काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर्स अन्तर्गत समूह ‘बी’को खेलमा घरेलु टिम नेपाललाई २ रनले पराजित गर्दै नेदरल्यान्ड्स सुपर सिक्समा प्रवेश गरेको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रनमा सीमित रह्यो । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा नेपालले १० रन मात्र जोड्न सक्यो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डी लीडीले सर्वाधिक ४९ रन बनाइन् । उनले ४७ बलमा ७ चौका प्रहार गर्दै तेस्रो विकेटका लागि स्टेअर कालिससँग ७९ रनको महत्वपूर्ण साझेदारी गरिन् । कालिसले ३० रन बनाइन् । रोबिन रिज्के १९ र इरिस विलिङ १४ रनमा अविजित रहे ।
नेपालका लागि बलिङतर्फ रुबिना क्षेत्रीले सर्वाधिक २ विकेट लिइन् । सुमन विष्ट, पूजा महतो र रिया शर्माले १–१ विकेट लिए ।
जवाफमा ब्याटिङ गरेको नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३७ रन बनाइन् । उनले ३२ बलमा ५ चौका प्रहार गरिन् । सीता राना मगरले १२ बलमा ४ चौका र १ छक्का सहित २७ रनको अविजित इनिङ खेल्दै रुबिनालाई राम्रो साथ दिइन् । यी दुईले आठौं विकेटका लागि ४५ रनको अविजित साझेदारी गरे पनि जितसम्म पु¥याउन सकेनन् ।
ओपनरद्वय विन्दु रावल (१८) र सम्झना खड्का (१४) सस्तैमा आउट हुँदा नेपाल सुरुदेखि नै दबाबमा परेको थियो । पावरप्लेमा नेपालले २ विकेट गुमाउँदै ४५ रन बनाएको थियो । मध्यक्रम भने फेरि पनि चल्न सकेन । पूजा महतो ८, कप्तान इन्दु बर्मा ६, काजल श्रेष्ठ ४, कविता जोशी १३ र कविता कुँवर १ रनमा आउट भइन् ।
नेदरल्यान्ड्सका लागि इसावेल भान वोनिङले सर्वाधिक ३ विकेट लिइन् भने सिल्भर सिगर्स, रोबिन रिज्के र कारोलिन डी लाङ्गेले १–१ विकेट हात पारिन् ।
यससँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको छ । नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्स भने जिम्बावे र स्कटल्यान्डलाई हराउँदै अपराजित रहँदै सुपर सिक्समा पुगेको छ ।






