इतिहास कहिले सशक्त र उदयमान भएर आउछन् त कहिले मधेर, धमिलो र निस्तेज हुँदै बिलुप्ति हुँदै जान्छन् । कुनै बेला लाग्थ्यो, ‘प्रचण्ड नेपाली राजनीतिमा कहिल्यै खस्किँदैन, प्रचण्डको पार्टीको विकल्प अर्को हँदैन ।’ तर प्राकृतिक नियम सूर्य पनि सधैं उदाइमात्र कहाँ रहँदो रहेछ र ? जनयुद्धको मर्मसहितको इतिहास र तत्कालीन माओवादी पार्टीको अस्थित्व नेपाली राजनीतिको समय बित्दै जाँदा दुर्घटनाग्रस्त हुँदै गइरहेको छ । ती सुन्दर राजनीतिक, ऐतिहासिक घटना प्राक्कालिन अर्थात् पौराणिक (एन्टिक्युरियन) इतिहासको अस्तित्वमा रहेर मानवता सुचारुका रूपमा रहिरहन नसकेको तीतो सत्य छ । आज नेपाली इतिहासमा त्यो जनयुद्धको पार्टी खोज्दा नपाइनेगरी हराएको छ । आज आएर ‘महान् ऐतिहाकि कमाण्डर’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिलुप्तितर्फको अवस्थामा छ । आफ्नो कमजोरी र पतनको पीडाले आफैं चिथोरिने, कोपर्ने र टाउको ठोकाउन पर्ने हालतमा पुगेका छ, सायद ।
विगतमा सबैले निकै महत्व दिएर ‘एक्स्ट्रा अर्डिनरी’ मान्छेका रूपमा हेर्थे प्रचण्डलाई । पार्टी नेतृत्वदेखि जनयुद्धपछि पनि अन्य ग्रहबाट आएको ‘सुपरम्यान’जस्तो, दैविक शक्तिजस्तो देश बदल्ने राजनीतिक मिथकजस्तो मानिन्थे । आज छविलाल, पुष्पकमल र प्रचण्डबाट उनी जनमुखरित प्रचण्डेका रूपमा ‘डि–ग्रेडेड’ हुन पुगेका छन् । बच्चादेखि युवा र बूढापाका, कामदार, नोकर अनपढदेखि विध्वानसम्मले ‘सम्मानित’ सम्बोधन नगरेर ‘प्रचण्डे’ भनी तुच्छ सम्बोधन गरेको सुनिन्छ । जनयुद्धका बेला अदृश्य ‘पपुलिस्ट’को शिखरमा रहेका उनले पड्काएका बम, बारुद र गोली पनि बास्ना आउँथे ! उनका बोलीमा पनि मिठास गुन्जिन्थे– जनताका कानमा । उनका अविश्वास पनि विश्वास नै लाग्थे । किनकि उनी आशा, भरोसा र भरको केन्द्र थिए । उनी अपरिक्षणीत थिए । तर, जब प्रचण्ड संसदीय अभ्यासमा ‘टेस्टेड’ हुन थाले, विस्तारै ओइलाउँदै, फिक्का हँदै गए । अहिले लगभग सबैलाई पट्यारलाग्दो, झिँजो लाग्दो र दिक्क लाग्दो भएका छन्, पुष्पकमल ।
दशकौंसम्म कठोर राजनीतिक जीवन गुजारेर ‘सुपरम्यान’का रूपमा ‘सुप्रा हिस्ट्री’ (उच्चतम चेतनाले सिर्जित वास्तविक र सिर्जनशील इतिहास) कायम गर्न खोजेका प्रचण्ड (पुष्पकमल दाहाल) भूत–वर्तमानको चित्त बुझाउन नसक्ने हविगतको निस्कर्षि पतनमा पुगिसकेका छन् । उनैले भनेका ‘महान् जनयुद्ध’को इतिहासमाथि तेजाब खन्याउने काम उनैबाट भएको छ । इतिहासका कुनै मोडको जनयुद्धमा देवशक्तिजस्तो मानिएको र सर्वत्र सुर्यझैं आशाका किरण औकातको प्रचण्ड जनयुद्धको नेतृत्वकालसम्म आइपुग्दा क्रान्तिकारी ‘हिरो’ थिए भन्नेमा प्रश्न थिएन । साँच्चै उनी मुक्तिकमी नेपाली जनतामा प्रचण्ड रूपमा छापित थिए । उनले नेपाली जनता र विशेषगरी सर्वहारा, सुकुम्बासी, किसान, मजदुर, दलित, आदिवासी, जनजाति, मुस्लिम तथा सबैखाले वर्गीय, लिंगीय, जातीय र क्षेत्रीय उत्पीडितबाट अति सहानुभूति पाएका पनि हुन् । उनले क्रान्तिकारी ‘हिरो’को सर्वोत्तम भूमिका निभाएका पनि हुन् ।
२०७४ सालको अन्तिमसम्मको प्रचण्डको राजनीतिक जीवन सम्मानित र अस्तित्ववान् नै रहेको थियो । नेपाली धर्तीमा सबै मुक्तिकामी जनताको पक्ष्यको नढल्ने, नगल्ने र नहार्ने प्रतापी प्रचण्ड तथा पुँजीवादी, सामन्तवादी र शोषक वर्गविरुद्ध अति कडा प्रचण्ड थिए । तर, आफ्नो इतिहासको विरासत जलाउने काम २०७५ सालको जेठबाट एमालेसँग पार्टी मिसाएर गरे । अहिलेसम्म आइपुग्दा आफ्नै नेतृत्वमा कायम गरेका महान् ऐतिहासिक गौरव आफ्नै कारण गुमाउँदै गए । के भनेर प्रचण्डले जनयुद्ध सुरु गरेका थिए ? कुन उद्देश्यले जनयुद्ध गरे ? नेपाली जनतालाई कस्ता कस्ता सपना बाँडेका थिए ?, के प्राप्ति भएपछि टुंगिए र आफ्नो गौरवमय इतिहास पुर्नतिर लागे ? सबैले बुझिसकेका छन् । डा. बाबुराम भट्टराईले नयाँशक्ति खोल्दा ‘कम्युनिस्टपार्टी छोडेर भागे’ भनेका प्रचण्ड यद्यपि नामको मात्र मेटिएको कम्युनिस्ट साइनबोर्ड राखेर स्वयं आपूm पनि कम्युनिस्ट पार्टी छाड्दै भागे । यद्यपि, कार्यकर्ता भुलाउन र अस्तित्वको खातिर एमालेसँगको एकतामा कम्युनिस्ट एकता गरे । एमालेसँग हास्यास्पद कम्युनिस्ट एकता गरेका प्रचण्डले कम्युनिस्ट एकता गरेका थिए भने मोहन वैद्य, मोहनविक्रम, विप्लव, गोपाल किराती, चित्रबहादुर केसी नेतृत्व र आहुतीलगायतका पार्टीसँग पो गर्थे होलान् ! आफैले भन्दै आएका प्रतिक्रियावादी पार्टी एमाले, कांग्रेसजस्तासँग एकता गरेर कम्युनिस्ट एकतामा आफ्नो दलको प्रचण्ड विरासत नै सिध्याएका थिए ।
त्यस्तो क्रान्तिकारी पार्टी युगौंसम्म रहने र उद्देश्य पूरा गर्दै जाने हुनुपर्ने होइन र ? खै त्यो पार्टी अहिले ? त्यो पार्टी नेपाली कम्युनिस्ट पार्टी हो ? यसर्थ, उनी अब पुष्पकमल र प्रचण्ड होइनन्, लेनिनले सरापेको गद्दार नेपाली काउत्स्की भइसकेका छन् । हिजोको मगमग बास्नाको पुष्पकमल फुल होइन, राजनीतिक पुष्पकमल पछिल्लो कालखण्डमा ओइलाइसकेका छन् । उनी नवउदारवादी बजारको प्लास्टिकको पुष्प भएका छन् । उनको २०७४ सालसम्मको क्रान्तिकारी बास्ना र रङ उडिसकेको छ । अब ओइलाएर घुर्मैलो र रङहीन भएको पुष्पकमललाई कसैले टिप्ने र सजाउने अवस्था छैन । उनको प्रचण्ड क्रान्तिकारी छविको रापताप अब मधुरो–मलिन भइसकेको छ । उनी चढेर उचाईमा पुगेको राजनीतिक भ¥याङबाटै बजार्रेर निस्तेज भइसकेका छन् ।
‘२०औं शताब्दी अन्तिमतिर आएर विश्व कम्युनिस्ट आन्दोलनलाई बिसर्जन गर्ने र पँुजीवादी बुर्जुवा जनवादमा पतन गराउने कार्य यिनै दक्षिणपन्थी संशोधनवादीले गरेको स्वतः प्रस्ट छ । यही प्रक्रियामा नै एमालेको बहुदलीय जनवादले आर्थिकरूपमा सुधारवादको वैचारिक रूपमा विसर्जनवादको र दार्शनिक रूपमा सून्यवादको प्रतिनिधित्व गर्दछ,’ यो भनाइ असोज २०६३ मा नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनद्वारा प्रकाशित ‘नयाँ दिशाबोध’मा यिनै ‘कमरेड प्रचण्ड÷पुष्पकमल दहाल’ले दिएको अभिव्यक्ति हो । जो सार्वजनिक रूपमा पनि उनले सधैं भन्दै आएकै हुन् । त्यसो हो भने २०७५ सालमा आइपुग्दा उनको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा एमालेसँग एकता गर्दा एमाले क्रान्तिकारी कम्युनिस्टमा रूपान्तरण भएको हो त ? त्यसो त, प्रचण्ड आफै सुधारवाद, विसर्जनवाद र शून्यवादको भूमरीमा फन्फनी घुमिरहेका थिए र छन्, जसको निकास अझै छैन । बढी क्रान्तिकारी बाठो हुन खोज्दा अस्तित्वमै धमिरा लागिसकेको छ । क्रान्तिकारी युद्धबाट थाकेर भगुवावादी नीति र मार्ग अवलम्बन गरेका प्रचण्ड आपूm र निश्चित घेराको स्वार्थको पराकाष्ठा स्वरूप कहिले कांग्रेस, राप्रपासँग चुनावी तालमेल त कहिले एमालेसँग पार्टी मिलानमा विलुप्ती भए । एमालेसँग एकतासम्म आइपुग्दा उत्तर आधुनिकतावादी चेतनाको प्रवाह ग्रसित थिए उनी । यसको मतलब एकै समय बहुसपना वा बहुविषय दिमागमा खाँदिएर आउने र महत्वकांक्षाको शिकार हुने । ठूलै पार्टीको नेता बन्ने इच्छा, प्रधानमन्त्री बन्ने आकांक्षा आदिका चेतना प्रवाहका कारण नेकपामा परिणत भइहाले । तर, उनले जति सुनौलो अवसर सोचेर चढ्को सुखान्तको भ¥याङ दुर्दशापूर्ण दुखान्तमा अन्त्य भयो । कुुनै बेला सबैलाई आदेश पालना गराउने सर्वोच्च कमान्डर प्रचण्ड अर्काको आदेश पालकको निरिहतामा छन् । हालसम्म आइपुग्दा उनी आफै सुधारवाद, विसर्जनवाद र शून्यवाद बोकेको बहुदलीलय नेता बनेका छन् ।
आफ्नै कारण र नातावाद–क्रियावादकै कारण पतन भएका छन् प्रचण्ड । ‘संसद् खसीको टाउको झुण्ड्याएर, कुकुरको मासु बेच्ने थलो हो’ भन्ने प्रचण्डलाई भटाभट कुकुरको मासु बेच्ने ठग मानेका छन् जनताले । दिनानुदिन नेपाली राजनीतिक बजारमा नक्कली व्यापारी बनेर क्रान्तिकारी छवि समाप्त पार्दै आए । आफू प्रधानमन्त्री हुँदा र आफ्नो दलका क्रान्तिकारी प्रचण्ड नेताहरूले राज्यमा देश र जनताको तात्विक परिवर्तनमा कुनै हाइहाइ पहलकदमी र निर्णय लिन सकेनन् । केवल संसदीय परम्परा धान्ने काम गरे । यसरी संसदीय विसर्जनवादमा पतन भएको माओवादी केन्द्र प्रचण्ड कम्युनिस्टले विश्वासै नगर्ने र गर्न नै नहुने बुर्जुवा लोकतन्त्र र यसभित्रको बहुमत र अल्पमतको निर्धारणमा फस्दै आए । सरकारमा आफ्नो नेत्रृत्वको पद प्राप्तिको अनेकौं तिक्डमलाई उथलपुथल ठानेर जनयुद्धको मर्म, भावना र वेदनाको जनताको अवस्था उथलपुथललाई आफू, गुट र नातागोतामा रूपान्तरण गरिदिए ।
सरकार तथा सत्तामा बसेर कम्युनिस्टको न्यूनत्तम कार्यक्रम पनि लागू गर्न खोजेनन् वा सकेनन् । जनवादको आधारभूत सिद्धान्तका गाँस, बास कपास र जनजीविकाको कुनै निित तथा कार्ययोजना ल्याएर जनयुद्धको मर्म र भावनालाई न्याय गरेनन् । न त माओवादी पार्टीले नै त्यसतर्फ कुनै ध्यान दियो । केवल कांगे्रस र एमालेलगायतका दलसँग जुधेर संसदीय जागिर खाएर दशकौं बिताए । जो जनताको कुनै मतलबको विषय नै थिएन । यस्तैमा गुठबन्दी वा दलबन्दीमा लुटपुटिए । हाल ऐतिहासिक सजाय भोग्दै छन् उनले र उनको दलले । हिजोका पूर्वएमाओवादीमा प्रचण्डका रक्त सञ्चार र बलियो आधार मानिएका लेखराज भट्ट, बादल, टोपबहादुर रायमाझी, विप्लप, मोहन वैद्य, बाबुराम, धर्मेन्द्र, जनार्दनहरू किन छुटे उनीबाट ? यी सबैको कारण उनै हुन् । २०६४ सालको चुनावमा बलियो बहुमतले पहिलो दल बनेको पार्टी घट्दैघट्दै अहिले तुहिने अवस्थामा किन पुग्यो ? बुर्जुवा संसदीय व्यवस्थाको घिनलाग्दो विशेषता नै यही हो ।
कालान्तरमा ‘बिनासकाले विपरित बुद्धि’ फेरि प्रश्नै प्रश्नको माधव नेपाल र अन्य अवसरवादी झुण्डको गनौटो आठ दल बटुलेर ‘भ्यागुताको धार्नी’ पु¥याएको स्थिति छ । भुत्ते विचारलाई क्रान्तिकारी विचारमा बद्लेर कम्युनिस्ट सिद्धान्ततिरै फर्कनुको बदला झन् सकिने बाटो लागेका छन् । पार्टी, विचार, इतिहास सबै ध्वस्त पारेका छन् । तत्कालीन सशस्त्र युद्धले विजय प्राप्त गर्दागर्दै उनीहरूले भन्ने गरेको ‘नेपाली क्रान्ति’ले विश्वलाई नेतृत्व गरेको र विश्व कम्युनिस्ट आन्दोलनलाई नै नेतृत्व प्रदान गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी एमाओवादी थियो । विश्व राजनीतिक इतिहासमा प्रभावशाली भएर स्थान लिएको त्यो क्रान्तिकारी पार्टीलाई नेपालीमात्र होइन, विश्व इतिहासले अहिले खोजिरहेको छ । २०५२ देखि २०७४ सालसम्मको २०–२२ वर्षमात्रै हो त्यो पार्टीको आयु ? विश्व हल्लाएको, १७ हजार शहादत बलिदान गरेको, लाखौं अंगभं भएको, लाखौंको घरबारविहीन भएको र अरबौंको भौतिक क्षति गुमाएर विशालीकरण भएको त्यस्तो क्रान्तिकारी पार्टी आज विश्व इतिहासले खोजिरहेको छ ।
(लेखकको यो निजी विचार हो)






