रवि लामिछानेको फेसबुक पेज ह्याक प्रयासपछि ‘लक’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पेजमा बाह्य व्यक्तिहरूले पटक–पटक ह्याक गर्ने प्रयास गरेपछि मेटाले सुरक्षा कारण देखाउँदै एकाउन्ट तथा पेज ‘लक’ गरिदिएको छ ।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार अनधिकृत पहुँचको बारम्बार प्रयास भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पेज अस्थायी रूपमा लक गरिएको जानकारी प्राप्त भएको हो । लामिछानेको आधिकारिक फेसबुक पेजमा आज बिहानैदेखि बाह्य व्यक्तिहरूले अनाधिकृत पहुँच बनाएर ह्याक गर्न पटकपटक प्रयास भएपछि लक गरिएको हो ।

लामिछानेको सचिवालयले अपिल जारी गर्दै पेज बन्द भएको र यसमा कुनै पनि अनधिकृत पोष्टहरु नआउने र आए आधिकारिक नहुने जनाएको छ । अपिलमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेजमा आज बिहानैदेखि बाह्य व्यक्तिहरूले अनाधिकृत पहुँच बनाएर ह्याक गर्न पटकपटक प्रयास गरेको जानकारी गराउँदछौँ ।’

यस्तो प्रयासपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै फेसबुक पेज मेटाद्वारा ‘लक’ गरिएको सचिवालयले जनाएको छ । पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म र नियन्त्रणमा फिर्ता नआएसम्म यसबाट कुनै पनि नयाँ सामग्री पोस्ट नहुने बताइएको छ ।

सचिवालयले पेजबाट कुनै पनि शंकास्पद पोस्ट, सन्देश वा लिङ्कहरू सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्न पनि आग्रह गरेको छ । सचिवालयले फेसबुकको सुरक्षा प्रक्रियाअनुसार पेज पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता