लाइपजिग रोकिँदा साल्केको अर्काे हार

म्युनिख । उपाधि जित्ने झिनो सम्भावना रहेको आरबी लाइपजिग हेर्था बर्लिनसँग बराबरीमा रोकिँदा साल्केले कोरोना त्रासका बीच सुरु भएको जर्मन बुन्डेस लिगामा लगातार तेस्रो हार बेहोरेको छ ।

बुधबार राति भएको खेलमा लाइपजिग घरेलु मैदानमा हेर्था बर्लिनसँग २–२ गोलको बराबरीमा रोकिएको हो । बराबरीमा रोकिएसँगै लाइपजिगको उपाधि जित्ने सम्भावना न्यून बन्दा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डसँगै अंक बराबरी गर्ने मौकासमेत गुमाएको छ । लाइपजिगको २८ खेलबाट ५५ अंक छ । समान खेलबाटै डर्टमन्डको ५७ अंक छ । हेर्था ३५ अंक जोडेर १०औं स्थानमा छ । बायर्न म्युनिख ६४ अंक जोडेर शीर्षस्थानमा रहँदै उपाधि नजिक पुगेको छ ।

रेडबुल एरिनामा १० खेलाडीमा समेटिएको लाइप्जिगका लागि लुकास क्लोस्टरमन र प्याट्रिकले गोल गरे । हेर्थाका मार्काे ग्रुजिक र क्रिजिस्टफ पियाटिकले गोल गरे । खेलको नवौं मिनेटमा नै मार्काे ग्रुजिकको गोलबाट घरेलु टोली लाइप्जिग पछि परेको थियो । २४औं मिनेटमा लुकास क्लोस्टरमनले बराबरी गोल फर्काउँदा पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको थियो । दोस्रो हाफसँगै लाइपजिगले झट्का बेहो¥यो । ६३औं मिनेटमा मार्सेल हल्सटेनवर्ग दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लाइप्जिग १० खेलाडीमा समेटियो ।

म्याथ्युज कुन्हामाथि अनावश्यक ट्याकल गरेपछि रेफ्रीले मार्सेललाई मैदान बाहिर पठाएका थिए । १० खेलाडीमा समेटिएको ५ मिनेटपछि नै लाइपजिगले खेलमा अग्रता लिन सफल भयो । ६८औं मिनेटमा प्याट्रिकले कोनराड लेइमेरको पासमा गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाएका थिए । ८२औं मिनेटमा हेर्थाका पियाटिकले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । एडेमोला लुकमनले कुन्हालाई पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले हेर्थालाई पेनाल्टी प्रदान गरेका थिए । जसमा पियाटिक चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो ।

यस्तै, अर्काे खेलमा साल्के डुसेलडर्फसँग २–१ ले पराजित भएको छ । कोरोनापछि सुरु भएको बुन्डेस लिगामा साल्केको यो लगातार तेस्रो हार हो । साल्के यसअघि बोरुसिया डर्टमन्ड र अग्सवर्गसँग पराजित भएको थियो ।

खेलमा सुरुवाती अग्रता साल्केले लिए पनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुगेको हो । ५३औं मिनेटमा साल्केका वेस्टन म्याकिनीले गोल गर्दै अग्रता दिलाएका थिए । ६३औं मिनेटमा डुसेलडर्फका रोवेन हेनिङ्सले बराबरी गोल फर्काए । ६८औं मिनेटमा किनन कारामनले गोल गर्दै डुसेलडर्फलाई २–१ को जित दिलाए । जितपछि डुसेलडर्फ २७ अंक जोडेर १६औं स्थानमा यथावत् रहँदा साल्को नवौं स्थानमा यथावत् छ । बायर्न म्युनिख ६४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । यस्तै, बुन्डेस लिगाकै अर्काे खेलमा होफेनहाइनले एफसी कोल्नमाथि ३–१ को सहज जित निकाल्दा अग्सवर्ग र पाडेरवर्नले गोलरहित बराबरी तथा युनियन बर्लिन र माइन्जले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

epaper

ताजा समाचार

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय