काठमाडौं । कैलाश योग साधना केन्द्रले स्थापनाको पहिलो वर्ष पूरा गरेको छ । अवसरमा ‘स्वस्थ शरीर, शान्त मन, राष्ट्रिय एकता’ भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, योग गुरु र तीन सयभन्दा बढी साधकहरूको सहभागिता थियो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद गणेश पराजुलीले सामाजिक सुरक्षा भत्ताका सम्बन्धमा बजारमा व्याप्त हल्लाको खण्डन गरे । उनले ७० वर्षबाट ७५ वर्ष पु¥याएर वृद्ध भत्ता कटौती गर्ने सरकारको कुनै योजना र निर्णय नभएको स्पष्ट पारे । पराजुलीले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेका तर्फबाट केन्द्रलाई शुभकामना दिँदै अग्रजहरूको सम्मान र सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताए ।
विशेष अतिथि एवं वडा नं. १६ की अध्यक्ष रोजिना श्रेष्ठले मानसिक र शारीरिक सन्तुलनका लागि योगको अपरिहार्यता औंल्याइन् । उनले केन्द्रको अभियानलाई आगामी दिनमा पनि स्थानीय तहबाट आवश्यक सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरिन् ।
वार्षिकोत्सवका अवसरमा केन्द्रले सूर्योदयदेखि नै सामूहिक योगाभ्यास, सूर्य नमस्कार, प्राणायाम र ध्यान शिविर सञ्चालन गरेको थियो । प्रख्यात योग गुरुहरूले आध्यात्मिक प्रवचन दिनुका साथै साधकहरूसँग अन्तरक्रिया गरेका थिए । कार्यक्रममा बालबालिका तथा युवाहरूका लागि विशेष योग कार्यशाला र स्थानीय कलाकारद्वारा योगमा आधारित सांस्कृतिक प्रस्तुतिसमेत देखाइएको थियो ।
केन्द्रका अध्यक्ष शिवराज बजगाईंले योग साधनाले समाजमा सकारात्मक परिवर्तन र सन्तुलित जीवनशैलीको मार्ग प्रशस्त गरेको उल्लेख गरे । केन्द्रका सल्लाहकार गोकर्ण पाठक र प्रमुख गुरुले योगलाई आत्मशुद्धि र राष्ट्रका लागि सकारात्मक ऊर्जा प्रवाह गर्ने माध्यमका रूपमा व्याख्या गरेका थिए ।
यस केन्द्रमा प्रमुख गुरुहरु शिवराज बजगाईँ, सुस्मा गिरि र नरेन्द्र कमल न्यौपाने तथा सहायक गुरु संगीता गौचन खनाल र सरिता भण्डारि रहेका छन् ।







