कलैया उपमहानगरपालिकाको शिक्षा शाखामा जिम्मेवारी विवाद

कलैया । कलैया उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाको नेतृत्व जिम्मेवारीलाई लिएर विवाद उत्पन्न भएको छ। शिक्षा क्षेत्रका विज्ञ हुँदाहुँदै पनि पूर्व निमित्त प्रमुख तथा जिन्सी शाखाका कर्मचारीलाई शिक्षा शाखाको जिम्मेवारी दिइएको भन्दै स्थानीय शिक्षकहरूले असन्तुष्टि जनाएका छन्।

स्थानीय शिक्षकहरूका अनुसार शिक्षा क्षेत्रका विज्ञ विजय अधिकारीलाई जिम्मेवारी नदिई राजिव यादवलाई शिक्षा शाखाको प्रमुख बनाइएको हो। यादव यसअघि देवताल गाउँपालिकामा प्रमुख प्रशासनिक अधिकृत तथा जिन्सी प्रमुखका रूपमा कार्यरत थिए।

नगर प्रमुख विनोद प्रसाद साहको निर्देशनमा यादवलाई जिम्मेवारी दिइएको शिक्षकहरूको दाबी छ। आर्थिक लाभको अपेक्षामा मेयर साहले यादवलाई शिक्षा शाखामा ल्याएको आरोप पनि कर्मचारीहरूले लगाएका छन्। नाम नछाप्ने सर्तमा एक कर्मचारीले भने, “यादव स्थानीय भएकाले कमिसन संकलन गर्न सजिलो हुने र मेयरसँग मिलेर काम गर्न सहज हुने अनुमानमा उनलाई जिम्मेवारी दिइएको हो।”

शिक्षकहरूका अनुसार शिक्षा शाखाबाट विद्यालयलाई दिइने विभिन्न शीर्षकका रकमसमेत बिना कमिसन निकासा नहुने अवस्था सिर्जना भएको छ। “शिक्षा प्रमुख यादवको सहमति बिना कुनै विद्यालयले रकम निकासा पाउन सकेको छैन,” एक शिक्षकले बताए।

यता मेयर साहले भने आफू कहाँ शिक्षा शाखा सम्बन्धी धेरै गुनासाहरू आएको स्वीकार गरेका छन्। उनले विषयप्रति गम्भीर भएर छानबिन थालेको र चाँडै समस्या समाधान गर्ने बताएका छन्।

स्थानीय शिक्षकहरूले शिक्षा शाखामा विज्ञ व्यक्तिलाई नै जिम्मेवारी दिनुपर्ने माग गर्दै पारदर्शिता र सुशासन सुनिश्चित गर्न नगरपालिकाको ध्यानाकर्षण गराएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

epaper

ताजा समाचार

ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न लिए सिफारिस