आन्दोलनमा तोडफोड र आगजनी आरोपमा इलामबाट १५ पक्राउ

इलाम । गत भदौ २३ र २४ गते भएको तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता टीकाराम चौहान, इलाम ७ का ५२ वर्षे कमलकुमार साह हलुवाई, इलाम ६ का २९ वर्षे विशाल नोभाङ, इलाम ७ का ४० वर्षे पवित्तर मल्लिक, इलाम ९ का ३९ वर्षे होमबहादुर खवास, फाकफोकथुम ३ का २३ वर्षे आदर्श राई, इलाम ४ का ३६ वर्षे यादव तिवारी, इलाम ६ का ३० वर्षे अर्जुन तित्रखी, सन्दकपुर २ की २५ वर्षीया अन्जु राई, इलाम १ का ३० वर्षे सागर संग्रौला छन् ।

यसैगरी, ताप्लेजुङ मिक्वाखोला २ का ३२ वर्षे तेजकुमार बिक, इलाम १२ का २८ वर्षे अनिश राई, इलाम ५ का २३ वर्षे मोहन भनिने मोहनकुमार लिम्बू (फत्र), झापा पृथ्वीनगर घर भइ इलाम ५ बस्ने सुरज राई भनिने ४३ वर्षे सुरज गुरुङ र इलाम ९ का ३६ वर्षे सविन राई छन् । उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । ‘पक्राउहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ उनले भने ।

भदौ २४ मा गरेको आन्दोलनक्रममा आगजनी र तोडफोड हुँदा इलामका विभिन्न सरकारी कार्यालय, पार्टी कार्यालय, प्रहरी बिट, सवारी साधनलगायतमा क्षति भएको थियो । तोडफोडबाट प्रशासन कार्यालयमा आंशिक क्षति भएको थियो । चोकबजारको प्रहरी पोस्टमा तोडफोड र कागजपत्र आगजनी, बिब्ल्याँटे बजारस्थित प्रहरी पोस्ट तोडफोड र आगजनी गरिएको थियो । यस्तै, इलाम नगरपालिका कार्यालयमा आगजनी र तोडफोड गर्दा करिब पाँच करोड रुपैयाँको क्षति भएको नगरले अनुमान गरेको छ । नगरपालिका कार्यालयका सवारी साधन भवन, झ्याल, ढोका, फर्निचर, कागजात, ल्यापटप, दराजलगायत क्षति भएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका ल्यापटप, एउटा गाडी, दुई मोटरसाइकल, भवनका झ्याल–ढोका, मतपेटिका, फर्निचर, फोटोकपी, कम्प्युटरलगायतमा तोडफोड गरी क्षति भएको थियो । प्रहरीले निर्वाचन कार्यालयको करिब तीन करोड रुपैयाँको क्षति अनुमान गरेको थियो । करदाता सेवा कार्यालयमा समेत क्षति भएको थियो भने कार्यालयका सबैजसो कागजात बाहिर निकालेर डढाइएको थियो । कार्यालयको एउटा गाडी तोडफोड गरिएको थियो ।

माई नगरपालिकाका चार मोटरसाइकल र एउटा गाडी तोडफोड गरिएको थियो । कार्यालयका कागजात र सामग्री बाहिर निकालेर जलाइएको थियो । माईकै वडा १, २, ३, ४, ७, ८, ९ र १० नम्बर वडा कार्यालयका कागजात र सामग्री बाहिर निकालेर जलाइएको थियो । माईकै सुखानी अध्ययन केन्द्रमा तोडफोड र आगजनी गरिएको थियो । माई नगरपालिका ४ को दानबारी सामुदायिक सिकाइ केन्द्रमा आगजनी हुँदा करिब १३ लाखको क्षति अनुमान गरिएको थियो । रोङ गाउँपालिका २ को वडा कार्यालयमा तोडफोड र कागजपत्रमा आगजनी गरिएको थियो ।

इलाम बजारमा रहेका नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)लगायत पार्टी कार्यालयमा तोडफोड गरिएको थियो । कागजात निकालेर जलाइएको थियो ।

माओवादी कार्यालयसँगै रहेको सहिद स्मृति प्रतिष्ठान, प्रतिष्ठानसँगै रहेको पुस्तकालय र एमाले कार्यालयसँगै रहेको सूर्यरत्न बचत तथा ऋण सहकारी संस्थामा समेत क्षति भएको थियो । इलाम बजारस्थित रेडियो नेपालवाणी एफएमको कार्यालयमा क्षति पुगेको थियो । माई नगरपालिका २ को एमाले कार्यालयमा क्षति भएको थियो । इलामस्थित नेपाल बार एसोसिएसन भवनमा पनि तोडफोडबाट आंशिक क्षति भएको थियो । एक म्यानपावर कम्पनीको कार्यालयमा तोडफोड गरिनुका साथै कागजपत्र जलाइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ