महोत्तरी । महोत्तरीमा बिहीबार १७ जना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या २६ पुगेको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका परीक्षणमा संक्रमण फेला परेको बताए ।
१६ जना पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । उनका अनुसार बिहीबार पुष्टि भएका सबै संक्रमितहरु भारतबाट फर्किएका हुन । १२ जना जलेश्वरको राविम क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका तथा ५ जलेश्वरका रहेका छन् ।
यसअघि भंगहा नगरपालिकाका १ जना, मनरासिस्वा नगरपालिकाका १ जना जलेश्वर नगरपालिकाका ४ जना, बलवा नगरपालिकाका एक जना नेपालीका २ जना संक्रमित भएका थिए । ती मध्ये तीन जनाको आरडीटी रिपोर्ट पोजिटिभ आए पनि पीसीआर परीक्षणको रिपोर्ट आइसकेको छैन ।
संक्रमितमध्ये पाँच जनाको कोरोना अस्पताल जलेश्वर दुई जना काठमाडौंस्थित सशस्त्र प्रहरीको कोरोना अस्पताल र २ जनाको करोना अस्पताल जनकपुरमा उपचार भइरहेको छ । हालसम्म आरडीटीबाट ४ सय र पीसीआर विधिबाट २ सय ६० नमूना परीक्षण भएका छन् ।
तर यता महोतरीमा कोरोना भाइरस संक्रमितको कन्टयाक्ट ट्रेसिङमा लापर्बाही देखिएको छ । अहिलेसम्म उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गरी सम्पर्कमा आएकाको कोरोना परीक्षणमा कसैको ध्यान पुगेको छैन । जिल्लाभित्र र बाहिर पुष्टि भएका कसैको पनि कन्टयाक्ट ट्रेसिङ भएको छैन । जसका कारण संक्रमण भयावह बन्न सक्ने सरोकारवालाले चेतावनी दिएका छन् ।






