काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न नपाइने स्पष्ट पारेका छन् । १० औँ निर्वाचन दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले निर्वाचन आचारसंहिताले मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्न निषेध गरेको बताए ।
उनले कुनैपनि प्रेससँग सम्बन्धित व्यक्ति वा संस्थाले मत सर्वेक्षण गरेर ‘फलानो उम्मेदवार जित्यो’ वा ‘फलानो हार्यो’ भनेर अग्रिम घोषणा गर्न नपाइने उल्लेख गरे । उनकाअनुसार हाल निर्वाचनको लागी सामाजिक सञ्जाल र प्रेस जगत सबैभन्दा पेचिलो विषय बनेको छ । केही अनलाइन माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले संविधानको धारा १९ अनुसार अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित गरिएको गुनासो गर्दै आयोगसमक्ष विषय उठाएको भएपनि पूर्वसन्ध्यामा मत सर्वेक्षण गरी परिणाम घोषणा गर्दा अन्य प्रतिस्पर्धीको मनोबल घट्ने र मतदातामा भ्रम तथा प्रभाव पर्नसक्ने भएकाले यस्तो कार्य कारबाहीको विषय बन्ने उनले स्पष्ट पारे ।
निर्वाचन आयोगले यस विषयमा शून्य सहनशीलताको नीति अपनाएको उनको भनाई छ । उनले सञ्चारमाध्यम तथा संवद्ध व्यक्तित्वहरूलाई मत सर्वेक्षण नगर्न पनि आग्रह गरे । उनले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेको उल्लेख गर्दै आयोगले यस सम्बन्धमा अध्ययन तथा अनुसन्धान गरिरहेको जानकारी दिए ।
सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्ने वा कसैलाई अतिरञ्जित रूपमा प्रस्तुत गर्ने कार्य गर्न नहुने उनको भनाइ छ ।
उनले भने ‘अहिलेको सन्दर्भमा सबैभन्दा पेचिलो विषयवस्तु भनेको सामाजिक सञ्जाल र प्रेस जगत हो । कुनै पनि प्रेससँग सम्बन्धित व्यक्ति तथा संस्थाहरूले निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गरेर फलानोले जित्यो र फलानोले हार्याे भनेर अग्रिम घोषणा गर्न पाइँदैन । यो आचारसंहिताले निषेध गर्दछ । केही अनलाई तथा सामाजिक सञ्जाल चलाउने व्यक्तिहरूले संविधानको धारा १९ बमोजिम हामीले गर्न पाउने हक किन कुण्ठा गर्छौँ भन्ने लगायतका विषयवस्तुहरू पनि उहाँहरूले निर्वाचन आयोगमा प्रवेश गराउनुभएको छ ।’
उनले सामाजिक सञ्जालमा आएका सबै विषयवस्तुलाई सही नठान्न पनि आग्रह गरे । उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पनि अनावश्यक विषयवस्तु प्रचारप्रसार नगर्न आग्रह गरे । निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्ने उल्लेख गर्दै उनले आचारसंहिता पालना नगरे सबै कारबाहीको भागिदार हुनुपर्ने बताए ।









