काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको सुन तस्करीमा संलग्न रहेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ। अख्तियारको टोली मुद्दाको मिसिलसहित बिहीबार विशेष अदालत पुगेको छ।
‘कृष्णबहादुर महरासहित भएको मुद्दा अहिले दर्ताको प्रक्रियामा छु, विशेष अदालत स्रोतले भन्यो, ‘अहिले फाइल र त्यसमा संलग्न विवरणहरू रुजु गर्ने काम भइरहेको छ।’
नेपाली कम्युनिष्ट पार्टीका नेता समेत रहेका महरामाथि चिनियाँ तस्कर समूहसँग मिलेर भेपमार्फत भएको सुन तस्करीमा ‘सेटिङ’ र सहयोग गरेको आरोप छ ।
नेता महरा राजनीतिक र कूटनीतिक पहुँचको दुरुपयोग गरी सुन तस्करीमा सघाएको भन्दै महरा पछिल्लो समय निकै विवादमा तानिएका थिए। यसअघि पनि संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा उनीविरुद्ध मुद्दा चलेको थियो, जसमा उनले अदालतबाट सफाइ पाएका थिए।






