बलिउड ‘ही–म्यान’ अभिनेता धर्मेन्द्रको निधन

‘ही–म्यान’को नामले परिचित बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । उनको सोमबार दिउँसो करिब १ बजे ८९ वर्षको उमेरमा मुम्बईको जुहूस्थित आफ्नो निवासमा निधन भएको भारतीय समाचार एजेन्सी ‘आईएएनएस’ले जनाएको छ ।

उनी लामो समयदेखि फोक्सो र मुटु सम्बन्धि रोगसँग लडिरहेका थिए । सोही समस्याका कारण उनलाई गत १० नोभेम्बरमा अस्पतालमा भर्ना समेत गरिएको थियो । १२ नोभेम्बरमा डिस्चार्ज भएर घर फर्किएका उनी घरमै आराम गर्दै थिए । परिवारबाट उनको घरमै उपचार चलिरहेको थियो । अन्ततः सोही समस्याकाका दिग्गज अभिनेताको धर्मेन्द्रको निधन भएको हो ।

यस अघि ११ नोभेम्बरमा उनको निधन भएको हल्ला फैलिएपछि परिवारले त्यसको खण्डन गर्नु परेको थियो । तर सोमबार भने धर्मेन्द्रकै निधनको खबर उनको नातेदारबाट सार्वजनिक गरिएको थियो । धर्मेन्द्रको घरमा बिहान १० बजेबाटै आफन्तको ठुलो जमघट भएको थियो, तर पनि उनको निधनको खबर दिउँसो १ बजे मात्र सार्वजनिक गरिएको थियो ।

अभिनेता धर्मेन्द्रको सोमबार साँझ मुम्बईको विले पार्लेस्थित पवन हंस शवदाह गृहमा अन्तिम संस्कार गरियो । उनको अन्तिम संस्कारमा पत्नी हेमा मालिनी, छोराहरू सनी देओल, बबी देओल, छोरी इसा देओल र नाति करण देओलसहित स परिवार सहभागी भएका थिए ।

धर्मेन्द्रलाई अन्तिम श्रद्धाञ्जली दिन बलिउड अभिनेता अमिताभ बच्चन, सलमान खानदेखि विभिन्न चलचित्रकर्मीहरूसम्म समसान घाटमा पुगेका थिए । उनको निधनले बलिउड चलचित्र उद्योगलाई ठुलो क्षति पुगेको विभिन्न चलचित्रकर्मीहरूले बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न राजनीतिज्ञसमेतले उनको निधन प्रति सामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गरेका छन् ।

अभिनेता धर्मेन्द्रको जन्म ८ डिसेम्बर १९३५ मा पन्जाबको फाजिल्का जिल्लाको नसराली गाउँमा एक साधारण किसान परिवारमा भएको थियो । सन १९५८ मा फिल्म फेयर ट्यालेन्ट हन्ट अवार्ड जितेपछि उनलाई आयोजक टिमले चलचित्रमा अभिनय गर्न सल्लाह दिएको थियो । सोही सल्लाहको आधारमा उनी सोही वर्ष मुम्बई पुगेका थिए । एक वर्षको संघर्षपछि धर्मेन्द्रले सन १९६० मा ‘दिल भी तेरा हम भी तेरे’ बाट नायकको रूपमा डेब्यू गरेका थिए ।

पहिलो चलचित्रबाटै चर्चामा आएपछि उनी उनी १९६०बाटै बलिउडमा रोमान्टिक÷एक्सन हिरोको रूपमा परिचित भए । सन १९६० देखि १९८५ को दशकमा उनी व्यस्त नायकको रूपमा रहे । त्यसपछि भने उनी चलचित्रमा चरित्र अभिनेताको रुपमा रहे । उनले बलिउडमा निरन्तर ६५ वर्षसम्म चलचित्रमा अभिनय गरे । आफ्नो पेशा प्रति पूर्ण कटिबद्ध भएर उनले यो धर्तीबाट बिदा लिए ।

धर्मेन्द्रलाई त्यति बेला ‘फूल और पत्थर’, ‘मेरा गाउँ मेरा देश’, ‘यादों की बारात’, ‘शोले’ ‘नौकर बिबीका’, ‘कयामत’, ‘सती जम्बुता’, ‘सिता और गीता’, ‘सत्यकाम’, ‘चुपके चुपके’, ‘द बर्निङ ट्रेन’, ‘धर्म और कानुन’, ‘बिरुदाता’, ‘कोहराम’, ‘तहल्का’, ‘बेताब’ जस्ता चलचित्रहरूले ‘बलिउडको ही–म्यान’ को रूपमा स्थापित गरायो । उनले ३०० भन्दा बढी चलचित्रहरूमा अभिनय गरेका थिए ।

अभिनेता धर्मेन्द्रको आगामी ८ डिसेम्बरमा आफ्नो ९० औँ जन्मदिन भव्यताका साथ मनाउने चाहना थियो । धर्मेन्द्रको अन्तिम चलचित्र ‘ एक्किस’ आगामी २५ डिसेम्बरमा रिलिज हुँदै थियो । यी अभिनेताले आफ्नो चलचित्र ‘एक्किस’ आगामी २५ डिसेम्बरमा हेर्ने चाहनासमेत परिवारसँग राखेका थिए । यो चलचित्रमा उनले विशेष भूमिका निर्वाह गरेका थिए । एक अन्तर्वार्तामा उनले यो चलचित्र’bout भनेका थिए, ‘म बूढो भए पनि चलचित्र नै मेरो जीवन हो । त्यसैले म आफ्नो नयाँ चलचित्र एक्किस हेरेर मात्र आँखा बन्द गर्नेछु,’ तर आफ्नो चलचित्र रिलिज हुनु भन्दा ३२ दिन अगाडि नै उनी भौतिक रूपमा यो संसारबाट बिदा भए । उनको यो सपना भने अधुरो नै रह्यो ।

धर्मेन्द्रले दुई विवाह गरेका थिए । उनले सन १९५४ मा १९ वर्षको उमेरमै प्रकाश कौरसँग विवाह गरेका थिए । पहिलो पत्नीबाट उनको दुई छोरा सनी देओल र बबी देओल तथा दुई छोरी बिजेता देओल र अजिता देओलको जन्म भएको थियो । यसपछि उनी अभिनेत्री हेमा मालिनीसँग चलचित्र ‘शोले’मा अभिनय गरेपछि प्रेम सम्बन्धमा जोडिएका थिए । त्यसपछि उनले हेमासँग दोस्रो विवाह गरे । हेमासँग विवाह गर्दा धर्मेन्द्रले इस्लाम समेत कवुल गर्नु परेको थियो । हेमा मालिनीतर्फ धर्मेन्द्रका दुई छोरी इसा देओल र आना देओल छन् ।

धर्मेन्द्र आफ्नो जीवन कालमा राजनीतिमा पनि सक्रिय रहे । उनले सन २००४ देखि २००९ सम्म राजस्थानको बीकानेरबाट भारतीय जनता पार्टीको प्रतिनिधित्व गर्दै भारतीय संसद (लोकसभा) को सदस्यको रूपमा सेवा गरेका थिए । २००४ मा चुनाव जिते पनि उनी राजनीति यात्रामा त्यति धेरै सक्रिय रहेनन् । सदनको बैठक चलिरहेको बेला उनी संसदमा विरलै उपस्थित हुन्थे । चलचित्रको छायांकन गर्न वा आफ्नो फार्म हाउसमा समय बिताउन चाहेका कारण उनले पहिलो सांसदको कार्यकाल सकिएपछि दोस्रो पटक राजनीतिमा आउने चाहना देखाएनन् ।

४५० करोड रुपैयाँको सम्पत्तिका मालिक धर्मेन्द्र सन २०१२ मा भारत सरकारको पद्म भूषणबाट सम्मानित भएका थिए । उनी सो सँगै करिब एक दर्जन राष्ट्रिय स्तरका चलचित्र अवार्डबाट पनि सम्मानित थिए ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)