दुर्गम संखुवासभाको सिलीचोङलाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं । दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको संखुवासभाको सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावर कम्पनीले एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

काठमाडौंको धोबीघाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरेले गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङलाई एम्बुलेन्सको चापी तथा आवश्यक कागजात हस्तान्तरण गरे ।

एम्बुलेन्स हस्तान्तरण गर्दै अध्यक्ष घिमिरेले दुर्गम क्षेत्रमा बिरामीले अस्पताल पुग्न नपाएर ज्यान गुमाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरिएको बताए । ‘जीवनभन्दा ठूलो केही छैन, उपचार नपाएर कसैले ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।

गाउँपालिका अध्यक्ष मेवाहाङले एम्बुलेन्सले स्थानीय बासिन्दाको स्वास्थ्य सेवा पहुँचमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले आपत्कालीन अवस्थामा छिटो र सुरक्षित रूपमा बिरामीलाई अस्पताल पुर्‍याउन अब सहज हुने बताए ।

भौगोलिक रूपमा विकट र सडक सञ्जाल सीमित रहेको सिलीचोङ गाउँपालिकामा बिरामीलाई समयमै स्वास्थ्य संस्था पुर्‍याउन कठिनाइ हुने गरेको छ । यस्तो अवस्थामा एम्बुलेन्स हस्तान्तरणलाई स्थानीयले महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएका छन् ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष गणेश कुलुङ राई, वडा नम्बर २ का अध्यक्ष मोहन सम्सेर राई, वडा नम्बर ३ का अध्यक्ष प्रताप सिंह तामाङ, वडा नम्बर ४ का अध्यक्ष देवेन्द्र राई र वडा नम्बर ५ का अध्यक्ष ईश्वर राईको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

धमिलो मुुहानबाट सफा पानीको अपेक्षा