इटहरी । कोशी प्रदेशमा माघ महिनामा मात्रै ५ सय ७९ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ५४ जनाको मृत्यु भएको छ भने ८ सय ७७ जना घाइते भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार घाइते सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो । ट्राफिक प्रहरीको पछिल्लो विश्लेषणले अधिकांश दुर्घटना चालककै कारण भएको देखाएको छ । डीएसपी श्रेष्ठका अनुसार एक महिनामा भएका दुर्घटनामध्ये ४ सय ३७ वटा (७५.५५ प्रतिशत) दुर्घटना चालकको लापरबाहीका कारण भएका हुन् ।
ट्राफिक नियम उल्लंघन, गलत तरिकाले ओभरटेक, तीव्र गति, मादक पदार्थ सेवन (मापसे) तथा चालकको असक्षमता दुर्घटनाका प्रमुख कारण रहेको उनले बताए । यस्तै, यान्त्रिक गडबडी, ओभरलोड, ब्रेक फेल र टायर पन्चरलगायत सवारीसाधनका कारण ३५ वटा (६ प्रतिशत) दुर्घटना भएका छन् । यात्रुका कारण ६२ वटा (१०.७ प्रतिशत), सडक अवस्थाका कारण ३९ वटा (६.७ प्रतिशत), मौसमका कारण ३ वटा (०.५ प्रतिशत) र चौपायाका कारण पनि ३ वटा (०.५ प्रतिशत) दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
श्रेष्ठका अनुसार चालकको लापरबाहीबाट हुने दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ । कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सक्रियता बढाइएको बताए । उनका अनुसार माघ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ७ हजार ८ सय ४१ सवारीसाधन कारबाहीमा परेका छन् ।
उक्त कारबाहीबाट ७९ लाख २७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । साथै, पछिल्लो एक महिनामा कोशीका समुदाय र शैक्षिक संस्थालाई केन्द्रित गरी १ हजार ४ सय ५१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । ‘ट्राफिक सचेतना तथा सडक प्रयोग सम्बन्धी अभिमुखीकरण’ नाम दिइएको कार्यक्रममार्फत २८ हजार ७ सय ९७ जनालाई ट्राफिक नियम पालना’bout प्रशिक्षण दिइएको एसपी गिरीले जानकारी दिए । दुर्घटना न्यूनीकरणका लागि समुदाय, शैक्षिक संस्था तथा सरोकारवालासँग समन्वय गरेर सचेतनामूलक कार्यक्रमलाई अझ तीव्र बनाइने र सडकमा ट्राफिक प्रहरीको सक्रियता थप बढाइने गिरीले बताए ।






