणको मुद्दा उनैले चलाएका थिए । विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्तासमेत भएका थिए ।
कार्कीले मानविकी तथा समाजशास्त्र, शिक्षाशास्त्र र कानुन संकाय विषयमा स्नातक तह अध्ययन गरेका छन् । त्यस्तै, राजनीति शास्त्रमा उनले स्नातकोत्तर गरेका छन् ।
नेपाल सरकारले उनलाई प्रबल जनसेवा श्री पदकबाट पनि पुरस्कृत गरेको छ । नेपाल प्रहरीले १४ पटक अभिलेखमा जनिने गरी नगद पुरस्कार पनि दिएको छ ।






