कोरोना संक्रमित २ महिने शिशुसहित सबैको स्वास्थ्य अवस्था सामान्य

वीरगन्ज । पर्सामा कोरोना संक्रमित भई उपचार गराइरहेका दुई महिनाकी शिशुसहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । वीरगन्जको नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ र बिहिबारबाट गण्डक अस्पतालमा उपचार गराइरहेका २५ जना गरी सबैको अवस्था सामान्य रहेको हो ।

गण्डक अस्पतालमा बिहिबार भर्ना गरिएको २५ जना भने नारायणी अस्पतालमा नअटेपछि गएको बैशाख ३० गतेबाट वीरगन्जको सिद्धार्थ मा.वि.को सेमी आइसोलेशन कक्षमा राखिएका थिए ।

कोरोना संक्रमणको हटस्पटका रुपमा रहेको पर्साको वीरगन्जमा यतिबेला ९६ जना संक्रमितको उपचार भइरहेका छन् । वीरगन्जको नारायणी अस्पतालमा एक नर्ससहित ७१ जना र स्थानीय सिद्धार्थ मा.वि.को सेमी आइसोलेसन कक्षमा २५ जना ( जुन बिहिबार) गण्डक अस्पतालमा सारिए संक्रमितको उपचार भइरहेको नारायणी अस्पतालले जनाएको छ । पर्सामा गएको चैत ३० गते पहिलो पटक तीन भारतीय जमातीमा संक्रमण पुष्टि भएयता अहिले सम्म कुल ९१ जना संक्रमित फेला परिसकेका छन् ।

पर्सामा भेटिएका सबै संक्रमित मध्ये छिपहरमाईको क्वारेन्टाइनमा एकै पटक पुष्टी भएका १४ संक्रमितमा एक भारतीय नागरिक पनि रहेको पाइएको हो । यो संख्या सहित पर्सामा संक्रमित भेटिएका ९१ मध्ये ४ जना भारतीय नारगरिक र बाँकी सबै पर्साका स्थानीय बासिन्दा रहेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।

पर्सामा उपचार गराउने मध्ये ७ जना छिमेकी जिल्लाका
वीरगन्जका दुवै अस्पतालमा उपचार गराइरहेका मध्ये ३ जना बारा, ३ जना रौतहट र एक जना सर्लाहीका पुरुष बाहेक सबै संक्रमित पर्साका रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदनकुमार उपाध्यायले बताए । उपचार गराएका मध्ये गएको बैशाख १४ गते रौतहटको इशनाथ नगरपालिकाका १९ बर्षीय एक युवक र ३ भारतीय जमाती निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए ।

तर रौतहटका ती युवक र एक भारतीय जमातीको स्वास्थ्यमा केही समस्या भएपछि गएको बैशाख २१ गते पुनः ती दुई जनालाई पनि नारायणी अस्पतालमा भर्ना गरिएको छ । उनीहरु पनि अहिले नारायणी अस्पतालमा नै उपचारार्थ रहेको मेसु डा.उपाध्यायले बताए ।

बुधबारबाट पुनः स्वाव संकलन सुरु
समुदायमा संक्रमित भेटिइरहेको पर्सामा भिटिएम पीसिआर किट सकिएपछि केही समय स्वाव संकलन गर्ने कार्य नै रोकिएको मेसु उपाध्यायले स्वीकारे । मंगलबार वेलुका १ हजार भीटिएम पीसिआर कीट आइपुगे पछि भने बुधबारबाट पुनः स्वाव संकलनको कार्य अघि बढाइएको नारायणी अस्पतालले जनाएको छ ।

सुरक्षाकर्मीसँग छलिंदै वारपार गर्दै
खुल्ला सीमा र मुलुकको प्रमुख भन्सार नाका रहेको पर्सामा एकदुई सय व्यक्तिको मात्र स्वास्थ्य परिक्षण गरेर नहुने अवस्था भएको स्थानीयले बताएका छन् ।

कसैले घाँसपात गर्ने वा शौच गर्न गएझैं गरी रातरात लुकिछिपी सीमा कट्नेहरु सीधा समुदायमा नै जाने गर्नाले पनि संक्रमित पत्रा लगाउने कार्यमा चुनौति थपिएको छ । यसका स्थानीयले पूर्ण सहयोग नगरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कुन गाउँमा को आयो गयो ? जस्ता कुरा स्थानीयले पनि चनाखो भएर हेर्नु पर्ने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।

भारतसँग रोटीवेटीको सम्बन्ध भएको कारण पनि कति स्थानीयले आफन्तहरुलाई लुकाई छिपाई ल्याउने, लाने र राख्ने गर्दा अझ व्यक्ति पहिचान र रोगको संक्रमण फैलन सक्ने सम्भावनालाई चीर्न चुनौति रहेको सुरक्षा अंगका प्रमुखहरुले बताए । यसमा स्थानीय नागरिकको पूर्ण सहयोग बिना संक्रमण फैलनबाट जोगाउन र जोगिन सकस हुने उनीहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ