दुई कोठामा पाँच कक्षा संचालन, फेरियो इतिहास

वीरगन्ज । साना दुईवटा कोठा । त्यही दुईवटा कोठामा पाँचवटा कक्षा संचालन । विद्यालयको धरातलीय यथार्थ सम्झँदा जसलाई पनि मन खिन्न हुन्थ्यो । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ को शिकारीबासमा २०३६ सालमा स्थापित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था यस्तै चिन्ताजनक थियो ।

पर्सा राष्ट्रिय निकुञ्ज भित्रको जंगलका बीचमा अवस्थित गाउँका बालबालिकाले अध्ययन गर्ने सो विद्यालयका सामान्य २ कोठा पनि जंगली हात्तीले भत्काइ दिएपछि त्यहाँका बालबालिकाको शिक्षा लिन पाउने आधारको सपना ढलेको थियो । हिउँद भरी कक्षा कोठाको पढाई अनुभूति गर्न नपाउँदै हिउँद सकिने शिकारीबासका बालबालिकाको त्यो दिन बल्ल इतिहास बनेको छ ।

आईतबार ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ५५ लाखको लागतमा निर्माण सम्पन्न ४ कोठे सुविधा सम्पन्न विद्यालय भवनको विधिवत् उद्घाटन गरे । यो उद्घाटनसँगै ठोरी ३ शिकारीबास गाउँमा विद्यालयको अभाव अब टेरको हो । नयाँ भवनको निर्माण र संचालनले सो गाउँका विपन्न सर्वसाधारणका बालबालिकाले पनि प्रा.वि. तहको शिक्षा गाउँमा नै लिने भौतिक संरचनाको ठोस् आधार मिलेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय शिकारीबासका प्रधानाध्यापक नारायण श्रेष्ठले बताए ।

पर्साको राष्ट्रिय निकुञ्ज भित्रको ऐतिहासिक शिकारीबास बस्तीमा जंगली जनावरको आक्रमणको डरमा बाहिरी मानिस कोही जाने र गाउँका मानिस बाहिर निस्कने कुरा पनि विगतमा विचारणीय थियो । गाउँ भित्रै रहेको नामको मात्र विद्यालय भवनमा विपन्न बालबालिकाका छोराछोरीले प्रा.वि. तहको शिक्षा सकसले लिने गर्थे । तर आईतबारबाट त्यो सकसको दिन सपनामा परिणत भयो प्रअ श्रेष्ठले भने । पालिका सरकारको वर्तमान नेतृत्वप्रति स्थानीय पनि सकारात्मक देखिए । ‘हाम्रा बालबालिकाले पनि बल्ल सुविधा सम्पन्न विद्यालय भवन भित्र बसेर प्रा.वि.स्तरको शिक्षा लिन पाउने भए’ उनीहरुले भने ।

सो विद्यालयमा अहिले ४२ जना बालबालिका अध्ययनरत छन् । उनीहरुलाई दुई स्थायी, २ बाल शिक्षिका र एक राहतका गरी पाँच शिक्षक शिक्षिकाले अध्यापन गराइरहेको सो विद्यालयका प्रअ श्रेष्ठले बताए ।

जंगली जनावरको आक्रमण र विपत्को ओत
२०८१ फागुन १ गते भौतिक पूर्वाधारहरुको अभाव झेलेको सिंगो गाउँमा विद्यालय भवन निर्माणका लागि ठेकदारसँग पालिकाले सम्झौता गरेको विद्यालयका प्रधानाध्यापक नारायण श्रेष्ठले बताए । कुल लागत ५५ लाख लाग्यो । अब विगतको कठिनाईलाई भुल्ने र जंगली जनावरको आक्रमणको सन्त्रास पनि ट¥यो उनले बताए । नयाँ विद्यालय भवन बनेपछि आपत पर्दा सिंगो गाउँ नै सो विद्यालय भवनमा सुरक्षित बस्न पनि सक्ने अवस्था बनेको स्थानीयले पनि बताए ।

बल्ल स्थानीय सरकारको अनुभूति
विद्यालय भवनसँगै ठोरी ३ को शिकारीवासमा शुद्ध खानेपानीको व्यवस्था, उप–स्वास्थ्य चौकी मार्फत स्वास्थ्य सेवा, मोबाइलको टावर नआउने ठाउँमा निशुल्क वाईफाई जडान लगायतका सेवाले अहिले शिकारीबासवासीको मन प्रफूल्ल देखियो । पहिलेभन्दा गाउँ धेरै फेरिएकोमा उनीहरुले स्थानीय सरकारको प्रसंशा गर्न भ्याए ।

जनता पाँच पक्का भवन पनि बन्दै
टुकीको सहारामा बाँचेको शिकारीबासमा सोलार बत्ती जडानसँगै बैकल्पिक उर्जाले झलमल्ल गाउँमा पालिकाले नै “जनता आवास कार्यक्रम“ अन्तर्गत ५ परिवारका लागि पक्का घर पनि निर्माण गर्दैछ । ती घर पनि निर्माणको अन्तिम चरणमा छन् । गाउँपालिका अध्यक्ष सहितको टोलीले सो भवनको समेत आईतबार अनुगमन गरेको छ ।

पहिलो चरणमा ५ परिवारलाई र बांकीलाई पनि थप गर्दै लैजाने पालिकोको योजना रहेको ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले राजधानी दैनिकलाई बताए । पालिकाभित्र जहाँ विकासका पूर्वाधारको अभाव छ, त्यहाँ प्राथमिकता दिंदै पालिका अगाडी बढेको उनको दावी छ । एकै पटक सबै काम गर्न बजेट अभावले सकिएको छैन उनले तर्क गरे । प्राथमिकीकरणका आधारमा पालिकामा आएको बजेटबाट आफूहरुले विकासका पूर्वाधारका कामलाई पनि प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले दावी गरे ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ