प्रधानमन्त्रीको भारत भ्रमण : घोषणाका चाङ, ओझेलमा राष्ट्रिय मुद्दा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री फेरिएपिच्छे छिमेकी भारतबाटै राजकीय भ्रमण सुरु गर्ने परम्परालाई निरन्तरता दिएका शाहले भ्रमणको तयारी र औपचारिकतामा भने केही स्थापित मानक भत्काए ।

भारत जानुअघि विगतमा गरिने परम्परागत कूटनीतिक छलफल र अभ्यासलाई छोट्याए । प्रथम महिलालाई समेत भ्रमण टोलीमा सहभागी गराएनन् । यसबाट उनले मितव्ययिताको सन्देश दिन खोजे पनि ३५ सदस्यीय सरकारी टोलीको खर्चका तुलनामा प्रथम महिलाको सहभागिताले थप्ने खर्च नगण्य हुने विषय भने बहसमा रह्यो ।

भ्रमणका क्रममा भएका सहमतिले दुई देशबीच आर्थिक सहकार्य र कनेक्टिभिटी विस्तारको आशा जगाएका छन् । भारतले २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहायता प्याकेज उपलब्ध गराउने सहमति गरेको छ । यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण सुविधा हो । दुई समुद्री बन्दरगाह उपयोग गर्ने, भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने, ऊर्जा तथा पूर्वाधार आयोजना अघि बढाउने र आठवटा समझदारीपत्रमा हस्ताक्षर गर्ने उपलब्धि भ्रमणका सकारात्मक पक्ष हुन् । तल्लो अरुणको शिलान्यास, जनकपुर–अयोध्या रेल सेवा उद्घाटन र पेट्रोलियम पूर्वाधारमा सहकार्यले पनि सम्भावनाका नयाँ ढोका खोलेका छन् ।

तर, भ्रमणका उपलब्धिसँगै उठेको मुख्य प्रश्न हो–नेपालले लामो समयदेखि उठाउँदै आएका राष्ट्रिय सरोकारका मुद्दामा प्रधानमन्त्रीले के उठाए नेपालले के पायो ?

विशेषगरी नेपालको चुच्चे नक्सा, कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको दाबी तथा शाह स्वयंले विगतमा दिएको विवादास्पद अभिव्यक्ति’bout नेपाली जनताले भ्रमणबाट जवाफको अपेक्षा गरेका थिए ।

भारतले नेपालको नयाँ नक्सा अस्वीकार गर्दै आएको छ । शाहले पनि विगतमा नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए । त्यसलाई सच्याउन दबाब पर्दासमेत उनले स्पष्ट धारणा दिएका छैनन् । भारत भ्रमणमा न उनले आफ्नो अभिव्यक्ति’bout स्पष्टीकरण दिए, न सीमा विवादलाई प्रमुखताका साथ उठाए । भारतीय पक्ष पनि यस विषयमा मौन रह्योे ।

सीमा विवादमा मौनता मात्रै होइन, नेपालको प्राथमिकताका अन्य विषयमा पनि भ्रमणले अपेक्षित परिणाम दिन सकेन । भैरहवाबाहेक महेन्द्रनगरको एल–६२६, नेपालगञ्ज र जनकपुरका लागि थप हवाई प्रवेशमार्गमा सहमति जुटेन । नेपालले मागेको गुजरातस्थित मुन्द्रा बन्दरगाहको पहुँच पनि प्राप्त भएन ।

व्यापार घाटा घटाउने, नेपाली उत्पादन निर्यातमा देखिएका गैरभन्सार अवरोध हटाउने, प्रयोगशाला परीक्षणको आपसी मान्यता र भारतीय मानक ब्युरो (बीआईएस) प्रमाणपत्रसम्बन्धी समस्या समाधान गर्ने विषयमा ठोस सहमति हुन सकेन । कालापानी–लिपुलेकको सीमा विवाद, ईपीजी प्रतिवेदन र अग्निपथ योजनाजस्ता विषय पनि अनिर्णीत नै रहे ।

जेनजी आन्दोलनपछि सत्ता परिवर्तन भएको अवस्थामा भारतसँग उच्चस्तरीय संवाद र राजनीतिक विश्वास पुनर्बहाली हुनु प्रसंसनीय छ । गत भदौको विनाशकारी बाढीपहिरोपछि पुनर्निर्माणका लागि सहयोग जुटाउनु नेपालको आवश्यकता थियो । यसमा भारतको सदाशयता प्रसंसायोग्य छ ।

आईआईटी क्याम्पस, डिजिटल सुशासन, स्याटेलाइट सञ्चार, स्टार्टअप, स्वास्थ्य र कृषि क्षेत्रमा सहकार्यका सम्भावना खुलेका छन् । तर, सहायता प्याकेजको ठूलो हिस्सा ऋण भएकाले त्यसको सर्त, ब्याजदर, परियोजना छनोट र आर्थिक प्रतिफलमा शंका छ । ऋण लिएर आयोजना घोषणा गर्नु उपलब्धि होइन, त्यसबाट मुलुकले प्रतिफल पाउनु मात्र उपलब्धि हो ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, रक्सौल–काठमाडौं रेलमार्ग र हवाई प्रवेशमार्गजस्ता विषय वर्षौंदेखि द्विपक्षीय छलफल र प्रतिबद्धतामा सीमित छन् ।

नयाँ पुस्ताको आन्दोलनपछि बनेको सरकारले राष्ट्रियतासँग जोडिएका पुराना मुद्दामा कस्तो अडान लिन्छ भन्ने प्रश्नको जवाफ पनि भ्रमणले दिन सकेन । हक्की स्वभाव र राष्ट्रियताप्रतिको प्रतिबद्धताको छवि बनाएका प्रधानमन्त्रीले संवेदनशील मुद्दामा मौनता रोज्नुले उनको कूटनीतिक प्राथमिकतामाथि प्रश्न उठाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीको भारत भ्रमण : घोषणाका चाङ, ओझेलमा राष्ट्रिय मुद्दा