काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा दाबी गरिरहेका राजनीतिक दल र जेनजी आन्दोलनका सरोकारवाला समूहले चुनावी गठबन्धन र निर्वाचनपछिको सत्ता सञ्चालनलाई लिएर रणनीतिक छलफल सुरु गरेका छन् ।
वैकल्पिक शक्ति र जेनजी समूहको तयारी
राष्ट्रिय राजनीतिमा २०४६ सालको राजनीतिक परिवर्तनका मुख्य हिस्सेदार मानिने नेपाली कांग्रेस र नेकपा एमालेलाई पछाडि पार्दै आफ्ना एजेन्डालाई राजनीतिको केन्द्र भन्दै पार्टीहरूले मोर्चाबन्दीका लागि छलफल गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र साझा विवेकशील पार्टीबीच आइतबार औपचारिक रूपमा एकता हुँदै छ भने जेनजी आन्दोलनपछि निर्माण भएका अन्य दल र सरोकारवाला समूहसँग समेत चुनावी मोर्चाबन्दी हुने विषयमा छलफल भइरहेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेभन्दा बाहेकका दलसँग मिल्न सकिने सम्भावनाको बहस गरिरहेको वैकल्पिक राजनीतिक शक्तिका अगुवा तथा संयोजनकर्ताले २१ फागुनको प्रतिनिधिसभा निर्वाचन र त्यसको तयारीको रणनीतिक छलफल गरिरहेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कुलमान घिसिङ संरक्षण रहेको पार्टी उज्यालो नेपाल पार्टी (उनेपा) र जेनजी आन्दोलनका अगुवाहरूले स्थापना गरेका विभिन्न पार्टी रहेका छन् । तराई मधेशमा देखिएका वैकल्पिक शक्ति तथा अघिल्ला निर्वाचनमा दलीय मोर्चाबन्दीका विपक्षमा देखिएका स्वतन्त्रहरूसँग सम्बन्धित दल र समूहसमेत वैकल्पिक शक्तिको मोर्चामा रहेका छन् ।
तीन क्लस्टरमा तयारी
निर्वाचन तयारीका लागि वैकल्पिक राजनीतिक शक्तिलाई सहयोग गरिरहेको प्राविधिक टोलीले क्लस्टर विभाजन गरेर तयारी थालेको छ । प्रतिनिधिसभा निर्वाचन २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचनको योजना, सामाजिक सर्वेक्षण, प्रचार सामग्री तथा प्रचार रणनीति निर्माण गरिरहेको एउटा समूहले सर्वेक्षण गरिरहेको छ । सहरी जनमत, तराई मधेश र पहाडी जनमत भन्दै तीन क्लस्टरमा नेपाली मतदातालाई विभाजन गरेर त्यस अनुरूपको रणनीति निर्माण गरिरहेको पाइएको छ ।
सहरी जनमतमा रास्वपा र कुलमान घिसिङको ‘इमेज’ ब्रान्डिङ गरेर प्रचार गर्ने तयारीमा छन् भने पहाडी जनमतमा कुलमान घिसिङको व्यक्तित्वलाई बहुपक्षीय ढंगले उपयोग गर्ने तयारी छ । जातीय तथा भाषिक सहानुभूतिलाई समेत उपयोग गर्ने तयारी गरिरहेको उज्यालो नेपालले विकासको मोडललाई ‘कुलमान मोडल’का रूपमा प्रचार गर्दै विषयगत विज्ञहरूको सूचीलाई प्रचार अस्त्र बनाउने भएका छन् ।
तराईमा उदीयमान शक्तिका रूपमा रहेका रेशम चौधरी र सीके राउतसँग समेत छलफल तथा परामर्श गरिरहेको बुझिएको छ । धरानका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा जोडिएको जनमतसमेत ध्रुवीकरण गर्न पहल भइरहेको घिसिङनिकट एक नेताले बताए ।
असन्तुष्टि र सपनाको खोजी
निर्वाचन तयारीका लागि हरेक निर्वाचन क्षेत्रमा २०७० सालको निर्वाचनपछिका नेतृत्वले गर्ने भनेर दिएका आश्वासन र त्यसको परिपूर्ति हुन नसकेकोलाई लिएर असन्तुष्टिको प्रचार गर्न असन्तुष्ट खोजी गर्न विज्ञ टोली नै लागिपरेको स्रोतले बताएको छ । रास्वपाका एक पदाधिकारीसँग वैकल्पिक राजनीतिक शक्तिको तयारीका विषयमा पाएका सूचनाहरूको विषयमा कुरा गर्दा स्वाभाविक तयारी भएको बताए । पुराना दलले आफ्नै शैलीले नयाँले आफ्नै शैलीले प्रचार गर्ने त स्वाभाविक नै भएको उनको दाबी छ ।
प्राविधिक कामका अभ्यास
वैकल्पिक राजनीतिक अभ्यास गरिरहेका दल र जेनजी आन्दोलनपछि उदाएका दलले निर्वाचन आयोगले दिएको समय तालिकाभित्रै मिल्नेसम्म मिलाएर जाने अभ्यास गरिरहेको उज्यालो नेपाल पार्टीका नेता रामेश्वर श्रेष्ठले बताए । निर्वाचन आयोगले दल दर्ता गर्न दिएको समय चार दिन थपेर १४ मंसिर सम्म पु¥याएपछि यहीबीचमा जेनजी आन्दोलनको भावनाअनुसारको साझा मोर्चाको अभ्यासको स्वरूप अझै प्रस्ट हुनसक्ने सम्भावना उज्यालो नेपाल पार्टीका एक नेताले बताए ।
‘पुराना पार्टीलाई धक्का दिने म्यान्डेट आन्दोलनले दिएको छ, त्यसका लागि पुराना पार्टीभित्रका प्रगतिशील सोच राख्नेहरूसँग पनि सहकार्य हुनसक्छ, तर निर्वाचनअघि धेरै सहकार्य नभए पनि निर्वाचनपछि परिणामका हिसाबले ५ वर्ष कांग्रेस–एमालेलाई सत्ताबाहिर राख्ने विषयमा भने पूर्ण रूपमा सहमति हुन्छ,’ ती नेताले भने ।
पूर्वगृहमन्त्री तथा रास्वपाका अध्यक्ष रवि लामिछानेलाई विश्वास दिलाएरै जेलबाहिर ल्याएर अध्यक्ष बनाउने सहमति गरेर उज्यालो नेपाल पार्टी र रास्वपाको एकता निर्वाचनअगाडि नै हुने सम्भावना भएको समेत उज्यालो नेपालका कुलमाननिकट एक नेताले बताए ।
अयोगले दल दर्ता गर्न समय दिएको १४ मंसिर दिउँसोसम्म एउटै साझा चुनाव चिह्न दिएर निर्वाचनमा जाने सहमति हुन नसके पनि निर्वाचनका लागि आह्वान गर्ने बेलासम्ममा एउटै हुने अवस्थाको नजिक पुगेको रास्वपाका एक नेताले बताए ।
वैकल्पिक राजनीतिक शक्ति तथा जेनजी आन्दोलनपछि उदाएका दल र समूहको दुई तिहाइका लागि प्रयत्न गर्ने नभए बहुमतको ढुक्कको सरकारका लागि सहमत भएका दलहरूबीचको छलफल भइरहेको अरू पार्टीका नेताहरूको पनि स्वीकारोक्ति छ । यसका लागि रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल र मनीष झाले वार्ता गरिरहेका छन् । यस्तै, उज्यालो नेपालका लागि कुलमान आफैं र उनीनिकट नेताहरू गणेश घिसिङ, सूर्य थापा, जितराम लामालगायत छलफलमा छन् ।
रविको जेलमुक्ति र बालेन व्यवस्थापन
निर्वाचनपहिले वैकल्पिक राजनीतिक मोर्चाबन्दी र निर्वाचनपछि कांग्रेस–एमालेबाहेकको पाँचवर्षे सत्ताका लागि रविको जेलमुक्ति र बालेनको व्यवस्थापनलाई महत्व दिएर पनि छलफल भइरहेको छ । प्रचार र प्रविधिको पाटोमा सशक्त प्रभाव भएको भनिएको बालेन समूहलाई मिलाउने विषयमा बालेनका निकटस्थहरू कुमार बेन र सुनिल लम्सालहरूसँग छलफल भइरहेको बुझिएको छ ।
रास्वपाका नाममा पार्टी सभापति लामिछानेकै क्रेज भएका कारण मानार्थ प्रकृतिको सभापतिमा लामिछानेलाई नै कायम राखी कुलमानलाई संयोजनकारी भूमिका दिएर भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्नेगरी पनि छलफल भइरहेको स्रोतको दाबी छ । कुलमानलाई ब्रान्डिङ गरेर निर्वाचनमा जाँदा पहाडी जनमतसँगै नेकपा माओवादी केन्द्र तथा कम्युनिस्ट पार्टीहरूसँग निकट जनमतसमेत आकर्षित गर्नसक्ने विश्लेषण गरी सोही तयारीअनुसार निर्वाचनपछिको सरकारले रवि लामिछानेलाई जेलमुक्त गर्ने सर्तलाई पार्टीभित्र र बाहिरका लामिछाने समर्थकलाई उत्साही बनाउने अस्त्रका रूपमा तयारी भएको छ ।
उज्यालोले माग्यो उम्मेदवार
कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी २१ फागुनको निर्वाचनका लागि उम्मेदवार हुन इच्छुक व्यक्तिलाई आफ्नो योजना तथा कार्यक्रमसहित आवेदन गर्न आह्वान गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो आह्वान गरिएको हो । पार्टीमा कलाकार, विभिन्न विषयका विषयविज्ञ तथा चर्चित व्यक्तिहरू सहभागी छन् ।












