क्याफे व्यवसायमा नेपाली अभिनेत्री

काठमाडौं । पछिल्लो समय आम जनता पार्टीसँग आबद्ध भएर राजनीतिमा सक्रिय अभिनेत्री एलिजा गौतम क्याफे व्यवसायमा लागेकी छन् । उनले काठमाडौं अनामनगर केन्द्र पारेर सोमबारबाट नयाँ व्यवसाय ‘स्टार बोस कफी सप’ सुरु गरेकी हुन् ।

आठ वर्षअघि चलचित्र ‘अनुराग’मा शीर्षभूमिका निभाएर अभिनेत्रीका रूपमा रजतपट उत्रिएकी एलिजाले नायिकाको अवसर पाएकी छैनन् । त्यसपछि कहिलेकाहीँमात्रै म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी उनी प्राइम टेलिभिजनको सञ्चालकसमेत हुन् । कफी सप उद्घाटनक्रममा विगतमा आफूले धेरै कफीसप उद्घाटन गरे पनि अहिले आफैं कफीसपको मालिक भएको सुनाइन् । ‘मेरो कमाइ र पकेट खर्चबाट बचेको रकमबाट कफी सप सुरु गरेकी हुँ,’ उनी भन्छिन्, ‘साझेदारीमा कफीसप सञ्चालन गरेकी छु ।’

सधैंजसो विभिन्न मिटिङका साथै साथीसँग जमघटका लागि कफीसप आवश्यक परेका कारण पनि आफैंले ‘स्टार बोस कफी सप’ सञ्चालन गरेको पनि उनले प्रस्ट पारिन् । यसबाट आर्थिकरूपमा निर्भर बनाउने उनको विश्वास छ ।

त्यसो त, अभिनेत्री एलिजामात्र होइन, अन्य नेपाली अभिनेत्री पनि पछिल्लो समय क्याफे तथा चिया, कफी व्यवसायमा लागेका छन् । यीमध्ये अभिनेत्री श्वेता खड्का निकै अघि छिन् । एक दशकदेखि ‘हिमालयन जाभा कफी’को ‘फ्रेन्चाइज’ लिएर उनी यस व्यवसायमा सक्रिय छिन् ।

विवाहपछि सन्तान हुर्काउँदै गरेकी श्वेता पछिल्लो समय चलचित्र तथा मोडलिङमा सक्रिय छैनन् । उनी पूर्णरूपमा व्यवसायकेन्द्रित छिन् । पेसाले अभिनय र इन्जिनियर भए पनि उनले आफूलाई सफल महिला व्यवसायीका रूपमा चिनाउँदै आएकी छन् । काठमाडौं राइजिङ मल दरबारमार्ग, मार्को पोलो होटल कमलपोखरी, बालुवाटारलगायत क्षेत्रमा ‘हिमालयन जाभा कफी सप’ तथा फुड व्यवसाय सञ्चालन गर्दै आएकी श्वेता यस व्यवसायमा सफल मानिन्छन् ।

अर्की अभिनेत्री रेखा थापा पनि अभिनयसँगै व्यावसायिक क्षेत्रमा पनि सक्रिय छिन् । चालू वर्षबाट ‘फिल्ली’ ब्रान्डको कफी सप सञ्चालन गर्दै आएकी रेखाको ‘फिल्ली’ क्याफे सञ्चालनमा छ । पछिल्लो समय राजनीतिमा केही निष्क्रिय उनी चलचित्रमा भने पुनः सक्रिय हुँदै छिन् ।

आफ्नो लगानीमा रेखाले चलचित्र ‘३६ को आँकडा’ तयार गरेकी छन् । यस चलचित्रको प्राविधिक कार्य भइरहेको छ । रेखाले हालै ‘माया भनेको यस्तै होला’समेत निर्देशन गरेकी छन् । यो चलचित्र आगामी २६ भदौमा रिलिज हुँदै छ ।

चलचित्र निर्माण, निर्देशन अभिनयसँगै स्थायी व्यवसायका लागि ‘फिल्ली’ कफी सप सञ्चालन गर्दै आएको रेखा बताउ“छिन् । स्थायी व्यवसायले आर्थिक रूपमा अझ सजिलो हुने भएकाले यो क्षेत्र अपनाएको उनको कथन छ ।

त्यस्तै, अभिनेत्री वर्षा राउत पनि कफी तथा चिया व्यवसायमा आबद्ध छिन् । पति सञ्जोग कोइराला र अन्य चलचित्रकर्मीसँगको साझेदारीमा उनले काठमाडौंका विभिन्न स्थानमा ‘चिया अड्डा’ सञ्चालन गर्दै आएकी छन् । केही वर्षयताबाट ‘चिया अड्डा’ काठमाडौंमा चिया तथा कफी पारखीका लागि जमघटको राम्रो थलो बनेको छ । यसका ‘फेन्चाइज’ काठमाडौं, भक्तपुर र ललितपुरमा समेत छन् ।
अर्की अभिनेत्री पूजा शर्मा तीन वर्षयताबाट कफी एवं क्याफे व्यवसायमा छिन् । विवाहअघिदेखि नै प्रेमी युद्ध बानियाँसँग मिलेर तीन वर्षअघिबाट ललितपुर झम्सिखेलमा उनले ‘ह्यासट्याग’ क्याफे सञ्चालन गरेकी हुन् । यो क्याफेको नाम अहिले ‘ट्याग’ राखिएको छ ।

कफी पारखीका लागि झम्सिखेलको ‘ट्याग’ क्याफे राम्रो जक्सन बनेको अभिनेत्री पूजाको दाबी छ । युद्ध बानियाँसँग यसै वर्ष विवाह गरेकी पूजा विवाहपछि क्याफे व्यवसायसँगै अभिनय र चलचित्र निर्माणमा पनि छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

epaper

ताजा समाचार

२४ घण्टाभित्र गोल्छालाई उपस्थित गराउन सर्वोच्चको आदेश