मेयर हमालले सेवा सुविधाबापतको ४४ लाख सामाजिक क्षेत्रमा खर्च गर्ने

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर (नगर प्रमुख) गोपाल हमालले सरकारी सेवा सुविधाबाट प्राप्त रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले पाँच आर्थिक वर्षमा प्राप्त सेवा सुविधासहित व्यक्तिगत रकम थप गरी कुल ४४ लाख रुपैयाँ सामाजिक काममा खर्च गर्ने बताएका हुन् ।

५ वर्षमा ११ हजार विद्यार्थी लाभान्वित

नगर प्रमुख हमालका अनुसार पाँच आर्थिक वर्षमा उनले सेवा सुविधाबापत ३८ लाख ८२ हजार ८ सय ७३ रुपैयाँ प्राप्त गरेका छन् । त्यसमध्ये ५ लाख १७ हजार १ सय २६ रुपैयाँ व्यक्तिगत रूपमा थप गरी सामाजिक क्षेत्रमा लगानी गर्ने घोषणा गरेका हुन् ।

नगर प्रमुख हमालले सार्वजनिक शिक्षा सुधार, विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीको शिक्षामा पहुँच विस्तार, गौ संरक्षण तथा विभिन्न सामाजिक संस्थालाई सहयोग गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा उनले सेवा सुविधाबाट प्राप्त १ लाख ३७ हजार २ सय ७३ रुपैयाँमध्ये गौ संरक्षणका लागि ५५ हजार ६ सय ८७ रुपैयाँ तथा दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालयलाई ८१ हजार ५ सय ८६ रुपैयाँ सहयोग गरेका थिए ।

यस्तै, आर्थिक वर्ष २०७९/८० मा प्राप्त ९ लाख ३६ हजार ४ सय रुपैयाँ दृष्टि फाउन्डेशन, मानव सेवा आश्रम, आमाको माया छात्रावास, अपाङ्ग संघ, दक्षिणकाली बहिरा विद्यालय तथा पञ्चोदय माध्यमिक विद्यालयलाई वितरण गरिएको उनले बताए । सोही वर्ष उनले २ लाख ६७ हजार ८ सय रुपैयाँ बराबरको लुगासमेत सहयोग गरेका थिए ।

नगर प्रमुख हमालले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा ९ लाख ९२ हजार ६ सय ५ रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको थियो । उनले सो वर्ष सरकारी सेवा सुविधाबाट प्राप्त रकममार्फत सामुदायिक विद्यालयका ३ हजार ४ सय ८९ विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको बताए ।

उनले ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्राथमिकतामा राखेर सहयोग गर्दै आएको उल्लेख गर्दै भने, ‘रोजगारीको सुविधा नभएका क्षेत्रका विद्यालयका विद्यार्थीलाई सहयोग गर्दै आएको छु । शिक्षकहरूको सुझावका आधारमा यो अभियान चलाइएको हो । बुवाको पाइन्टमा डोरी बाँधेर विद्यालय आउने विद्यार्थी देखेपछि यो काम सुरु गरेको हुँ ।’

आर्थिक वर्ष २०८१/८२ मा प्राप्त ९ लाख ३६ हजार ४ सय रुपैयाँ सेवा सुविधासहित १ लाख रुपैयाँ व्यक्तिगत रकम थप गरेर उनले १० लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेका छन् । उक्त रकमबाट ४७ सामुदायिक विद्यालयका ७ हजार ४ सय ७५ विद्यार्थी लाभान्वित भएको उनले जानकारी दिए ।

नगर प्रमुख हमालका अनुसार चालु आर्थिक वर्षसम्म उनले सेवा सुविधाबापत कुल ३८ लाख ८२ हजार ८ सय ६३ रुपैयाँ प्राप्त गर्नेछन् । हालसम्म २३ लाख ९० हजार ८ सय ८७ रुपैयाँ सामाजिक क्षेत्रमा खर्च भइसकेको र १४ लाख ८५ हजार १ सय ९५ रुपैयाँ बाँकी रहेको उनले बताए । बाँकी रकमसमेत चालु शैक्षिक सत्रभित्र शैक्षिक सामग्री वितरणमा खर्च गरिने उनले जानकारी दिए ।

नगर प्रमुख पदका लागि निर्वाचन लड्दा उनले सरकारी सेवा सुविधा र सवारी साधन नलिने घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

मेयर हमालले सेवा सुविधाबापतको ४४ लाख सामाजिक क्षेत्रमा खर्च गर्ने