३ दिन हिमपात र हिमपहिरोको जोखिम, पदयात्रा नगर्न आग्रह

काठमाडौं । मौसम प्रतिकूल हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने चेतावनीपछि अध्यागमन विभागले तीन दिन पदयात्रा नगर्न तथा नगराउन आग्रह गरेको छ ।

विभागले १२, १३ र १४ कात्तिकमा उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित क्षेत्रमा पदयात्रा स्थगित गर्न र पदयात्रामा रहेकालाई सुरक्षित स्थानमा बस्न निर्देशन दिएको हो ।

विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले मंगलबार जारी गरेकोसूचनामा उक्त अवधिका लागि निषेधित क्षेत्रमा जाने नयाँ पदयात्रा अनुमति जारी गर्नसमेत रोक लगाइएको उल्लेख छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वचेतावनीका आधारमा सम्भावित जोखिमबाट पर्यटक तथा पदयात्रामा संलग्न जनशक्तिलाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको विभागले जनाएको छ ।

अनुमति लिइसकेका पदयात्रीलाई समेत १२ देखि १४ कात्तिकसम्म पदयात्रा नगर्न अनुरोध गरिएको छ । पदयात्रामा निस्किसकेका पर्यटक, पथप्रदर्शक तथा सहयोगीलाई जोखिमयुक्त बाटोमा अगाडि नबढी सुरक्षित ठाउँमा आश्रय लिएर बस्न भनिएको छ ।

ट्रेकिङ एजेन्सी, स्वदेशी तथा विदेशी पदयात्री, गाइड र पर्यटन क्षेत्रका अन्य सरोकारवालालाई निर्देशन कडाइका साथ पालना गर्न र गराउन विभागले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालमा मौसम प्रभावित हुने सम्भावना छ । विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुन सक्नेछ ।

कात्तिक १३ र १४ गते केही स्थानमा भारी वर्षा, चट्याङ र तीव्र हावाहुरीको सम्भावना पनि छ । कर्णाली र सुदूरपश्चिमका केही स्थानमा समेत वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

मौसम प्रणालीका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको विभागले जनाएको छ । वर्षा र हिमपातले पदमार्ग, सडक तथा हवाई आवागमन प्रभावित हुन सक्ने र पहाडी क्षेत्रमा पहिरो तथा आकस्मिक बाढीको जोखिम बढ्न सक्ने चेतावनीसमेत दिइएको छ ।

यसअघि मनसुन बाहिरिएपछि देशका धेरै क्षेत्रमा मौसम सफा भएको थियो । तर बंगालको खाडीमा विकसित प्रणालीका कारण साताको अन्त्यतिर फेरि वर्षा र हिमपातको सम्भावना बढेको मौसमविद्हरूले बताएका छन् । मौसमको अवस्था परिवर्तन हुन सक्ने भएकाले पदयात्रु, किसान र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आधिकारिक पूर्वानुमान तथा सूचनामा ध्यान दिन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

स्थापनाको ३०औँ वर्षमा आर्य फार्माल्याब एनपीएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग तीनवर्षे सहकार्य