‘धुरन्धर २’ को रिलिज मितिले बलिउडमा हंगामा, आधा दर्जन चलचित्र स्थगित

मुम्बई । बलिउडको चर्चित चलचित्र ‘धुरन्धर २, द रिभेन्ज’ आगामी १९ मार्चमा विश्वव्यापी रिलिज हुने निश्चित भएको छ । यो चलचित्रको रिलिज घोषणासँगै अग्रिम टिकेट बुकिङको तयारी समेत सुरु भइसकेको छ ।

यो चलचित्र १९ मार्चमा आउने भएपछि भारतीय चलचित्र बजारमा ठुलो हलचल मच्चाएको छ । त्यहाँ एक प्रकारको हंगामा नै भएको छ । विशेष गरी यसका कारण भारतमा अन्य केही चलचित्रहरूको रिलिज स्थगित गर्नुपरेको छ । यो चलचित्रका कारण १९ मार्चबाट २ अप्रिलसम्म रिलिज हुने चार वटा चलचित्रको भारतमा रिलिज स्थगित गरिएको छ । यसले त्यहाँको चलचित्र रिलिजको तालिका नै बदल्ने भएको छ ।

विशेष गरी हलिउड चलचित्रहरू जसले भारतमा मार्च र अप्रिलमा प्रदर्शन गर्नुपर्ने योजना बनाएका थिए, उनीहरूलाई समेत रिलिजको लागि ‘धुरन्धर २’को कारण नयाँ तालिका बनाउन बाध्य पारिएको छ । हलिउड चलचित्र ‘प्रोजेक्ट हेर मेरी’ सहित अन्य चलचित्रको पनि भारतमा यो समयमा रिलिज स्थगित गरिएको छ ।

रिलिज तालिकामा यस अघि समावेश भएको भारतीय चलचित्र ‘टक्सिस’ १९ मार्चमै प्रदर्शन हुन लागेको थियो । तर यो मितिमा ‘धुरन्धर २’ आउने भएपछि ‘टक्किस’को रिलिज स्थगित गरिएको छ । अभिनेता यश, अभिनेत्री कियारा अडवाणी, नयनतारा, तारा सुतरीय, हुमा कुरेसी आदि अभिनीत यो चलचित्रको रिलिज मिति नयाँ तोकेर प्रचार सुरु गरिने भएको छ ।

यस्तै २६ मार्चमा आउने तय भएको भारतीय चलचित्र ‘पेड्डी’को रिलिज मिति पनि स्थगित गरिएको छ । राम चरण, जन्हवी कपुर, विजय सेतुपति आदिको मुख्य भूमिका रहेको यो चलचित्रले रिलिज स्थगितको औपचारिक घोषण गरिसकेको छ ।

मोहनबाबु, राघव, नानी जदाल, सोनाली कुलकर्णी अभिनीत ८ भाषामा निर्मित भारतीय चलचित्र ‘द प्याराडाइज’को रिलिज मिति यस अघि २७ मार्च तोकिएको थियो । यति बेला ‘धुरन्धर २’ का कारण यो चलचित्रको २७ मार्चको रिलिज मिति पनि स्थगित गरिएको छ । २ अप्रिलमा रिलिज हुने भनिएको अक्षय कुमारको भारतीय चलचित्र ‘भुत बंगला’को रिलिज पनि ‘धुरन्धर २’को रिलिजकै कारण स्थगित गरिएको वितरण पक्षले जनाएको छ ।

यसको कथानक प्रस्तुति, अघिल्लो सिक्वेलको सर्वाधिक सफलता, यसको स्टार कास्ट र उच्च बजेटको कारणले भारतीय चलचित्र बजारमा ‘धुरन्धर २’ को चर्चा निकै छाएको छ । चलचित्रका मुख्य कलाकारहरूमा रणबीर सिंह, सञ्जय दत्त, आर माधवन, अर्जुन रामपाल, सारा अर्जुनलगायतको मुख्य भूमिका यसमा रहेको छ ।

अघिल्लो चलचित्र ‘धुरन्धर’ले देश बिदेशका दर्शकको मन जितिसकेको थियो । धुरन्धरले व्यापारिक रूपमा उच्च सफलता पाएकै कारण ‘धुरन्धर २’ लाई पनि त्यत्तिकै प्रभावशाली चलचित्रको रूपमा हेरिएको छ । यस्ता धेरै कारणले गर्दा ‘धुरन्धर २’ लाई अझ बढी प्रतीक्षा गरिएको छ।

यसका निर्देशक आदित्य धरको भनाइमा यो निर्माण टिमले ‘धुरन्धर २’ मा कथा, दृश्य प्रभाव र संगीत सबै क्षेत्रमै ठुलो ध्यान दिएको छ । कथानकले दर्शकलाई सुरुदेखि अन्त्यसम्म व्यस्त राख्ने दाबी निर्देशकको छ । सोही कारण यसको रिलिजको मिति घोषणाले अन्य चलचित्र निर्माताहरूमा असर परेको छ ।

‘धुरन्ध’रले पहिलो हप्तामा नै भारतमा २२० करोडौँको व्यापार गरेको थियो । यसले भारतमा मात्र १ हजार ५४ करोडको व्यापार गरेको थियो । यसले विश्वव्यापी १४ सय करोड रुपैयाँको व्यापार गरेको थियो । यसको सफलताको प्रमुख कारणहरूमा उत्कृष्ट अभिनय, आकर्षक कथा र उच्च गुणस्तरीय चलचित्र निर्माण रहेको निर्माण टिमको दाबी छ । त्यसैले यस पटकको ‘धुरन्धर २’ ले पनि व्यापारिक हिसाबले उत्कृष्ट प्रदर्शन गर्ने अनुमान निर्माण पक्षले गरेको छ ।

बलिउडमा ठुलो बजेटको चलचित्रको रिलिजले केवल मनोरञ्जन उद्योगलाई मात्र होइन, टिकट बुकिङ, प्रचार–प्रसार र चलचित्र घर सञ्चालनमा समेत प्रभाव पार्ने गर्दछ । यसैले ‘धुरन्धर २’ को रिलिजसँगै चलचित्र बजारमा उत्साहको वातावरण बनिसकेको छ । चलचित्र घर सञ्चालकले यसलाई उत्सवको रुपमा लिने गरेका छन् ।

‘धुरन्धर २’ केवल बलिउडकै होइन, दक्षिण भारतीय चलचित्र बजारमा पनि चर्चित र प्रतीक्षित चलचित्र बन्ने संकेत देखाएको छ । दर्शकहरूले मार्च १९ बाट सुरु हुने रिलिजको प्रतीक्षा गरिरहेका छन्, र चलचित्रले अघिल्लो भागको सफलता दोहोराउने छ भन्ने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

epaper

ताजा समाचार

आजको मौसम : कोशी र गण्डकीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना