काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औं वार्षिक साधारणसभा तथा निर्वाचनको आधिकारिक नतिजा सार्वजनिक भएसँगै निजी क्षेत्रको नेतृत्व अब अञ्जनकुमार श्रेष्ठको काँधमा आएको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार श्रेष्ठ महासंघको २१औं अध्यक्षका रूपमा स्थापित भएका हुन् ।
अध्यक्ष पदमा निर्वाचन नभए पनि अन्य पदाधिकारी र कार्यकारिणी सदस्यका लागि प्रतिस्पर्धात्मक चुनाव भएको थियो । नतिजाले नयाँ कार्यसमितिमा श्रेष्ठनिकट समूहको प्रभाव उल्लेख्य देखिएको छ ।
श्रेष्ठको महासंघ यात्रा करिब २४ वर्षअघि सुरु भएको हो । उनले २०५९ सालमा कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेपछि विभिन्न समितिमा रहेर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
उनले राजस्व समिति उपसभापति, उद्योग समिति सभापति र रोजगारदाता परिषद सदस्यजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । महासंघको ५७औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि उनी स्वतः अध्यक्ष बन्ने लाइनमा पुगेका थिए ।
व्यावसायिक रूपमा श्रेष्ठ लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन् । अटोमोबाइल, उत्पादन, सेवा र पर्यटन क्षेत्रसम्म फैलिएको लगानी अनुभवका कारण उनी बहुआयामिक व्यवसायिक पृष्ठभूमि भएका नेतृत्वका रूपमा चिनिन्छन् ।
महासंघ विधानको दफा २९ (३) अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानका आधारमा श्रेष्ठ नेतृत्वमा आएका हुन् । यद्यपि, हालै संशोधन गरिएको विधानअनुसार अब आगामी कार्यकालदेखि भने अध्यक्षसहित सबै पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था लागू हुने भएको छ ।
यसअघि भवानी राणा, शेखर गोल्छा र चन्द्रप्रसाद ढकाल पनि सोही व्यवस्थाबाट अध्यक्ष बनेका थिए । श्रेष्ठ यसरी स्वतः अध्यक्ष बन्ने चौथो व्यक्ति हुन् ।
नयाँ कार्यसमितिको संरचनाले श्रेष्ठको समूह बलियो रहेको देखिएको छ । एसोसिएटतर्फ उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी भए । उनका प्रतिस्पर्धी ज्योत्स्ना श्रेष्ठ पराजित भइन् । यस समूहमा निर्वाचित १७ सदस्यमध्ये अधिकांश श्रेष्ठ समर्थित प्यानलबाट आएका छन् ।
जिल्ला–नगरतर्फ उपाध्यक्षमा कृष्णप्रसाद शर्मा विजयी भए, जो श्रेष्ठ समूहका उम्मेदवार मानिन्छन् । यद्यपि, वस्तुगत उपाध्यक्षमा भने श्रेष्ठ समूहका शिवप्रसाद घिमिरे पराजित हुँदा नरेशलाल श्रेष्ठ ६३ मतसहित विजयी भएका थिए ।
कार्यकारिणी सदस्यतर्फ पनि जिल्ला–नगर र एसोसिएट समूहमा श्रेष्ठ समर्थित उम्मेदवारले बहुमत हासिल गरेका छन् । एसोसिएट सदस्यतर्फ सचिन ढकाल १ हजार ३ सय १८ मतसहित सर्वाधिक मत ल्याउँदै ‘म्यान अफ द इलेक्सन’ बनेका थिए ।
अध्यक्ष पदभार सम्हाल्दै श्रेष्ठले निजी क्षेत्रको मनोबल उकास्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने र सरकारसँग सहकार्य सुदृढ गर्ने प्राथमिकता बताएका छन् ।
उनले भने, ‘देशको आर्थिक उन्नयनका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्य अपरिहार्य छ । उद्यमी–व्यवसायीको हित संरक्षण र लगानी सुरक्षामा महासंघ केन्द्रित हुनेछ ।’
हालको आर्थिक अवस्थालाई चुनौती र अवसर दुवैका रूपमा चित्रण गर्दै उनले नीति स्थिरता, लगानी विस्तार र आर्थिक गतिविधि तीव्र बनाउने आवश्यकता औंल्याएका छन् । करिब पाँच लाख उद्यमी–व्यवसायी आबद्ध महासंघ देशको सबैभन्दा ठूलो निजी क्षेत्रको छाता संगठन हो ।
सम्बन्धित समाचार
डोल्मा फन्डको दबाबमा पुनः व्युँताइँदै दोहोरो कर
वाणिज्य बैंकका नाफामा उल्लेख्य वृद्धि, कुन बैंकको कति ?
विकास बैंकको नाफामा उल्लेख्य सुधार, मुक्तिनाथ अग्रस्थानमा
पत्रकारका लगानीमा निवर्तमान गृहमन्त्री गुरुङको प्रश्न
नेप्से परिसूचक १७ अङ्कले घट्यो
सुकुमबासी बस्तीबाट सुकुमबासी नेता पक्राउ
सहकारीपीडितको रकम फिर्ता गर्न चक्रीय कोष
सशस्त्र प्रहरीको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त






