लन्डन । इंग्लिस क्लब आर्सनल पनि ब्राजिली स्टार फिलिप कौटिन्होको अनुबन्धको दौडमा देखिएको छ । जर्मन क्लब बायर्न म्युनिखबाट लोनमा खेलिरहेका स्पेनिस बार्सिलोनाका खेलाडी अनुबन्धको दौडमा आर्सनल पनि उभिएको हो ।
कौटिन्होलाई यो सिजनको अन्त्यसँगै बायर्नले बार्सिलोनामा फिर्ता पठाउँदै छ । बार्सिलोनामा कौटिन्होको सम्झौता अझै तीन वर्ष बाँकी रहे पनि बेच्ने पक्का निर्णय गरिसकेको छ । आर्सनल प्रशिक्षक मिकेल आर्टेटाले कौटिन्होलाई अनुबन्ध गर्न चाहेको बताएका छन् । अब कौटिन्हो अनुबन्धमा आर्सनलको सहरी प्रतिद्वन्द्वी चेल्सीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । कौटिन्हो २०१७ मा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना पुगेका थिए ।
बार्सिलोनामा कौटिन्होले सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि उनलाई लोनमा बायर्न पठाइएको थियो । आर्सनलले २७ वर्षिया मिडफिल्डरका एजेन्टसँग कौटिन्होको सम्भावित गन्तव्यको विषयमा छलफल गरिरहेको छ । आर्सनल प्रशिक्षक अर्टेटाले आफू कौटिन्होलाई अनुबन्ध गर्न अत्यन्त इच्छुक रहेको बताउँदै आएका छन् ।
लिभरपुलमा चार सिजन बिताउदा आफूलाई युरोपकै आक्रमक मिडफिल्डरको रूपमा स्थापित गरेका कौटिन्हो १ सय ४२ मिलियन पाउन्डमा बार्सिलोना पुगेका थिए । लिभरपुलमा कौटिन्होले उनले १ सय ५२ खेलमा ४१ गोल गरेका थिए ।






