काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास भत्काउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा भवन भत्काउन रोक लगाइएको हो ।
प्रशासनको निर्णयसँगै प्रहरीले भवन भत्काउन रोक लगाएर त्यहाँबाट कार्यरत कामदार पनि हटाइसकेको छ । जेनजी प्रदर्शनमा आगजनी भएको घर केही दिनदेखि भत्काउन सुरु गरिएको थियो । प्रदर्शनकारीले आगजनी गर्दा सो घरबाट जलेको अवस्थामा डलर र नेपाली रुपैयाँ भेटिएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसबेला नै सो रकम संकलन गरेर राखेको थियो । सो घर बस्नयोग्य नभएपछि पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणा देउवा पछिल्ला दिनमा महाराजगन्जमा भाडाको घरमा बस्दै आएका छन् ।
देउवा दम्पती अहिले हङकङमा छन् । उनीहरू नेपाल फर्कने, नफर्कने निश्चित छैन । देउवा र उनकी पत्नी आरजुमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान थालिएको उच्च सरकारी अधिकृतहरू बताउँछन् ।






