परम्परादेखि चल्दै आएका सामाजिक व्यवहार, चालचलन, रीतिरिवाज, संस्कार तथा मानवीय मूल्य र मान्यता हो, पुख्र्यौली मूल्य । यो सभ्य, शिष्ट, मर्यादित जीवनयापनका अलिखित निर्देशक सिद्धान्त पनि हो । पुख्र्यौली मूल्य परिवार र समाजको आत्मा हो । अहिले नेपाली समाजमा परम्परादेखि प्रचलनमा आएका यी मूल्य र मान्यता आधुनिकताका नाममा कमजोर हुँदै गएको अवस्था छ । नयाँ पुस्ता पाश्चात्य सभ्यतामा आकर्षित हुँदै गएको देखिन्छ । पुर्खाले जीवनभर अभ्यास गर्दै आएका सांस्कारिक अभ्यास पुस्तान्तरण कमजोर बन्दै गएको छ ।
समाजमा भौतिक विकास र समृद्धि’bout चर्को बहस हुने गरेको छ । यो सकारात्मक पक्ष हो । तथापि भौतिक विकासले मात्र समाज सुखी हुन सक्दैन । सडक, बत्ती, खानेपानी, प्रविधि उपलब्धतामात्र विकास होइन । समाजको आत्मा भनेको मानिसले अभ्यासमा प्रयोग गर्ने सामाजिक मूल्य, मान्यता र असल व्यवहार हुन् । मानिसबीच आत्मीय सम्बन्ध विकासका लागि सत्य, इमानदारिता, परिश्रम, सहनशीलता, आत्मसंयम, परोपकार र सहयोगी स्वभाव तथा आपसी सद्भावजस्ता मानवीय गुण आवश्यकता हुन्छन् । अहिले समाजमा यही मूल्य, मान्यता र व्यबहार कमजोर हुँदै गएको छ । घरपरिवार र समाजमा अन्तरपुस्ताको सम्बन्ध, संवाद र आत्मीयता न्यून छ । आधुनिक जीवन शैली अपनाउने रहरमा नयाँ पुस्ताले पुर्ख्यौली मूल्य र मान्यतालाई बेवास्ता गर्दै आएको देखिन्छ ।
समाजमा उपभोक्तावादी डिजिटल संस्कृति बढ्दोक्रममा छ । डिजिटल पुस्ताले सामाजिक मूल्य र मान्यतालाई पुरानो ठान्ने वा ‘आउट डेटेड’ चलन महसुस गर्ने प्रवृत्ति प्रबल छ । समाज स्वतन्त्रताका नाममा स्वेच्छाचार, अधिकारका नाममा कर्तव्यच्यूत बन्दै जानुजस्ता कुराले अन्तरपुस्ताका पारिवारिक सदस्यबीच असमझदारी, बेमेल, पारिवारिक बिखण्डन तथा सम्बन्धविच्छेदजस्ता कर्म बढ्दै गएको देखिन्छ । ज्येष्ठ नागरिकले जीवनको उत्तराद्र्धका दिन आप्mना सन्तानबाट टाढिएर बस्नुपर्ने बाध्यात्मक स्थिति छ । समाजमा बढ्दै गएको अन्तरपुस्ता असमझदारी काल्पनिक भावना होइन, यो समाजको वास्तविकता हो । समाजको यही वास्तविकता यहा“ सत्यतथ्यका आधारमा पुष्टि गर्न केही प्रतिनिधि पात्रका भोगाइ र अनुभव आधार बनाइएको छ ।
काठमाडौंको व्यस्त जीवन र थकानबाट छुट्कारा पाउन पंक्तिकार जन्मेहुर्केको ठाउँमा गएका बेलामा भएको जनसंवादले सामाजिक जीवनको सजीव चित्र देखायो । बुवाले बनाएको माझीगाउँको चौतारीमा सुस्ताउँदै थिएँ । हिमलाल दाइ टुप्लुक्क आइपुगे । पिठ्युँमा बोकेको भारी भुइँमा टेकाउँदै दाइले भने, ‘बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि’ भन्ने पुर्खाको भनाइ सत्य रहेछ भाइ । छोराबुहारी सहर पसे । सन्तानबाट दुःखसुखमा साथ पाउन सकिएन । जेठो छोरा र बुहारी एनिभर्सरी मनाउन काठमाडौंबाट पोखरा गएको फोटो फेसबुकमा देखें । कान्छो छोरा बुहारी लुम्बिनी घुम्न गएका रहेछन् । बुहारीको वर्थडेको अवसरमा गएका रे †’ दाइले निधार खुम्च्याउँदै प्रश्न गरे, ‘भाइ यो, ‘एनिभर्सरी र वर्थ डे भनेको के हो ?’
हिमलाल दाइको प्रश्नभित्र पुरानो र नयाँ पुस्ताबीचको जीवनशैलीको झिल्को थियो । मैले मुसुक्क हाँसेजस्तो गरेर भने, ‘आजभोलिका नयाँ पुस्ताले विवाह गरेको हरेक वर्षमा गरिने सम्झना उत्सव हो दाइ, एनिभर्सरी । यो अंग्रेजी शब्द हो । नेपालीमा यसलाई वर्षगाँठ भन्दा रहेछन् ।’ दाइले चाउरिएको निधार खुम्च्याउँदै फेरि भने, ‘कान्छी बुहारीले छोराको वर्थ डे मनाउन मधेश आउनुहोला है ससुरा’बा भनेकी थिइन् । वर्थ डे भनेको जन्मदिन होइन र भाइ ?’ मैले सीधा जवाफ दिए“, ‘हो ।’ उनले थपे, ‘वर्थ डेमा केक किन काट्दा रहेछन् ?’ मैले भनें, ‘यो पाश्चात्य संस्कृतिको नक्कल हो दाइ ।’ दाइले निराश हँुदै भने, ‘हामी बूढाबूढीले बुढेसकालमा दुःख पाएको एनिभर्सरी र वर्थ डे नमनाएको भएर होला है †’ दाइले भनेका शब्दमा झल्किएको व्यंग्य र पीडा म बुभ्mथें । तर केही बोलिन“ ।
चौतारी संवाद भइरहेको थियो । इन्द्र दाइ टुप्लुक्क आइपुगे । इन्द्र दाइले मेरो मुखमा हेर्दै भने, ‘धन्य † तिम्रो बुवाले वरपीपल लागाएर चौतारी बनाउनुभएको थियो र समाजले शीतल ताप्ने, दुःखसुखका कुरा गर्ने, आमादिदीले पूजापाठ गर्ने ठाउँ बनेको छ ।’ म भावुक भएर दाइका कुरा सुनिरहेको थिएँ । उनले आंैलाले पूर्वतिर देखाउँदै भने, ‘तिम्रो कान्छो बुवाले बनाएको चौतारी बाटो बनाउँदा डोजर लगाएर भत्काए ।’ उनले फेरि दक्षिणतिर आंैला देखाउँदै भने, ‘यहाँ तिम्रो बुवाले खनाएको ठूलो पोखरी थियो । त्यो पनि खेलकुद मैदान बनाउने नाममा पुरिदिए । अहिले यो मैदानमा झाडीले ढाकेको छ । गाउँमा युवा कोही छैनन् । को खेल्ने ? पालिकाले हरेक वर्ष खेलकुद मैदान सफा गर्ने नाममा बजेट छुट्याउँछ । डोजर लगाउँछ ।’ इन्द्र दाइ निराश हुँदै भने, ‘गाउँबीच रहेको ठुटेपीपल पनि काटे । विकासका नाममा पुख्र्यौली सम्पदा विनाश गरियो । आजभोलि धर्म, कर्म, समाज सेवा र परोपकार गर्ने मानिसको खडेरी पर्दै गएको छ ।’
उल्लिखित संवादले अहिले नेपाली समाजको वास्तविक चित्रण गर्छ । युवा गाउँघरमा छैनन् । कोही सहर बजारतिर छन् त कोही विदेश पलायन भएका छन् । गाउँमा ज्येष्ठ नागरिक मात्र छन् ।
युवापुस्ताले आधुनिकताका नाममा पुख्र्यौली मूल्य र मान्यता बिर्संदै गएको देखिन्छ । आप्mना परिवारको कर्तव्य, सामाजिक, मूल्य, मान्यता, धर्म, संस्कार, संस्कृति वा पहिचान ख्याल नै नगरी नेपाली समाज देखासिकीको बाटोमा लागेको देखिन्छ, यसो गर्नु गलत हो । आधुनिक जीवनशैलीमा अभ्यस्त हुँदैजाँदा मौलिक पहिचान ओझेलमा पारिनुहुन्न ।
हाम्रा पुर्खाले पाहुनालाई ‘अतिथि देवो भवः’ भनेर मानवसेवा गरे । बटुवालाई बास बस्नका लागि पाटीपौवा एवं धर्मशाला निर्माण गरे । पशुपन्छीको पानी पिउने व्यवस्थाका लागि ठाउँठाउँमा पोखरी निर्माण गरी हिउँदमा पानी सञ्चित गरे । प्राणीकोे हित गरे । गाउँगाउँमा चौतारी निर्माण गरे । देवीदेवताका मन्दिर बनाए । पारिवारिक, संस्कार र सामाजिक मूल्य, मान्यता विस्थापित गरे । पुर्खाका यी कार्य प्रशंसनीय छन् । सामाजिक मूल्य र मान्यताबिनाको भौतिक विकासले मात्र समाज शान्त, सभ्य तथा सांस्कारिक हुन सक्दैन । त्यसैले उनीहरूले स्थापना गरेका असल मूल्य र मान्यता पुस्तान्तरण गर्नुपर्छ ।
त्यसो त, समाज परिवर्तनशील छ । अहिले विज्ञान र प्रविधि विकासले समाजका कतिपय पुख्र्यौली मूल्य र मान्यता ओझेलमा पार्ने प्रयास भइरहेको छ । आधुनिक चिन्तन विकास र जीवनशैली अनुसरण गर्दा सामाजिक मूल्य र मान्यता भुल्दै जानुपर्छ भन्ने सोचाइ अनुचित हो । पुख्र्यौली मूल्य र मान्यता बिर्सनु भनेको प्रगतिको बाटोमा अगाडि बढ्नु होइन । यो त आत्मविस्मृति हो ।
समयको छालस“गै जीवनशैली समयानुकूल बनाउँदै जानु स्वाभाविक प्रक्रिया हो । तर, मूल्यहीन परिवर्तन विनाशतर्फको यात्रा हो भन्ने समाजले बुभ्mन जरुरी छ । युवापुस्तालाई बुझाउन आवश्यक छ । पुराना सांस्कृतिक चलन अहिलेको जीवनशैलीस“ग अमिल्दा हुन सक्छन् । अवैज्ञानिक कुरा समयसापेक्ष बनाउँदै जानुपर्छ । यसो गर्दा सामाजिक मूल्य र मान्यताको विज्ञान र तर्कका आधारमा शास्त्रार्थ गरिनुपर्छ । शास्त्रको विरोध गर्नु मात्र आधुनिकता होइन, शास्त्रार्थमा देखापरेका अमिल्दा र अवैज्ञानिक कुरा समयानुकूल बनाउँदै लग्नु प्रगतिशील समाज निर्माणको यात्रा हो ।
पुख्र्यौली मूल्य भनेको केवल पुराना संस्कार, रीतिरिवाज र चालचलन होइन । यो त पुस्तौंदेखि हस्तान्तरण तथा पुस्तान्तरण हुँदै आएको नैतिक चेतना, जीवन पद्धति र सामाजिक अनुशासन हो । परिवर्तनको भेलमा पुख्र्याैली मूल्य र मान्यता भुल्नु मौलिक पहिचान मेटाउँदै जानु हो । विकासका नाममा सांस्कृतिक धरोहर तथा ऐतिहासिक सम्पदाको जरा काट्दै जानु चिन्ताको कुरा हो । यसो कदापि नगरौं ।
(लेखकको यो निजी विचार हो ।)






