जनकपुरधाम । जनकपुरधामको प्रादेशिक अस्पतालमा रहेको एक कोरोना संक्रमित फरार भएका छन् । सर्लाही धनकौलका ४५ वर्षीय कोरोना संक्रमित शनिबार राति नै फरार भएका हुन् । मानसिक सन्तुल ठिक नभएका कोरोना संक्रमित यसअघि पनि पटक पटक भाग्ने प्रयास गरेका थिए ।
भागेका संक्रमितको खोजी कार्य भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन सिंहले उनी कतै लुकेको हुन सक्ने बताए । उनले भने, ‘उनी मानसिक रोगी थिए, भाग्ने सक्ने स्थिति छैन, कतै लुकेको हुनसक्छ हामी खोजी गरिरहेका छौं ।’
यसअघि पनि ती संक्रमित भाग्न खोजेकोले छुट्टै कक्षमा राखिएको थियो । संक्रमित भागेको घटना सार्वजनिक पछि प्रहरीले व्यापक खोजतलास जारी राखेपनि हालसम्म फेला पार्न नसकिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
प्रादेशिक अस्पतालको अधनस्त जनकपुर नर्सिङ कलेजको होस्टेलमा ४२ बेडको कोरोना विशेष अस्पताल निर्माण गरिएको छ । सो अस्पतालमा धनुषा, महोत्तरी र सर्लाहीका कोरोना संक्रमितको उपचार भइरहेको छ । संक्रमित व्यक्ति आइसोलेसनको कोठाको झ्याल फोडेको प्रहरीको भनाइ छ । यसअघि एकजना कोरोना संक्रमित अझै फरार भउका थिए । नजिकैको एउटा गाउँबाट समाएर ल्याउनु परेको थियो ।






