काठमाडौं । नेपालमा त्रिभुवन विश्व विद्यालयले २०५९ सालबाट चलचित्रमा आधिकारिक रूपमा तत्कालीन ‘कलेज अफ फिल्म स्टडिज’बाट एकेडेमी रूपमा चलचित्र अध्यापन सुरु गरेको थियो । त्यसपछि नेपालमा चलचित्र शिक्षाको क्षेत्रले पछिल्ला वर्षहरूमा उल्लेखनीय फड्को मारेको छ ।
त्यसो त लामो समयसम्म चलचित्र अध्ययन स्नातक तहसम्म सीमित रहेको थियो । चलचित्र सम्बन्धी विषयमा नेपालमै स्नातक गरे पनि अहिलेसम्म स्नातकोत्तरको लागि विदेश जानु पर्ने बाध्यता थियो । तर अब नेपालमै चलचित्रमा स्नातकोत्तर गर्न सकिने भएको छ ।
किनकि यति बेला चलचित्र सम्बन्धी स्नातकोत्तर तहको अध्ययनसमेत नेपालमा सुरु भएको छ । काठमाडौँ विश्वविद्यालयले चलचित्रसम्बन्धी स्नातकोत्तर ( मास्टर इन फिल्म स्टडिज)को अध्यापन सुरु गरेको छ । यो सँगै नेपालमा चलचित्र शिक्षा नयाँ चरणमा प्रवेश गरेको मानिन्छ। यसले व्यावसायिक, प्राविधिक र शैक्षिक रूपमा चलचित्र क्षेत्रलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
काठमाडौँ विश्व विद्यालयले ‘मास्टर इन फिल्म स्टडिज’को लागि भर्ना खुला गरेको यसका ‘फ्याकेल्टी मेम्बर’ निर्मालमणि अधिकारीले बताएका छन् । अधिकारी र निङमा गेलु शेर्पा सहितको ‘फ्याकेल्टी टिम’ले चलचित्र अध्ययन सम्बन्धी स्नातकोत्तरको पाठ्यक्रम तयार गरेर विद्यार्थी भर्नाको समेत आह्वान गरेको छ । पहिलो ब्याचमा १० जनासम्म मात्र पढ्न मिल्ने यो अध्यापनमा विद्यार्थी संख्या बढाउँदै लैजान योजना सो विश्व विद्यालयको रहेको छ ।

निर्मालमणि अधिकारीका अनुसार यसअघि नेपालमा चलचित्र अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि स्नातक तहसम्मको अवसर मात्र उपलब्ध थियो। स्नातकोत्तर अध्ययनका लागि इच्छुक विद्यार्थीहरू भारत, युरोप वा अन्य मुलुक जान बाध्य थिए। काठमाडौँ विश्वविद्यालयले स्वदेशमै चलचित्रमा मास्टर कार्यक्रम सञ्चालनमा ल्याएपछि यस्तो बाध्यता घट्ने विश्वास निर्मलमणिको रहेको छ । अर्का सदस्य शेर्पाका अनुसार विश्वविद्यालयले चलचित्र निर्देशन, पटकथा लेखन, छायांकन, सम्पादन, ध्वनि, चलचित्र अध्ययन र अनुसन्धानजस्ता विषयमा उच्च तहको ज्ञान र सीप प्रदान गर्ने लक्ष्य लिएको छ ।
नेपालमा चलचित्र शिक्षाको आधार तयार गर्न महत्त्वपूर्ण भूमिका खेलेका संस्थामध्ये ओस्कार इन्टरनेशनल कलेज अफ फिल्म स्टडिज अग्रणी मानिन्छ। यो कलेजले विगत २२ वर्षदेखि निरन्तर रूपमा चलचित्रमा स्नातक तहको अध्ययन गराउँदै आएको छ । यहाँ निर्देशन, अभिनय, छायांकन, सम्पादन, ध्वनि डिजाइनलगायत विषयमा व्यावहारिक र सैद्धान्तिक शिक्षा प्रदान गरिन्छ । काठमाडौँको सुकेधारमा रहेको यस कलेजबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थीहरू नेपाली चलचित्र उद्योगमा सक्रिय रूपमा कार्यरत छन् ।
यस कलेजका प्रिन्सिपल एवम् चलचित्र निर्देशक राम राजा दाहालका अनुसार ओस्कारले समेत चलचित्रमा स्नातकोत्तर अध्यापनको तयारी गर्दै थियो । अर्को वर्षसम्म त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेर चलचित्रमा स्नातककोत्तर अध्यापन अघि बढाउने तयारी हुँदै थियो । तर यता काठमाडौँ विश्वविद्यालयबाट स्नातकोत्तरको अध्यापन सुरु गर्न थालिएपछिको अवस्था’bout बुझेर अघि बढ्ने पनि प्रिन्सिपल दाहालको कथन छ ।
तथापि चलचित्रमा स्नातकदेखि स्नातकोत्तर तहसम्मको अध्ययन सुरु हुनु नेपाली चलचित्र उद्योगका लागि सकारात्मक संकेत भएको प्रिन्सिल राम राजाले राजधानीलाई बताए । यसले दक्ष, सैद्धान्तिक रूपमा सक्षम र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा सहयोग पु¥याउने अपेक्षा उनले गरेका छन् । साथै, चलचित्रलाई केवल मनोरञ्जनको माध्यम मात्र नभई अध्ययन, अनुसन्धान र सिर्जनात्मक उद्योगका रूपमा विकास गर्न यो कदम महत्त्वपूर्ण मानिने पनि उनले बताएका छन् ।
त्यस्तै, नेपाल फिल्म क्याम्पसले पनि पछिल्लो सात वर्षदेखि चलचित्रमा स्नातक तहको अध्ययन सञ्चालन गर्दै आएको छ । यस क्याम्पसले सरकारी तथा शैक्षिक संरचनाभित्र रहेर चलचित्र शिक्षालाई अघि बढाइरहेको यस क्याम्पसका सञ्चालक एवम् चलचित्र निर्देशक सुवास कोइरालाले बताए । उनका अनुसार सो क्याम्पसमा अहिले विधाथीृहरुको सहभागिता राम्रो रहेको छ । यहाँ पढाइ सँगसँगै अनुसन्धान, अभिलेखीकरण र चलचित्र अध्ययनमा जोड दिइँदै आएको पनि उनले बताए । जसले नेपाली चलचित्रको इतिहास र विकासलाई शैक्षिक रूपमा समेट्न सहयोग पु¥याएको क्याम्पसका सञ्चालक कोइरालाको कथन छ ।
यीबाहेक नेपालमा चलचित्रसम्बन्धी अध्ययन गराउने अन्य संस्थाहरू पनि क्रियाशील छन्। एभरेस्ट फिल्म एकेडेमीले विगत एक दशक देखि चलचित्र सम्बन्धी अध्यापन गराउँदै आएको छ । यसले अहिले एक वर्षको चलचित्र सम्बन्धी डिप्लोमा कोर्स गराउँदै आएको यसका सञ्चालक एवम् अग्रज कलाकार सुनिल थापाले जानकारी गराएका छन् ।
यस्तै अनामनगरमा रहेको अडियो भिजुअल साइन्सेस एकेडेमी (आभास)ले पनि दुई दशक भन्दा लामो समयदेखि चलचित्र शिक्षा प्रदान गर्दै आएका छ । यसले तीन महिनाको डिप्लोमा कोर्स चलचित्र सम्पादन, छायांकन, लेखन र निर्देशनमा सञ्चालन गर्दै आएको छ ।
केही वर्ष यताबाट कान्तिपुर फिल्म एकेडेमीले पनि विभिन्न तह र विधामा चलचित्र शिक्षा प्रदान गर्दै आएको छ । यी संस्थाहरूले छोटो तथा लामो अवधिका तालिम, डिप्लोमा र स्नातक स्तरीय कार्यक्रममार्फत दक्ष जनशक्ति उत्पादनमा योगदान दिइरहेको यसका सिइओ प्रकाश पुरीले राजधानीलाई जानकारी गराए ।







