इलाम । सङ्घर्षपूर्ण जित सहित डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) काठमाडौँ तेस्रो इलाम गोल्ड कपको फाइनलमा पुगेको छ । रोलिङ क्लब धुलाबारीलाई टाइब्रेकरमा पराजित गर्दै फाइनल यत्रा तय गरेको हो । निर्धारित समय १–१ गोलको बराबरी बनेपछि खेलको नतिजा टाइब्रेकरमा पुगेको थियो ।
खेलभर दबाबमा रहेको डिफेन्डिङ च्याम्पियन न्युरोड टिमले नतिजा आफ्नो पक्षमा पार्न टाइब्रेकर कुर्नु प¥यो । टाइब्रेकरमा न्युरोड काठमाण्डौका आशिष गुरुङ, सोनाम लिम्बु, आदित्य शाक्य र शिशिर लेखीले गोल गरे भने विज्ञान खड्काको प्रहार बाहिरियो । रोलिङ धुलावारिका पूजन थापा, निग्मा घिसिङ र प्रतापसिंह राईले गोल गरे भने फागुराम चौधरीको प्रहार बाहिरिँदा रामबहादुर शाहको किक न्युरोडका गोलरक्षक विशाल सुनुवारले बचाए ।
खेलको सुरुआतदेखि नै दुवै टोली निकै आक्रामक बने । १२औँ मिनेटमा एनआरटीका शिशिर लेखीको पासमा आदित्य शाक्यले गरेको हेडरले सहिदिशा लिएन । १७औँ मिनेटमा रोलिङका निकेश श्रेष्ठले पाएको अवसर गुम्यो भने २२औँ मिनेटमा कर्नरबाट बनेको अवसर न्युरोडका योगेश गुरुङले क्लियर गरे । २६औँ मिनेटमा शिशिर लेखीको प्रहार निग्मा घिसिङले बाहिर पठाएपछि पाएको कर्नरमा रोशन छत्यालको हेडर ड्रप हुँदै दर्शक दीर्घामा पुग्यो ।
२८औँ मिनेटमा रोलिङका प्रतापसिंह राईको प्रहार प्रभावकारी बन्न सकेन भने ३०औँ मिनेटमा फागुराम चौधरीको प्रहार न्युरोडका गोलरक्षक विशाल सुनुवारले रोके । त्यसको लगत्तै किपर विट भएको अवस्थामा फागुराम चौधरीको अर्को प्रहारले दिशा लिन नसक्दा ४१औँ मिनेटमा विवेकको फ्रिकिकमा लक्षु मगरको हेडर रोलिङका गोलरक्षक योगेश धिमालले नियन्त्रणमा लिए । मध्यान्तरअघिको अतिरिक्त समयमा विज्ञान खड्काले गोल गर्दै न्युरोडलाई अग्रता दिलाए । त्यसपछि तुरुन्तै अर्को अवसर पाए पनि रोलिङका गोलरक्षक योगेशले उत्कृष्ट बचाउ गरे ।
मध्यान्तरपछि रोलिङ निकै आक्रामक बन्यो । मध्यान्तर पछि एक पक्षीय दबाबमा राखेको रोलिङले खेलको सुरुमै फागुरामको प्रहार विशालले रोके भने डिबक्स छेउबाट आएको बललाई फस्ट बार नजिकैबाट गरेको उनको प्रयास गोल रक्षक विशालले उत्कृष्ट बचाउ गरे । ५१औँ मिनेटमा फागुरामको क्रसमा प्रतापसिंहले बराबरी गर्ने अवसर गुमाए ।
५६औँ मिनेटमा पूजन थापाको प्रहार गोल रक्षक विशालले जोगाएपछि खेल दबाबमा राखेर पनि बराबरी गर्न सकेन । ६४औँ मिनेटमा वान–भर्सेस–वानको अवस्थामा रोलिङका लागि गोल रक्षक विशाल बाधक बने । ६८औँ मिनेटमा फागुरामको फ्रिकिक प्रहार कर्नरमा परिणत हुँदा ७०औँ मिनेटमा शिशिर लेखीले अग्रता दोब्बर बनाउने अवसर चुकाए ।
७४औँ मिनेटमा डिबक्स भित्रको घम्साघम्सीमा फागुरामको प्रहार रिबाउन्ड भएपछि प्रतापसिंहको शक्तिशाली प्रहार न्युरोडका डिफेन्डर विवेकले रोकिदिए । लगातार आक्रमण गरिरहेको रोलिङले ८१औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा बनायो । उक्त गोल फागुराम चौधरीले गरे । ८५औँ मिनेटमा प्रतापसिंहले अग्रता दिलाउने अवसर गुमाउँदा ।
अन्तिम समयमा फागुजंगको उत्कृष्ट पासलाई गोलमा परिणत गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । खेलको ‘म्यान अफ द म्याच’ एनआरटीका गोलरक्षक विशाल सुनुवार घोषित भए । शनिवार हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन न्युरोडले मच्छिन्द्र फुटबल क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । विजेताले १० लाख रुपैयाँसहित उपाधि जित्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
सम्बन्धित समाचार
अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक
प्रधानमन्त्री कपः आजको खेलमा गण्डकी प्रदेश विजयी
महिला क्रिकेट टोली रुवान्डातर्फ प्रस्थान
इटालीविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै
रोलिङसँग फिदिम ३–० ले स्तब्ध
डिफेन्डिङ च्याम्पियन एनआरटीको संघर्षपूर्ण जित
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
ओमानद्वारा नेपाल ‘ए’सामु २८१ रनको लक्ष्य






