गण्डकी । कास्की जिल्ला एथलेटिक्स सङ्घको आयोजनामा शनिबारदेखि दोस्रो संस्करणको ‘पोखरा ओपन एथलेटिक्स मिट–२०२६’ सञ्चालन हुने भएको छ । पोखरा रङ्गशालामा हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको सङ्घद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा देशभरबाट करिब तीन सय खेलाडी सहभागी हुने सङ्घका सचिव एवं प्रतियोगिता संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । प्रतियोगितामा सातै प्रदेशका खेलाडीसहित विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका खेलाडी सहभागी हुने छन् ।
‘पोखरा ओपन एथलेटिक्स मिट’ तर्फ पुरुष र महिला गरी जम्मा ३० विधामा प्रतिस्पर्धा हुने बताइएको छ । सोही अवसरमा नेपाल एथलेटिक्स सङ्घको आयोजना र कास्की जिल्ला एथलेटिक्स सङ्घको समन्वयमा चौथो संस्करणको ‘यू–२० नेशनल एथलेटिक्स मिट–२०२६’ सञ्चालन गरिने भएको छ । सो प्रतियोगितामा पुरुष र महिला गरी २४ विधामा प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगितामा सातै प्रदेशबाट १० पुरुष र १० महिला गरी एक सय ४० खेलाडी तथा १४ प्रशिक्षक÷व्यवस्थापकसहित एक सय ५४ जनाको सहभागिता रहने जनाइएको छ ।
‘पोखरा ओपन एथलेटिक्स मिट–२०२६’ तथा ‘यू–२० नेशनल एथलेटिक्स मिट–२०२६’ तर्फ प्रत्येक विधामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीलाई मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ । सङ्घका अध्यक्ष गजबहादुर गुरुङले ‘पोखरा ओपन एथलेटिक्स मिट–२०२६’ का लागि रु १६ लाख र ‘यू–२० नेशनल एथलेटिक्स मिट–२०२६’ का लागि रु २२ लाख खर्च हुने अनुमान गरिएको बताए ।






