सप्तरी । कोरोना संक्रमितलाई राख्न आइसोलेशन कक्षको अभाव भएपछि यहाँस्थित नेपाली सेनाको भिम दल गणले लगातार ६ दिनको श्रमदान पछि एक सय शैयाको आइसोलेशन कक्ष निर्माण गरेको छ । जिर्ण अवस्थामा रहेको तथा लामो समयदेखी बन्द रहेको राजविराज २ स्थित साई कृष्णा अस्पतालमा गणका ४० जनाको प्राविधिक टोलीले ५ दिनसम्म लगातार घाम पानी नभनि श्रमदान गरेर एक सय शैयाको आइसोलेशन कक्ष निर्माण गरेको हो ।
मंगलबार श्रमदानस्थलमा भेटिएका गणका गणपति प्रमुख सेनानी गुप्त बहादुर कुँवरले उक्त अस्पतालमा थप २ सय शैयाको आइसोलेशन कक्ष निर्माण गर्ने योजनासहित गृहकार्य थालिएको जानकारी दिए । प्रदेश २ सरकारको २५ लाख रुपैयाँको सहयोग तथा सेनाको श्रमदानबाट निर्माण गरिएको उक्त आइसोलेशन कक्षमा जिल्लाका सबै ५५ जना संक्रमितहरुलाई उपचारार्थ भर्ना गरिएको उनले जानकारी दिए ।

यसअघि आइसोलेशन कक्षको अभावका कारण संक्रमित पुष्टि भएर पनि क्वारेन्टाइनमै बस्न बाध्य ३१ र गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेशनमा रहेका २४ जना गरी सबै ५५ जनालाई मंगलबारसम्ममा सोही आइसोलेशनमा ल्याइसकेको उनले बताए । गणबाट खटिएको प्राविधिकसहितको ४० जनाको टोलीले भवनमा आवश्यक छाना, फाइबर, प्लाई, विद्युतीकरण, धारा, स्वास्थ्य उपकरण जडान, बेड व्यवस्थापन र घेरबार लगायतका निर्माण कार्य सम्पन्न गरेको छ ।







