भोजपुर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा भोजपुर जिल्लामा उम्मेदवारहरू आ–आफ्नो चुनावी एजेण्डा र प्रतिबद्धतासहित मतदाता रिजाउन सक्रिय देखिएका छन् । उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवारहरू गाउँ–गाउँ, टोल–टोलमा पुगेर प्रत्यक्ष संवाद, घरदैलो, भेटघाट, भेला तथा छलफल कार्यक्रममार्फत मतदातासँग नजिकिन थालेका छन् ।
उम्मेदवारहरू विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई मुख्य चुनावी एजेण्डा बनाएर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
यसपटकको निर्वाचनमा भोजपुर जिल्लाबाट १२ वटा राजनीतिक दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । उनीहरूले आफ्नो दलको नीति, कार्यक्रम र जिल्लाको विकासमा पु¥याउने योगदान’bout मतदातालाई जानकारी गराउँदै चुनाव जित्ने आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।
विगतमा थालिएका योजनाको पूर्णतासँगै जिल्लाको विकास एंव लोकतन्त्र र संविधानको रक्षा तथा सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको नेकपा (एमाले) का उम्मेदवार शेरधन राईले बताए । एमालेको केन्द्रीय सचिव तथा पूर्वमुख्यमन्त्रीसँगै विभिन्न जिम्मेवारी सम्हाली सकेकाले जिल्लामा उनलाई हेभ्भी ओवट उम्मेदवारका रुपमा हेरिएको छ ।
यस्तै, भोजपुरको विकाससँगै देशमा विद्यमान भ्रष्टाचारको अन्त्य गर्दै सुशासन प्रवद्र्धनमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अजम्बर राई काङमाङले व्यक्त गरे । उनले जनताको भरोसा र सहभागिताबाट मात्रै राजनीतिक प्रणालीमा सुधार सम्भव हुने धारणा राखे ।
जनताको आवाजलाई संसदसम्म पु¥याएर जिल्लाको दीर्घकालीन विकासका लागि पहल गर्ने उद्देश्यले आफू उम्मेदवार बनेको श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले बताए । उम्मेदवारहरूले वैकल्पिक राजनीतिक सोच, श्रमको सम्मान, पारदर्शी शासन प्रणाली, जवाफदेहिता र प्रणालीगत सुधारलाई प्राथमिकतामा राख्दै प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा निर्वाचन नजिकिँदै जाँदा स्थानीय तहदेखि संघीय तहसम्मका राजनीतिक नेतृत्वको भूमिका, विगतमा भएका विकासका काम, अधुरा योजना र आगामी दिनमा जिल्लालाई कसरी अघि बढाउने भन्ने विषयमा मतदाताबीच बहस सुरु भएको छ ।











