सुदूरपश्चिममा समानुपातिक मतमा पनि रास्वपा पहिलो

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक मतमा पनि पहिलो दल बनेको छ । यसपटक प्रदेशका मतदाताले नयाँ दल रास्वपालाई पहिलो रोजाइका रूपमा समर्थन दिएका छन् ।

समानुपातिक मतको तथ्यांक अनुसार रास्वपाले ३ लाख १७ हजार ८३६ मत प्राप्त गर्दै प्रदेशमा पहिलो शक्ति बनेको छ । नेपाली काँग्रेस १ लाख ८२ हजार ८४२ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा एमाले १ लाख ४७ हजार ९०९ मतसहित तेस्रो स्थानमा सीमित भएको छ । नेपाली कम्युनिष्ट पार्टी चौथो तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचौँ स्थानमा रहेका छन् । अन्य दलहरू भने निकै पछि परेका छन् ।

तथ्याङ्कको विश्लेषण गर्दा विकट पहाडी तथा हिमाली जिल्लाहरूमा भने अझै पनि काँग्रेस र एमालेकै प्रभाव देखिएको छ । बाजुरा, अछाम–१, अछाम–२ र डोटीमा नेपाली काँग्रेसले सबैभन्दा बढी मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । यस्तै बझाङ र दार्चुलामा नेकपा एमाले पहिलो शक्ति बनेको छ । यी जिल्लाहरूमा रास्वपा भने तेस्रो वा चौथो स्थानमा सीमित देखिएको छ । डोटीमा भने काँग्रेस र रास्वपाबीच कडा प्रतिस्पर्धा देखिएको छ, जहाँ दुवै दलबीच केवल ३९ मतको अन्तर रहेको छ ।

तर तराईका कैलाली र कञ्चनपुर जिल्लामा भने रास्वपाले स्पष्ट वर्चस्व कायम गरेको छ । कञ्चनपुरका तीनै निर्वाचन क्षेत्र र कैलालीका पाँचै क्षेत्रमा रास्वपाले ठूला दलहरूलाई दोब्बरभन्दा बढी मतान्तरले पछि पार्दै अग्रता लिएको छ ।

नेपाली काँग्रेसको बलियो गढ मानिने डडेल्धुरा तथा एमालेको प्रभाव क्षेत्र मानिने बैतडीमा समेत रास्वपाले भारी मतका साथ पहिलो स्थान हासिल गरेको छ । अघिल्ला निर्वाचनमा निर्णायक शक्ति मानिएको नेकपा भने अधिकांश क्षेत्रमा तेस्रो वा चौथो स्थानमा झरेको देखिएको छ ।

यसैबीच कैलालीमा प्रभावशाली मानिएको नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धनले कैलाली–१, २ र ३ मा सन्तोषजनक मत प्राप्त गरे पनि अन्य क्षेत्रमा खास प्रभाव देखाउन सकेको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने अधिकांश क्षेत्रमा आफ्नो उपस्थिति कायम राखेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : ९८७ को शव फेला, ३ हजार ९१६ जना सम्पर्कविहीन