काठमाडौं । नेपालमा पहिलोपटक प्रतियोगितात्मक गाई प्रदर्शनी हुने भएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलनमार्फत चितवनको भरतपुरमा ‘पहिलो अन्तरराष्ट्रिय डेरी एक्स्पो २०८२’ अन्तर्गत प्रतियोगितात्मक गाई प्रदर्शनी गर्न लागिएको आयोजक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले जानकारी दिए ।
चितवन उद्योग सङ्घ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको संयुक्त आयोजनामा यही माघ २५ देखि २९ गतेसम्म अन्तरराष्ट्रिय डेरी एक्स्पो २०८२ आयोजना हुन लागेको र सोही कार्यक्रममा गाई प्रदर्शनी गरी पुरस्कार प्रदान गर्न लागिएको हो ।
बगालेले भने, “देशभरबाट गाई ल्याउनका लागि किसानहरुलाई अनुरोध गरिएको छ, त्यसमा आकर्षक, तथा गाईका लागि आवश्यक आहारविहार, स्वास्थ्य अवस्था सबै हेरेर प्रतियोगितात्मक गाई प्रदर्शनी गर्न लागिएको हो । पहिलो अनुभव हो, यसबाट गाईपालन प्रवद्र्धनका साथै नेपालमा पनि उन्नतस्तरका गाईहरु छन् भनेर देखाउन खोजिएको छ ।”
प्रतियोगितामा विजयी हुने गाईपालक किसानले रु २० हजार, दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुनेले रु १० हजार नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
अध्यक्ष बगालेले डेरीका उत्पादन र उद्यमशीलता प्रवद्र्धन, डेरी उत्पादन प्रक्रिया र वितरणमा नवीनतम प्रविधि तथा अभ्यासलाई प्रोत्साहित गर्दै साना किसान, उद्योगी र व्यापारीलाई व्यावसायिक सञ्जाल, तालिम, अनुदान र उद्यमशीलताको अवसर प्रदान, गुणस्तर र जागरूकता वृद्धि, उपभोक्तालाई डेरी उत्पादनको महत्व बुझाउन पहिलोपटक अन्तरराष्ट्रिय प्रदर्शनी गर्न लागिएको जानकारी दिए ।
यसमा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान र भुटानका उत्पादन र प्रविधिको समेत प्रदर्शनी हुने जनाइएको छ ।
सम्बन्धित समाचार
स्याउ बगैँचा व्यवस्थापनमा जुटे जुम्लाका किसान
जङ्गली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु, दुई जना घाइते
जुम्लाका उत्पादन पूर्वी नेपालसम्म पुर्याउँदै तीर्थबहादुर
सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो






