पोखरा । निवर्तमान निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं नवनिर्वाचित सांसद डा.महावीर पुनमाथि पोखरामा दुव्यर्वहार भएको छ । आफ्नो पुस्तक बेचिरहेको बखत पोखराको पृथ्वीचोकमा एकजना युवकले उनीमाथि दुव्यर्वहार गरेका हुन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
हालै प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव जितेपछि उनी सोमबारदेखि पोखरामा पुस्तक बेच्न निस्किएका थिए । आफ्नो जीवनीमा आधारित पुस्तक बिक्रीका लागि अघिल्लो दिन नै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत समयतालिका सार्वजनिक गरेका थिए । सोबमोजिम उनी अमरसिंह चोक र पृथ्वीचोकमा पुस्तक बेच्दै आफ्नो हस्ताक्षर दिन व्यस्त थिए । जसमा शुभचिन्तक एवं पाठकको त्यसबेला भिडभाड थियो ।
पृथ्वीचोकमा पुस्तक बेरिहँदा मुखमा मास्क र टाउकोमा हेलमेट लगाएका एकजना युवक देखा परे । उनले एक्कासि आफूलाई धेकेलेको भन्दै सांसद पुनमाथि जथानाम भन्न थाले । जनताले प्रत्यक्ष निर्वाचित गरेको सांसदको काम किताब बेच्ने नभएको भनी चर्को स्वरमा बोलेका छन् ।
उनी प्रश्न गर्छन्, ‘तपाईंको काम यो होइन, कारखाना चलाउने मान्छे सांसद किन भएको त ? जनताले प्रत्यक्ष निर्वाचित गरेको मान्छेले किताब बेच्ने हो ?’ तपाईंको काम यो होइन, जनताले कुन म्यान्डेड दिएका छन्, त्यही गर्नु न ।’
नजिकै रहेका अर्का मान्छेले सम्झाउन खोज्छन् । ती युवक आक्रोशित मुद्रामा फेरि भन्छन्, ‘सभासदलाई सोध्न पाइन्नँ ?’
पुनले पनि जनताले कारखाना चलाउन म्यान्डेड दिएको जवाफ फर्काउँछन् । ती युवकले फेरि प्रश्न गरेका छन्, ‘कारखाना चलाउने मान्छे किन सांसद उठेको त ?’
पुन ती युवकको नजिक जान्छन् । सम्झाउन खोज्छन् ।
तर ती युवक फेरि जंगिन्छन् । भन्छन्, ‘तपाईंले मलाई किन धकेल्नुभको ? ह्वाई यू पुस मि ?’ उनी अंग्रेजी भाषामा पनि ‘किन धकेलेको’ भनी दोहो¥याउँछन् ।
सडक छेउमा पुस्तक बिक्री भइरहेको बखत दुबैबीच यसरी विवाद भएको भिडियोमा प्रस्टै सुनिन्छ । केही समयपछि ती युवक ‘थुक्क’ भनी भुइँमा थुक्दै बाटो लाग्छन् । पुन फेरि आफ्नो पुस्तक बिक्रीमै लाग्छन् ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले पुस्तक बिक्रीको आम्दानी आविष्कार केन्द्रमै लगाउँदै आएका छन् । उनीमाथि यसरी भएको दुव्यर्वहारको सर्वत्र निन्दा गरिएको छ ।
यसैक्रममा, जेनजी २.० ले विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जेनजी २.० का प्रवक्ता अबिन लिम्बूले देशका लागि विज्ञान, नवप्रवर्तन र सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका पुनमाथि भएको यस्तो व्यवहार अत्यन्त दुःखद, निन्दनीय र अस्वीकार्य भएको जनाएका छन् । साथै, सम्बन्धित निकायलाई घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न आग्रह गरिएको छ ।
पुनका आफन्तका अनुसार पुनले पोखरामा सोमबार करिब ७ सय प्रति पुस्तक बिक्री गरे । विद्यार्थीका लागि छुटसहित ५ सय र अन्यका लागि ७ सय मूल्य तोकिएको थियो । सोमबार करिब ४ लाख मूल्य बराबरको पुस्तक बिक्री भएको बताइएको छ । पुनसँग भेट्न र पुस्तक खरिद गर्न सर्वसाधारण, विद्यार्थी तथा युवाहरूको उल्लेख्य भीड लागेको थियो । सांसद निर्वाचित उनलाई पोखरेली शुभचिन्तकले भने फूलमाला, खादासहित बधाई ज्ञापनसमेत गरेका थिए ।
फुर्सद मिल्यो कि पुस्तक बिक्री गर्ने उनले चुनावको आचारसंहिताका कारण बिक्री रोकिएकोमा चुनावपछि फेरि अभियानमा निस्किएको बताए ।
डा. पुन २२ हजार ८५० मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका थिए ।
नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरे । म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो । चुनावमा उम्मेदवार पुनलाई रास्वपाले साथ दिएको थियो ।






