लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ८ को मनाङ्गे चौतारमा मुख्य कार्यालय रहेको मुलुकमै सहकारी ठगीको सबैभन्दा बढी अभियुक्त मुछिएको सहकारी ठगी मुद्दाका अभियुक्त सात जना फेरि प्रहरी कष्टडीमा परेका छन् । जिल्ला अदालतमा न्यायाधीश नभएको मौकामा सरकारी वलिक कृष्णचन्द्र पाण्डेले आफ्नो रमाना पत्र तयार गरेर उनीहरू विरुद्धको मुद्दा जिल्ला अदालतमा दर्ता गरेसँगै उनीहरू बुधबार साँझ प्रहरी कष्टडीमा पुगेका हुन् ।
सो मुद्दा कानुन अनुसार गत कार्तिक २१ गते नै बुझाउने पर्ने अन्तिम म्याद रहेकोमा सरकारी वकिल पाण्डेले रमाना हुनु अघि मात्र दर्ता गराउनुले अनेक अड्कलबाजी गरिएको छ ।
प्रहरी कष्टडीमा जानेमा उक्त सहकारीका सञ्चालक समितिका संस्थापक अध्यक्ष एवम् प्रवन्धक रहेका हाल ः बेसीशहर नगरपालिका– ११ का वडाध्यक्ष शिवराज जोशी, सो सहकारीका पूर्वअध्यक्ष एवम् प्रवन्धक पदम राउत, पूर्वअध्यक्ष हरिप्रसाद पौडेल, ऋण संयोजक ऋषि दवाडी, समितिका पूर्व सदस्य लेखमान खवास लागयत छन् ।
सो मुद्दामा जम्मा २११ जनालाई मात्र प्रतिवादी बनाउने काम भएको छ । तीमध्ये उक्त सहकारीका विभिन्न समयमा सञ्चालक रहेका ५३ जनामध्ये ४७ जनाउपर संगठित अपराध मुद्दा समेत लगाइएको छ । अन्य सो सहकारीका ऋणीहरू रहेको बताइएको छ । यसअघि प्रहरीले कानुनी अधिकार विपरित उनीहरूसहित १४ जनालाई अनुसन्धानको क्रममा धरौटी लिएर छाडेको थियो । यसअघि धरौटीमा छुट्नेहरूमा सो सहकारीमा हाल र लामो समयसम्म लेखा संयोजक रहेका भक्ति नमूना माविको प्रावि तहका शिक्षक थकित यात्रीसमेत रहेको र यतिबेला भने उनी फरार रहेको प्रहरी भनाइ छ ।
उक्त मुद्दाका लागि कुल विगो करिब छ करोड ८५ लाख दावी गरिएको छ भने उनी(सञ्चालक)हरू सबैका विरुद्ध संगठीत अपराध मुद्दा पनि लगाइएको छ । यसअघि सम्पत्ती शुद्धिकरणको समेत मुद्दा लगाउने भनिएकोमा त्यो भने अभियोग पत्रमा उल्लेख नभएको स्रोतले बताएको छ ।
हिजो बिहीबार सरकारी विदा छ, आज शुक्रबार भएको र जिल्ला न्यायाधीश बिदामा रहेको र उनी पुस १३ गते आइतबारमात्र कार्यालयमा हाजिर हुन आउने भएको बुझिन आएको छ । त्यसैकारण प्रहरी कष्टडीमा जानेहरूको बयान आइतबारमात्र हुनेछ ।
त्यसो त यसअघि एकै दिन आएर बयान र धरौटी बुझाएर रिहाईको सुविधा लिएका एमालेबाट निर्वाचित वडाध्यक्ष जोशी यसपटक भने कम्तिमा पाँच रात कष्टडीमा बताउनु पर्ने स्थिति उत्पन्न भएको एक कानुन व्यवसायीले बताए ।
सो सहकारीको जारी ठगी मुद्दामा प्रतिवादी बनाइएका १५८ जना ऋणीहरूलाई लेनदेन मुद्दा चलाउनु पर्नेमा सो नगरी ठगीको मुद्दा चलाउनुमा पनि राजनीतिक एवम् आर्थिक चलखेलले काम गरेको आम बुझाई रहेको छ ।






