काठमाडौं । नेपालको तराई भागमा बढ्दो राजनीतिक घटना र अपराधका घटनाहरूलाई कथामा बुनेर नेपाली चलचित्र ‘प्रतिवैरम’ निर्माण गरिएको छ । यो चलचित्रको सिराहा, सप्तरीको विभिन्न क्षेत्रमा छायांकन गरिएको छ ।
यो चलचित्रको छायांकन सम्पन्न भएसँगै पोस्ट प्रोडक्सनको काम सुरु गरिएको छ । चलचित्र ‘प्रतिवैरम’लाई रोशन दासले निर्देशन गरेका हुन् । यो चलचित्रको फस्ट लुक्स, (पोस्टर) पनि बुधवार सार्वजनिक गरिएको छ । मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित प्रसंगलाई यस चलचित्रको पोस्टरमा समेटिएको छ ।
चलचित्रले संघर्ष, संवेदना र विद्रोहको कथा बोकेको पनि निर्देशक दासले बताएका छन् । पछिल्लो समय मधेस प्रदेशमा सबैभन्दा बढी प्रदेश सरकार परिवर्तन हुनको पछाडिको कथा यो चलचित्रमा हेर्न पाइने निर्माण पक्षको कथन छ ।
चलचित्रलाई तराई र भारतमा प्रदर्शन गर्न अरु तीन भाषामा पनि तयार गरिँदै छ । यो चलचित्र नेपालीसँगै हिन्दी, मैथिली र भोजपुरीमा पनि तयार गरिने पनि निर्देशक दासले जानकारी गराएका छन् ।
यो चलचित्रमा सम्राट दास, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, वीरेन्द्र कुशवाहा, आलिशा बसतोला, रोन्नी यादव, विक्की शाह, नवीन श्रेष्ठ, गीता श्री, नारायण विके, आशिष डीके, प्रदीप ढकाल, बिके शाहलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
रेज इन्टरटेनमेन्टले किङ वाईटीसँगको सहकार्यमा निर्माण गरेको यस चलचित्रका लाइन प्रोड्युसर पंकज महतो र सम्पादन कबिर ओड हुन् । चलचित्रको कथा निर्देशक दास स्वयंको हो भने पटकथा युवराज भट्टराईले लेखेका छन् । चलचित्रलाई आगामी जेठमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।






