गुल्मी–१, आलोपालोको निरन्तरता कि ब्रेक ?

गुल्मी । प्रतिनिधिसभाको निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर १ आलोपालोको क्षेत्र भनेर चिनिन्छ । किनकि यहाँ कांग्रेसबाट चन्द्र भण्डारी र एमालेबाट प्रदीप ज्ञवाली आलोपालो निर्वाचित हुँदै आएका छन् ।

एमालेका ज्ञवालीले २०५६ सालमा नै कांग्रेसका चन्द्रबहादुर केसीलाई हराउँदै साबिक गुल्मी–२ बाट संघीय संसदमा आङ्खनो उपस्थिति जनाएका थिए । त्यसपछि २०६४ को निर्वाचनयता कांग्रेसबाट चन्द्र भण्डारी र एमालेबाट ज्ञवाली निरन्तर प्रतिस्पर्धामा छन् । अझ रोचक कुरा त के छ भने भण्डारी र ज्ञवाली आलोपालो निर्वाचित हुँदै आएका छन् ।

२०६४ मा एमालेका ज्ञवाली, २०७० मा कांग्रेसबाट भण्डारी, २०७४ मा एमालेबाट ज्ञवाली एवं २०७९ सालमा कांग्रेसबाट भण्डारी निर्वाचित भएका छन् । २०७० पछि गुल्मीमा दुईवटा निर्वाचन क्षेत्र कायम भएकाले ज्ञवाली र भण्डारीको निर्वाचन क्षेत्र १ रहँदै आएको छ । २०७४ मा बाम गठबन्धन हुँदा ज्ञवालीलाई र २०७९ मा पाँचदलीय गठबन्धन हुँदा भण्डारीलाई साबिक माओवादी अर्थात् हालको नेपाली कम्युनिस्ट पार्टीको साथ रहेको थियो ।

यसपटक भने नेपाली कम्युनिस्ट पार्टीबाट सुदर्शन बराल र राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल पनि सोही क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दा आलोपालोमा ब्रेक लाग्न सक्ला भन्ने बहस हुन थालेको छ ।

नेपाली कम्युनिस्ट पार्टीका सुदर्शन बराल २०६४ मा साबिक गुल्मी–१ बाट विजयी भएका थिए । त्यसपछि ०७४ मा प्रदेशसभामा विजयी भई लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रीसमेत भएकाले उनको पनि छवि राम्रो छ । ‘मन्त्री हुँदा राम्रो काम गरेको, अहिलेसम्म कुनै दाग नलागेको र सबै ठाउँमा पार्टी संरचना भएकोले अहिलेको निर्वाचन नेकपाले जित्छ,’ नेकपा नेतृ गीता थापाले भनिन्, ‘यसपटक आलोपालो भन्ने भ्रम तोडिन्छ ।’

उनले १२ वर्षपछि आफूहरूले आङ्खनै चुनाव चिन्हमा मतदान गर्न पाउँदा कार्यकर्तामा उत्साह छाएको बताइन् । २०७० पछि गठबन्धनका कारण साबिक माओवादीका कार्यकर्ताले आङ्खनै चुनाव चिन्हमा मतदान गर्न पाएका थिएनन् ।

यसपटक रास्वपा पनि गुल्मी–१ मा चुनाव जित्ने दाउमा छ । उसले गत निर्वाचनमा डडेलधुरामा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका सागर ढकाललाई उम्मेदवार बनाएको छ । नेता भोजराज पाण्डेले गुल्मी–१ मा करिब ३ हजार मतान्तरले निर्वाचन जित्ने दाबी गरे । ‘निरन्तर घरदैलो, भेटघाट एवं टोलभेलामा ध्यान दिएका छौं,’ पाण्डेले भने, ‘यसपटक पुराना दलहरूको विरासतलाई तोड्न चाहन्छौं ।’
उनले पुराना दलहरूप्रतिको वितृष्णा, जेन्जी आन्दोलनको भाव, विगतको मत परिणाम र भ्रष्टाचारमुक्त समाज निर्माणमा रास्वपाको पहलका कारण ढकाल विजयी हुने दाबी गरे ।

नेकपा एमालेका केन्द्रीय सदस्य जंग नेपालीले यसपटक आलोपालोको अवधारणा नै लागु हुने दाबी गरे । गत निर्वाचनमा पाँचदलीय गठबन्धन हुँदा पनि झिनो मतान्तरले पराजित भएको भन्दै उनले अहिले सबै एक्लाएक्लै प्रतिस्पर्धा हुँदा ज्ञवालीले सहज जित हासिल गर्ने बताए ।

यसैगरी नेपाली कांग्रेसका जिल्ला सह–सचिव छवि पाण्डेले चन्द्र भण्डारीले राष्ट्रिय राजनीतिमा खेलेको प्रभावका कारण यसपटकको निर्वाचन जित्ने दाबी गरे । त्यसका साथै जेनजी आन्दोलनपछि कांग्रेसमा नेतृत्व परिवर्तन भएकाले पनि कार्यकर्तामा उत्साह छाएको र त्यसका कारण गुल्मी–१ मा भण्डारीको जित हुने उनको दाबी छ ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

epaper

ताजा समाचार

मनास्लु आरोहणको ७० वर्षः आरोहीलाई सम्मान