सप्तरी, राजविराज । आशंकित र संक्रमितको संख्या बढेपछि सप्तरीमा आईसोलेसन र क्वारेन्टाईन केन्द्रको अभाव भएको छ ।
शनिबारसम्ममा संक्रमितको संख्या ४२ पुगेपछि र भारतबाट घर फर्किनेहरुको संख्या दिनादिन बढदै गएपछि आईसोलेसन र क्वारेन्टाईन केन्द्रको अभाव देखिएको हो । आईसोलेसनको अभावका कारण २२ जना अहिले पनि आशंकितहरुलाई राखिएको क्वारेन्टाईन केन्द्रमै छुट्टै कोठामा राखिएको छ ।
बोदेबर्साइन नगरपालिकाका संक्रमित मध्येका ९, राजविराज नगरपालिकाका ४ र शनिबार फेला परेका ९ गरी २२ जना संक्रमितलाई अहिले आईसोलेसन कक्षको अभावका कारण राजविराज स्थित राजदेवी माध्यमिक विद्यालय, बोदेबर्साइन स्थित चन्द्र नमुना माध्यमिक विद्यालय तथा डाक्नेश्वरी नगरपालिका एक विद्यालयको क्वारेन्टाईन केन्द्रमा छुट्टा छुट्टै कोठामा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।
जिल्लाको एकमात्र आईसोलेसन कक्ष रहेको सदरमुकाम राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा २० क्षमताको बेड रहेकोमा संक्रमित संख्या बढेर ४२ पुगेपछि बाँकी रहेको २२ जना तथा अव आउन सक्ने थप संक्रमितलाई व्यवस्थापनको चुनौती देखिएको उनको भनाई छ ।
यसरी स्थान अभाव भएपछि शनिबार देखि यहाँ स्थित साईकृष्णा मेडिकल कलेजमा ५७ बेडको आईसोलेसन कक्ष निर्माण कार्य सुरु गरिएको र सम्भवत शनिबारै राति वा आइतबार विहानसम्म बाहिर रहेका संक्रमितहरुलाई आईसोलेसनमा ल्याई सक्ने उनले जानकारी दिएका छन । भारतबाट प्रवेश गर्नेको संख्या सँग सँगै कोरोना संक्रमितको संख्या समेत बढन थालेपछि चुनौती बढदै गएको उनको भनाई छ ।
जिल्लामा १ हजार ९ सय ५२ क्षमताको ५१ वटा क्वारेन्टाईन रहेकोमा शुक्रबार सम्ममा १ हजार ९ सय ५० जना क्वारेन्टाईनमा पुगी सकेका छन् । भारतबाट घर फर्किनेहरुको संख्या अहिलेपनि नघटेका कारण अव आउनेहरुलाई राख्न जिल्लाका विभिन्न स्थानिय तहका थप विद्यालय र सदरमुकाम राजविराज स्थित श्री के.अ.मा.वि. तथा बाल मन्दिरमा समेत क्वारेन्टाईट विस्तारको काम थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले भारतबाट फर्किनेको बढेसँगै चुनौती थपिदै गएको बताए । चुनौतीको कसरी सामना गर्ने विषयमा स्थानिय प्रशासन, सुरक्षा निकाय, नेपाली सेना, स्वास्थ्यकर्मी लगायत सरोकारवाला निकायसँगको छलफल तिब्र बनाईएको र आवश्यक रणनिति बनाउन जुटेको उनले बताए ।
भारतबाट फर्किने क्रम तिब्र बने सँगै कोरोना संक्रमितको संख्या पनि तिब्र बन्दै गएपछि स्थानियबासीले सिमाक्षेत्रमा कडा निगरानी तथा सुरक्षा जाँच बढाउनुका साथै व्यवस्थित आईसोलेसन र क्वारेन्टाईन केन्द्रको विस्तार गर्नुपर्ने माग गरेका छन् ।






